बाढीका कारण १ को मृत्यु, सयौं घरपरिवार विस्थापित



विराटनगर- भद्रपुर। 

लगातारको वर्षाका कारण आएको बाढीले बगाउँदा मोरङमा एक जनाको मृत्यु भएको छ भने देशका विभिन्न भागमा सयौं घरपरिवार डुबानमा परेका छन् ।

मोरङको सुन्दरहरैँचा वडा नम्बर ६ मा गछिया खोलाले बगाउँदा सोही ठाउँका ५८ वर्षीय रामबहादुर बिकको मृत्यु भएको छ । खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा उनलाई फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस्तै, विराटनगर महानगरको वडा नम्बर १, २, ४, ६, ७, ८, ११, १२, १६ र १९ का सयौं घरपरिवार डुबानमा परेका छन् ।

विराटनगरको सिंघिया र केशलिया नदीमा आएको बाढी गाउँ पसेपछि यहाँका करिब १५ सय घरपरिवार डुबानमा परेका हुन् । मोरङका खोला आसपासमा रहेका पालिकाहरू बाढीको उच्च जोखिममा छन् । मोरङको विराटनगरसहित सुनवर्षी नगरपालिका, केराबारी गाउँपालिका, बेलबारी नगरपालिका, कटहरी गाउँपालिका, ग्रामथान र बुढीगंगा गाउँपालिकाका विभिन्न बस्ती बाढीले डुबानमा पारेको छ । बाढी जोखिममा परेका पालिकाहरूले उद्धार र राहतको कार्यलाई तीव्र बनाएका छन् भने प्रहरीहरू उद्धार कार्यमा खटिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख शान्तिराज कोइरालाले नेपाल समाचारपत्रलाई विराटनगरका केही भागमा बाढी पसेको जानकारी दिनुभएको छ । घरमै पानी पसेपछि स्थानीय सुरक्षित स्थानतर्फ सरेका छन् । उता, लगातारको वर्षाका कारण सुनसरीको इटहरी उपमहानगरपालिका जलमग्न भएको छ । स्थानीय टेंग्रा खोलाको बाढी बस्तीतर्फ पसेको छ । खेती खोला, बूढी खोला र सुकुमारी खोलामा पानीको बहाव बढेको छ । इटहरी उपमहानगरपालिका वडा नम्बर–२, ३, ४, ५, ९,२० लगायतका भागमा बाढी पसेर घरहरू डुबानमा परेका छन् ।

इटहरी उपमहानगरका प्रमुख हेमकर्ण पौडेलले पानीको बहाव सहज गराउन डोजर लगाएर अवरोध हटाउने काम शुरू गरिएको बताउनुभयो । खनारका धेरै बस्ती डुबानमा परेका छन् । टेंग्र्रा खोलामा आएको बाढीले इटहरी–विराटनगर जाने राजमार्ग अबरुद्ध बनेको छ । बाढीका कारण ४० घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।

टेंग्र्रा खोलाको बाढी बस्तीमा पसेपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरी खोला नियन्त्रणको काम थालिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले बताउनुभयो । बाढीका कारण यातायातका साधन सञ्चालनमा समस्या परेको छ ।उता, अविरल वर्षात्का कारण झापाका विभिन्न स्थानका २ सय ८९ परिवार विस्थापित भएका छन् । उत्तरदक्षिण भएर बग्ने कन्काई, रतुवा, अदुवाखोला, बनियानी र खोल्सा तथा कुलोमा आएको बाढीका कारण बस्ती डुबानमा पर्दा सो क्षेत्रमा बसोबास गर्नेहरू विस्थापित भएका हुन् । नेपाल रेडक्रस सोसाइटी झापाका अनुसार बाढीका कारण २ सय ८९ परिवारका ७ सय ७२ जना विस्थापित भएका छन् ।

वर्षात्का कारण स्थानीय खोल्सा र कुलोमा आएको बाढीबाट झापाको भद्रपुर नगरपालिका वडा नं. ८ को सुकुम्बासी बस्तीका २६ परिवार विस्थापित भएका छन् । विस्थापित परिवारलाई नजिकैको उच्च स्थानमा स्थानान्तरण गरिएको छ । त्यस्तै, शिवसताक्षी–४ स्थित सुकुम्बासी बस्तीका विस्थापित ३३ परिवारका एक सय १८ जनालाई उद्दार गरी स्थानीय त्रिभुवन माध्यामिक विद्यालयमा राखिएको छ ।

