बूढानीलकण्ठ, बागबजार र सानेपामा हैजाका बिरामी

सामान्य लक्षणमै अस्पताल नआउनुस् : डा. पुन



काठमाडौं ।

तुलनात्मक रूपमा कम प्रदूषित क्षेत्र मानिएको बूढानीलकण्ठ नगरपालिकामा समेत हैजाका बिरामी भेटिएपछि राजधानीबासीमा त्रास बढेको छ ।

बुधबारसम्म जम्मा पाँच व्यक्तिमा हैजा देखिएको छ । तीन दिनअघि दुई जनामा देखिएको यस रोगलाई लिएर आम व्यक्तिमा ‘अपवाद हो, अन्यत्र देखिन्न’ भन्ने मनोभाव काठमाडौंको दक्षिणी क्षेत्र सानेपामा पनि देखिएपछि सम्पूर्ण उपत्यका नै प्रभावित हुन सक्ने त्रास बढेको छ ।
काठमाडौं उपत्यकामा बुधबार थप तीन जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

काठमाडौंको टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार, दुई जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा हैजा पुष्टि भएको र अर्का एक जनाको पाटन अस्पतालले आरडीटी परीक्षण गर्दा सोही रोग देखिएको हो ।कपन र सानेपाका बासिन्दामा हैजा पुष्टि भएको महाशाखाका निर्देशक डा. चुमनलाल दासले बताउनुभयो । ‘हामीले अनुसन्धानका लागि टोली खटाइसकेका छौं, टोलीले रोगको कारण पत्ता लगाउन दूषित पानी र खानालगायतको गुणस्तरको मापन गरिरहेको छ’, उहाँले भन्नुभयो– ‘थप हैजा फैलन नदिन सचेत गराउँदै छौं ।’

यसअघि काठमाडौंको बागबजारमा बसोबास गर्ने एकै परिवारका दुई जनामा हैजाको संक्रमण पुष्टि भएको थियो । हाल उनीहरू आईसीयूमा रहेको र स्वास्थ्यमा सुधार भइरहेको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिनुभयो ।अहिले के कारणले हैजा फैलिएको यकिन भन्न नसकिने डा. पुनको भनाइ छ । तथापि, रोगको प्रकोप झन् बढ्न सक्ने भएकाले सतर्कता अपनाउन जरुरी रहेको उहाँ बताउनुहुन्छ ।

हैजा कोलेरा नामक ब्याक्टेरियाका कारण लाग्ने गर्छ । यो ब्याक्टेरिया रहेको दूषित खानेकुरा खाँदा वा पानी पिउँदा संक्रमण हुन्छ । डा. पुनका अनुसार हैजा लाग्दा चौलानी पानीजस्तो दिसा आउने, लगातार वान्ता हुने, थकाइ लाग्ने, मांसपेशी दुख्ने जस्ता लक्षण देखिन्छन् । यस्तो लक्षण देखिनासाथ वा कडा खालको हैजा देखिए तुरुन्तै अस्पताल जानुपर्ने उहाँको सल्लाह छ, ‘वान्ता हुने, सामान्य लक्षण देखिए घरमै जीवनजल पानी खाइराख्ने, झोलिलो खानेकुरा खाने गर्नुपर्छ, सामान्य लक्षणमै हतार–हतार अस्पताल नदौडिन मेरो सुझाव छ ।’

इतिहासमा महामारी

नेपालमा महामारीको इतिहास भयावह छ । महामारीबाट सुरक्षित रहन संक्रमित व्यक्तिप्रति गरिने व्यवहार अझ डरलाग्दो देखिन्छ । संक्रमितलाई बस्तीबाट अलग्गै राख्ने र घृणा गर्ने गरेको देखिन्छ । बाटाघाटामा भाँजो हालेर बाहिरका मानिसलाई गाउँ अथवा सहर छिर्न दिइँदैन थियो ।

संसारका हरेक समाज महामारीको त्रासदीबाट गुज्रिएर आएको देखिन्छ । घुमन्ते–फिरन्ते जीवनशैलीबाट मानव समाज कृषि अर्थतन्त्रतर्फ फड्किएपछि महामारी अस्तित्वमा आएको हो । कृषि अर्थतन्त्रमा सबैभन्दा पहिले अग्रसर हुने चीन, पश्चिम एसिया, युरोप आदि मुलुकमा ठूला महामारीका अधिकांश घटना घटेको पाइन्छ । कृषि अर्थतन्त्र र महामारीबीच साइनो रहेको विज्ञहरूको विश्लेषण छ ।
जनावरहरू घरपालुवा बनेपछि मानिस र जनावरबीच सम्पर्क बढ्यो । यसबाट जनावरहरूलाई लाग्ने रोग मानिसमा संक्रमण भयो । यसैले प्रकारान्तरमा महामारीको रूप लियो ।

बिफर, क्षयरोग, औंलो, प्लेग, दादुरा, हैजा, फ्लु, एचआईभी एड्सजस्ता सरुवा रोग मानिसले जनावरबाटै ग्रहण गरेका बताइन्छ । पछिल्लो समय चीनको वुहानबाट फैलिएको कोरोना भाइरस पनि चमेराबाट मानिसमा सरेको बताइन्छ । सन् १३४६–१३५२ तिर युरोपमा फैलिएको प्लेगको महामारीले त्यहाँको करिब एकचौथाइ जनसंख्या सखाप भएको थियो । केही सहरमा ७० प्रतिशतसम्म मानिस मरेका थिए । पहिलो विश्वयुद्ध अन्त्य हुँदाताका फैलिएको इन्फ्लुएन्जाबाट झन्डै २ करोड १० लाख मानिसको मृत्यु भएको थियो ।

नेपालमा हैजा र बिफरको महामारी सबैभन्दा बढ्ता फैलिएको पाइन्छ । भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ मा लुतो, गानो, पिलो, आँठे, रुघाखोकी, जुका आदिलाई पनि नेपालीका प्रमुख रोग भन्नुभएको छ । तर, महामारीको रूप लिएर खास गरी काठमाडौं उपत्यकाका बासिन्दालाई त्रसित बनाइरहने रोगचाहिँ हैजा र बिफर थिए ।नेपालको इतिहासमा महामारी सबैभन्दा धेरै काठमाडौं उपत्यकामा फैलिएको पाइन्छ । जयस्थिति मल्लको पालामा तयार भएको गोपालराज वंशावलीमा लिच्छवि राजाहरू अमृतदेव, अरिमल्लदेव, अभयमल्लदेव, जयदेव आदिको शासनकालमा काठमाडौंमा महामारी फैलिएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्