पत्नीशोकमा रहेका बिजुक्छेलाई विभिन्न दलका नेताद्वारा समवेदना प्रकट



भक्तपुर ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई फोन गरेर समवेदना व्यक्त गर्नुभएको छ ।

पत्नीशोकमा रहनुभएका बिजुक्छेलाई प्रधानमन्त्री देउवाले फोन गरी समवेदना प्रकट गर्नुभएको नेपाली कांग्रेसले जनाएको छ ।प्रधानमन्त्री देउवाले बिजुक्छे पत्नी शोभा प्रधानप्रति भावपूर्ण श्रद्धाञ्जलि तथा बिजुक्छे र उहाँको परिवारजनमा समवेदना व्यक्त गर्नुभएको हो ।

बिजुक्छेलाई उहाँको निवास भक्तपुर नगरपालिकास्थित कमलविनायक पुगी नेकपा समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, भूमि व्यवस्था तथा सहकारीमन्त्री शशी श्रेष्ठ, नेकपा एमालेका नेता तथा पूर्वमन्त्री विष्णु पौडेल, नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधान, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले पनि बिजुक्छे निवास पुगेर समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी, पूर्वसभामुख दमननाथ ढुंगाना, वरिष्ठ पत्रकार युवराज घिमिरे, साहित्यकार नरेन्द्रराज प्रसाई ,इन्दिरा प्रसाईं, डा .शम्भु पहाडीलगायतले पनि बिजुक्छे पत्नी शोभाप्रति श्रद्धाञ्जलि र उहाँको योगदानको स्मरण गर्दै बिजुक्छेलगायत उहाँको परिवारजनमा समवेदना प्रकट गर्नुभएको नेमकिपा नेता तथा प्रदेश सांसद सुरेन्द्रराज गोसाईंले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्