त्यस्तै कन्काई नदीकै बाढी बस्तीमा पस्दा विस्थापित बन्न पुगेका गौरीगञ्ज–१ टुनु बस्तीका १२ परिवारलाई रामजानकी प्राथमिक विद्यालयमा राखिएको छ ।त्यस्तै, रतुवा खोलामा आएको बाढीका कारण विस्थापित भएका गौरादह नगरपालिका वडा नं.–६ मा पर्ने लेलिया बस्तीका १ सय २५ परिवारलाई उच्च स्थानमा सारिएको छ । बनियानी खोला र कन्काई नदीमा आएको बाढीका कारण विस्थापित भएका गौरगञ्ज गाउँपालिका वडा नं. १ का महाभारा, बालुवाडी, देवीगडा, टप्पुबस्तीका ३३ परिवार अहिले छिमेकीको शरणमा बसेको नेपाल रेडक्रस सोसाइटी झापाले जनाएको छ ।

यता बाह्रदशी २ स्थित सुकुम्बासीबस्तीका विस्थापित ६० परिवारलाई दक्षिणेश्वर मन्दिरमा सारिएको छ । अदुवा खोलामा आएको बाढीका कारण बाह्रदशी–२ का ६० परिवारका ३ सय १० जना विस्थापित भएको बाढीको तथ्याङ्कक संकलन गरिरहेका नेपाल रेडक्रस सोसाइटी झापाका हरिशरण खड्काले जानकारी दिनुभयो ।रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बाढीबाट विस्थापित भएका भद्रपुर ८ का सुकुम्बासीलाई नेपाल रेडक्रस सोसाइटी झापा शाखाले राहतस्वरूप १२ थान त्रिपाल उपलब्ध गराएको छ ।

बुटवल जलमग्न, उद्योगमा करोडौंको क्षति

यमलाल भुसाल, बुटवल ।

मंगलबार बिहान परेको केही घण्टाको अविरल वर्षाले रूपन्देहीका उद्योगहरूमा बाढी पस्दा करोडौंको क्षति भएको छ । यस्तै, रूपन्देहीको मुख्य केन्द्र बुटवल र यस आसपासका क्षेत्रमा पानीको निकास नहुँदा सडकमै पोखरी बनेको छ ।

पानीको व्यवस्थित निकास नहुनु, सार्वजनिक सिँचाइका कुलाहरू मासिनु, ढल तथा नाली निर्माण नगर्दा यस्तो समस्या देखिएको हो ।
बुटवलस्थित भूकम्प प्रतिरोधी घर निर्माण गर्ने सामान तथा माइक्रो हाइड्रोसम्बन्धी उपकरण बनाउने साहारा इन्जिनियरिङ प्राइभेट लिमिटेडका सञ्चालक सन्तोष कुँवरले उद्योग डुबानमा पर्दा ठुलाठुला मेसिनका मोटर जलेर नस्ट भएकोे उद्योगमा ठूलो क्षति पुगेको बताउनुभयो ।

साहारा इन्जिनियरिङसँगै रहेको रामजानकी मेसिनरी उद्योग परिसर पनि पानी भरिएर तलाउ बनेको छ । जसले गर्दा त्यहाँ रहेका मोटर, मेसिन, ट्याक्टर, पम्पेसेटको हेडलगायतका सामान पानीले डुबाउँदा ५० लाख रुपियाँभन्दा बढीको क्षति भएको संचालक सरोज पन्तले बताउनुभयो । मालिका लउन्ड्रीमा पनि असर गरेको सञ्चालक विष्णु प्रसाद भट्टराई बताउनुभयो ।
वर्षाका कारण बुटवलको सडक जलमग्न भएको छ ।

मुख्य सडक क्षेत्रमा बाढी पसेको छ । सडक जलमग्न र हिलाम्य भएपछि पैदलयात्रीलाई समस्या भएको छ भने सवारी आवागमनमा समेत समस्या भएको छ । बुटवलको मुख्य सडकदेखि भित्री सडकहरू जताततै पानी जमेको छ । लामो समयदेखि चर्चाको विषय बनेको राजमार्ग चौराहा–गोलपार्क ६ लेन सडक विस्तारको काम समयमै नहुँदा यस्तो समस्या आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्