फाेहाेमैला समस्या जटिल बन्दै

सहमति कार्यान्वयन हुनै गाह्रो



काठमाडौं ।

सरकार र बन्चरे डाँडा स्थानीय संघर्ष समितिबीच दुई साताअघि भएको सहमति कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि दबाब दिँदै स्थानीय संघर्ष समितिका संयोजक श्रीराम ढुंगानासहितका पदाधिकारी दिनहुँजसो प्रधानमन्त्री तथा मन्त्री परिषद्का कार्यालय र शहरी विकास मन्त्रालय धाउन थालेका छन् ।

बुधबार शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यकक्षमा पुगेको तर भेट गर्न नसकिएको जानकारी दिँदै संयोजक ढुंगाननले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘हिजो मंगलबार पनि हामी मन्त्रालय पुगेका थियौं । टाउको दुखेको भन्दै मन्त्रीले भेट दिनुभएन, सहमति कार्यान्वयन गर्न आग्रह गर्दै पत्र सचिवालयमै बुझाएर हामी फर्कियौं ।’ संघर्ष समितिले मंगलबार सम्झौता कार्यान्वयन गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पनि पत्र पठाएको छ ।

अब केही दिन कुर्ने, त्यस बेलासम्म पनि मागको सुनुवाई भएन भने फेरी फोहोर रोक्नुको विकल्प नभएको जिकिर गर्दै ढुंगानाले भन्नुभयो– ‘यतिका दिनसम्म हामी कहिले प्रधानमन्त्री कार्यालय, त कहिले मन्त्रालय धायांै, तर प्रतिफल शून्य छ । फोहोर अवरोध गरेपछि नगन्य मात्रामा कार्यान्वयन हुने गरेको थियो ।’सरकारले यसअघि पनि स्थानीय समितिसँग चरणबद्ध रूपमा सम्झौता गरे पनि कार्यन्वयन हुन सकेको थिएन ।

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा जेठ २७ गते बसेको बैठकमा सरकार र संघर्ष समितिबीच विभिन्न विषयमा सम्झौता भएको थियो ।बैठकस्थलबाटै त्यस बेला काठमाडौं महानगरपालिकाको मेयर बालेन्द्र साहलाई बोलाइएको भए तापनि कामपाको तर्फबाट प्रमुख कार्यकारी अधिकृतल लोकनाथ पौडेलले उपस्थिति जनाउनुभएको थियो ।बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, कांग्रेसका प्रवक्ता डा. प्रकाशरशण महत, धादिङका सांसद भूमि त्रिपाठी, नुवाकोटका सांसद हितबहादुर तामाङ र नारायण खतिवडालगायतको उपस्थिति थियो ।

बैठकमा करिब ३ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने, गुठीको जग्गा रैकर बनाउनुपर्ने, फोहोर विसर्जन गर्न उद्योग स्थापना गर्नुपर्ने, अस्पताल निर्माण गर्नुपर्ने, स्थानीयलाई रोजगारीको व्यवस्था गर्नुपर्ने, फोहोर विसर्जन क्षेत्रलाई मानवरहित बनाउनुपर्ने लगायतका विषयमा सम्झौता भएको थियो ।त्यसैदिन बेलुकी कामपा र संघर्ष समितिबीच १८ बुँदे सम्झौता भएको थियो । सो बैठकमा विभिन्न मन्त्रालयसँग समन्वय गरी तत्काल कामअघि बढाउने सम्झौता भएको थियो । कामपासँग भएका सम्झौता पनि कार्यान्वयन हुन सकेको छैन ।

यसैबीच कामपा वातावरण व्यवस्थापन विभागले राजधानीको फोहोर व्यवस्थापनलाई द्रुतता दिएको छ । कामपाले दैनिक करिब ८ सय टन फोहोर बन्चरे ल्यान्डफिल साइटमा विसर्जन गरिरहेको छ ।टेकु ट्रान्सफर स्टेसनबाहेक अन्य सबै वडाको फोहोर विसर्जन भइसकेको विभागले जनाएको छ । विभागका इन्जिनियर सरकारदीप श्रेष्ठले अबको केही दिनमा सडक गल्लीमा थुप्रिएको फोहोर विसर्जन भइसक्ने जानकारी दिनुभयो । ट्रान्सफर स्टेसनमा रहेको करिब ३ हजार टन फोहोर केही दिनभित्र उठाउन शुरू गर्ने जानकारी दिँदै श्रेष्ठले भन्नुभयो– ‘एक दुई दिनमा बाटोको फोहोर व्यवस्थापन भएलगत्तै ट्रान्सफर स्टेसनको शुरू गर्नेछौं ।’

स्थानीयले साउनभित्र सहमति कार्यान्वयन नभए फेरि आन्दोलन गर्ने चेतावनी दिएपछि १७ स्थानीय तहलाई फेरि समस्या पर्नसक्ने आशंका उब्जिएको छ । कामपासँग भएको छुट्टै सम्झौतामा एक महिनाभित्र गाडीबाट फोहोरमैलाको फोहोर पानी (लिचेड) नबग्नेगरी फोहोर ढुवानी गर्न सवारी साधन व्यवस्था गर्ने, ३ महिनाभित्र पूर्वाधारअन्तर्गत सडक र बत्तीको व्यवस्थापन गर्ने, दुई महिना लिचेडको वैज्ञानिक व्यवस्थापन गर्ने, ३ महिनाभित्र बन्चरे डाँडा वरपरका घरटहरा क्षतिपूर्तिसम्बन्धी निर्णय गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्