बाँके र बर्दियामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढ्दै



बाँके ।

गत जेठ २३ गते बर्दियाको मधुवन नगरपालिका–२ छोट्की सोनाहा गाउँकी ४१ वर्षीया अस्मिता थारूलाई चितुवाले आक्रमण गरी घाइते बनाएपछि आक्रोशित स्थानीयले ओराली बजारमा सडक बन्द गर्दै सुरक्षाको माग गरे ।

सो आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका–२ बस्ने १८ वर्षीया नवीना थारूको मुत्यु भयो भने मधुवन नगरपालिकाकै २२ वर्षीय राकेशकुमार चौधरी घाइते भएका छन् ।

त्यसको केही दिनअघि सोही क्षेत्रमा पाटेबाघको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदाय सडक आन्दोलनमा उत्रिने क्रममा गोली चल्दा अनाहकमा सर्वसाधारणको ज्यान गएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले बताउनुभयो ।
पछिल्ला वर्षमा पश्चिम तराईको बाँके र बर्दिया जिल्लामा मानव–वन्यजन्तुबीच द्वन्द्व बढेको छ । गत पाँच वर्षमा बाघको आक्रमणबाट बर्दियामा २३ र बाँकेमा छ गरी २९ जनाको मृत्यु भएको छ ।

दुवै निकुञ्जमा बाघको संख्या वृद्धि भएसँगै बाघ आक्रमणका घटना पनि बढ्दै जाँदा मृत्यु हुने क्रम पनि बढेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार, पछिल्लो समय बाघको संख्या बढ्दै जानु, वन अतिक्रमण बढ्नु र भौतिक पूर्वाधारको विकासले बाघको वासस्थान खण्डित हुँदै गएकाले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएको छ ।

बर्दियामा चालु आर्थिक वर्ष २०७८-०७९ मा पाँच जना, २०७७-०७८ मा सबैभन्दा बढी १२ जना र २०७६÷०७७ मा ६ जना गरेर २३ जनाको ज्यान गएको छ । उहाँले मानव र वन्यजन्तुबीचको द्वन्द्व घटाएर दुवैको सहअस्तित्व कायम गर्नका लागि निकुञ्जले नेपालमै पहिलोपटक पाँच वर्षीय रणनीतिक योजना बनाएर काम सुरु गरिसकेको बताउनुभयो ।

बर्दियाको मधुवन नगरपालिका क्षेत्रका स्थानीयले खाता क्षेत्रका बाघ स्थानान्तरण गरिनुपर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने माग गर्दै आएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष गुरुङको भनाइ छ ।
पछिल्ला केही वर्षदेखि बाघ र मानव द्वन्द्व बढ्दै जाँदा बर्दियाबाट मानव आक्रमणमा संलग्न ६ वटा र बाँकेबाट एउटा बाघलाई नियन्त्रणमा लिएर अन्यत्र सारिएको छ ।

बाँकेमा गत पाँच वर्षमा बाघको आक्रमणबाट छ जनाको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी कुननारायण चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार, चालु आवमा बाघको आक्रमण सबैभन्दा बढी भएको छ । वन्यजन्तुबाट हुने क्षतिलाई कम गर्न निकुञ्जले विभिन्न गतिविधि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्