सार्वजनिक शौचालय सञ्चालन गर्न ३३ वटा संस्थासँग सम्झौता

महानगरभित्र २ सय ५० शौचालय सञ्चालनमा आउने



काठमाडौं । 

काठमाडौं महानगरपालिकासँग ३३ संस्थाले निःशुल्क सार्वजनिक शौचालय प्रयोग गर्न दिन सम्झौता भएको छ । कामपाले बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशन गृह, विजनेस कम्प्लेक्ससहित ३३ वटा संघसंस्थाका प्रतिनिधिहरूसँग हिजो मंगलबार सम्झौता गरेको हो । महानगरका प्रमुख बालेन्द्र साह,उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा सम्झौता भएको थियो ।

कामपाकोतर्फबाट सार्वजनिक निजी कार्यक्रका निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर गर्नुभएको थियो । दोस्रो पक्षकातर्फबाट प्रतिनिधिहरूले हस्ताक्षर गर्नुभएको थियो । नविल बैंकसँग यसअघि नै सम्झौता भइसकेको छ ।सम्झौता जनप्रतिनिधिको पूर्ण कार्यकालसम्मको लागि हो । यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् ।यसरी उपलब्ध गराइएका शौचालयको मर्मत सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन् ।

यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्याङ्कन गर्न दुवै पक्षबाट एक एक जना प्रतिनिधि तोक्नेछ । उनीहरूले हरेक ४ महिनामा प्रतिवेदन दिने स्म्झौतामा उल्लेख छ ।महानगर क्षेत्रभित्रका होटल, रेस्टुरेन्ट, बैङ्क, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाइमा सम्पर्क राख्न सार्वजनिक आह्वान गरेको थियो ।

प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन भने सम्पर्क गरेकामध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन ।यो स्वतःस्फूर्त कार्यक्रम हो । कसैलाई कर गरिएको छैन । सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भन्नुभयो– ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो, यसको म प्रशंसा गर्न चाहन्छु । यसमा कसैलाई दबाब छै्रन । अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ ।

त्यस क्रममा सम्झौता गर्नेहरूका तर्फबाट कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले महानगरसँगको सहकार्यमा वृक्षरोपण, हरियाली प्रवर्धन, सम्पदाको पुनरुत्थानजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने भन्दै अवसर माग गर्नुभएको थियो ।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस भनेर संकेत चिन्ह तयार पारिएको हो ।

गोलो रेखाभित्र नीलो पृष्ठभूमि त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस्