फोहोर वर्गीकरण नगरे साउन १ देखि ५ सय जरिवाना



काठमाडौं ।  

काठमाडौंबासीले आगामी साउन १ गतेदेखि फोहोर वर्गीकरण नगरी फोहोर विसर्जन गरे ५ सय रुपियाँसम्म जरिवाना तिर्नुपर्ने भएको छ ।काठमाडौं महानगरपालिकाले घरमा उत्पादन भएको फोहोर भान्साबाटै छुट्याउन महानगरबासीलाई आग्रह गर्दै त्यसो नगरे कडाइका साथ कारबाही गर्ने चेतावनी दिएको छ ।

कामपाले साउनदेखि नियमित अनुगमन गर्ने जानकारी दिँदै कामपा वातावरण विभाग प्रमुख सरिता राईले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘हामीले घरबाट निस्कने फोहोर सवारी साधनमा लोड गर्दादेखि नै अनुगमन गर्नेछौं । अटेर गरे ठाउँको ठाउँमा कारबाही गर्नेछौं ।’

सरकारले जारी गरेको फोहोर मैला व्यवस्थापन ऐन २०६८ र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनको व्यवस्था साउन १ गतेबाट कार्यान्वयन गराउन सबैलाई आग्रह गरेको विभागले जनाएको छ ।यसअघि पटकपटक यस्तो व्यवस्था गर्दा महानगरवासीले अटेर गर्दै आएका थिए । मेयर बालेन्द्र साहले कार्यभार सम्हाल्नासाथ यो व्यवस्थालाई कडाईका साथ पालना गर्न विभागलाई आग्रह गर्नुभएको छ । घरघरबाट फोहोरमैला उठाउनेलाई कुहिने र नकुहिने फोहोरका लागि छुट्टाछुट्टै भाडा प्रयोग गर्न आग्रह गरिएको छ ।

विभागीय प्रमुख राईले भन्नुभयो – ‘हामीले यो व्यवस्थालाई कडाईका साथ लागु गराउनेछौं । फोहोरलाई स्रोतमै छुट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ । यसअनुसार उत्पादकले भान्सामा जैविक र अजैविक फोहोरलाई छुट्टाछुट्टै भाँडामा राख्नुपर्नेछ । यसरी छुट्याइएको फोहोर महानगरले छुट्टाछुट्टै दिनमा संकलन गर्ने तयारी गरेको छ ।’

विद्यार्थीलाई फोहोरबाट मल बनाउने तालिम

काठमाडौंको न्यूरोडस्थित हिमालय माध्यमिक विद्यालयले शनिबार आफ्ना विद्यार्थीहरूलाई फोहोरलाई कुहिने र नकुहिनेमा वर्गीकरण गर्न र कुहिने फोहोरबाट मल उत्पादन गर्न तालिम दिएको छ ।

काठमाडौं महानगरपालिकाले साउनदेखि लागु गर्न लागेको फोहोर विसर्जनअघि वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई सहयोग पु-याउने उद्देश्यले न्यूरोडको दुगंबहीलस्थित विद्यालयले आफ्ना विद्यार्थीहरूलाई यस्तो तालिम दिएको हो । ‘घरको फोहोर घरमै सदुपयोग गरौं: फोहोरबाट मोहोर कमाऔं’ भन्ने नाराका साथ विद्यालयले आफ्ना विद्यार्थी तथा शिक्षकशिक्षिकालाई फोहोरबाट कम्पोस्ट मल बनाउन कम्पोस्ट बिनको प्रयोगसम्बन्धी प्रयोगात्मक तालिम दिएको थियो ।

तालिमको उद्घाटन समारोहमा बोल्दै उपमेयर सुनिता डंगालले फोहोर व्यवस्थापन कामपाको पहिलो प्राथमिकता भएको जिकिर गर्दै फोहोरलाई स्रोतमै वर्गीकरण गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागु गर्न लागिएको बताउनुभयो । उहाँले फोहोरको वर्गीकरणसम्बन्धी जनचेतना जगाउन कामपाले विद्यालय, टोल र समुदायमा जैविक र अजैविक अर्थात् कुहिने र नकुहिने फोहोर छुट्टाउने तालिम दिने कार्यक्रमको आयोजना गर्ने तयारी गरेको जानकारी पनि दिनुभयो ।

उहाँले भन्नुभयो–‘फोहोरको समस्या समाधानका लागि माथिल्लो तहबाट नभई तल्लो तह जहाँ फोहोर उत्पादन हुन्छ, त्यहाँबाट नै काम शुरू गर्नुपर्छ भन्ने अवधारणाका साथ कामपाले काम गर्दैछ । हामी छिट्टै नै वडामार्फत छुट मूल्यमा कम्पोस्ट बिन उपलब्ध गराउने तयारीमा पनि छौं ।’

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ई. दिल्लीरत्न शाक्यले फोहोरलाई काम नलाग्ने वस्तु नभई सुनसरह मूल्यवान वस्तु भएको र फोहोरबाटै मनग्य आम्दानी गर्न सकिने जिकिर गर्दै भन्नुभयो– ‘जैविक फोहोरबाट हामी मल बनाउन सक्छौं भने अजैविक मलबाट ऊर्जाका साथै ईंटाजस्तै बलियो निर्माण सामग्री उत्पादन गर्न सक्छौं, जुन सडक निर्माणमा उपयोगी हुन्छ ।’कार्यक्रममा वैकल्पिक ऊर्जा क्षेत्रमा लामो समयदेखि अनुसन्धान गर्दै आउनुभएको प्राडा जगन्नाथ श्रेष्ठले सन् २००९ मै दक्षिण कोरियाको सहयोगमा काठमाडौं विश्वविद्यालयमा ३०–३० क्युविक मिटरको तीन वटा वायोग्याँस प्लान्ट राखेर बनेपा, धुलिखेलको फोहोरको प्रयोग गरी सीएनजी ग्याँस उत्पादनको परीक्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले फोहोरबाट सीएजी ग्याँस उत्पादन गरी सवारी साधन चलाउने परियोजनाका लागि उक्त परीक्षण गरिएको बताउनुभयो । तर, त्यतिखेर पालिकाहरूले पहिला सित्तैमा फोहोर दिने भने तापनि पछि पैसा मागेको र त्यतिखेर फोहोर किन्न पैसा नभएका कारण परियोजना अलपत्र परेको तीतो यथार्थ पनि प्राडा श्रेष्ठले सुनाउनुभयो । उहाँले अहिले पनि सिसडोल र बन्चरे डाँडामा त्यस्ता प्लान्टहरू राखेर ग्याँस उत्पादन गर्न सकिने धारणा अघि सार्नुभयो ।

कार्यक्रममा जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी जाइकाका विशेष सल्लाहकार सुशिल भट्टचनले सिसडोल र बन्चरे डाँडामा जापानले प्राविधिक सहयोग गरेको जानकारी दिँदै फोहोरबाट ऊर्जा निकाल्ने सम्बन्धमा पनि जापानको सहयोग लिन सकिने बताउनुभयो ।फोहोर व्यवस्थापन तालिमका लागि काठमाडौं सुनचाँदी व्यवसायी संघ, श्री नित्यनाथ नासः खःल र न्यूरोड गेट क्लबले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्