मानवताका लागि योगलाई जीवनको हिस्सा बनाउन प्रधानमन्त्रीको सुझाव



काठमाडौं । 

‘मानवताका लागि योग’ नाराका साथ मंगलबार संसारभर योग दिवस मनाइयो । नेपाललगायत विश्वका विभिन्न स्थानमा भिन्न–भिन्न कार्यक्रम गर्दै २५ करोड व्यक्ति यस दिवसमा सहभागी भएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

सन् २०१५ को जुन २१ तारिखका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेर शुरू गरेको योग दिवसले एकै ठाउँमा ३६ हजार व्यक्तिलाई योगा गराएर गिनिज बुकमा रेकर्ड पनि बनाइसकेको छ । यस दिवसलाई सन् २०१४ मा संयुक्त राष्ट्रसंघले मान्यता प्रदान गरेको हो ।

नेपालमा मंगलबार आयोजित आठौं योग दिवसको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुनुभयो । भारतीय राजदूतावासको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले योग अभ्यासले शरीर र दिमाग दुवैलाई सकारात्मक ऊर्जा दिने र योगलाई दैनिक जीवनको एक हिस्सा बनाउनुपर्ने उल्लेख गर्नुभयो ।दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले स्वागत मन्तव्य दिँदै योगको प्राचीन परम्परा नेपाल–भारतको साझा सभ्यता र सम्पदा रहेको चर्चा गर्दै यसलाई सम्पूर्ण मानवजातिको कल्याणका लागि विस्तार गर्नुपर्छ भन्नुभयो ।

कार्यक्रममा भारत सरकारको आयुष मन्त्रालयद्वारा स्वीकृत व्याख्यानसहितको साधारण योग विधि प्रस्तुत गरियो । योगमा अभिरुचि भएका करिब ६ सय जना उक्त योग सत्रमा सहभागी थिए । योग दिवसको पूर्वसन्ध्यामा भारतीय दूतावासले काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिसिनसँगको सहकार्यमा विशेष योग सत्रको आयोजना ग¥यो । भारतीय राजदूतावास, स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका योग गुरुहरूले महिलाका लागि र बालबालिकाका लागि विशेष योग कार्यक्रम विश्व सम्पदामा सूचीकृत काठमाडौंको बौद्घनाथ स्तूपमा आयोजना गरे ।

योगका फाइदा

योगगुरुहरूका अनुसार योग चिकित्सा पद्धति हो । वैज्ञानिक र व्यावहारिक आधारमा गरिने योगले शारीरिक र मानसिक समस्याबाट मानिसलाई मुक्त गर्दछ । त्यसैले आत्मअनुशासन कायम गर्दै स्वस्थ्य र सकारात्मक जीवन बाँच्नका लागि योग गर्नेहरूको संख्या बढ्दो छ । योगले हाम्रो अस्थिर मनलाई स्थिर बनाउने काम गर्छ । मानिसका मनमा राम्रा–नराम्रा अनेक वृत्ति, उत्पत्ति र लय उत्पन्न भएका हुन्छन् । त्यसमा नकारात्मक छालहरूले मानवलाई गलत दिशातिर लैजान्छ । मनमा सकारात्मक भावनाको विकास गर्नका लागि योग गर्नु आवश्यक हुन्छ ।

धेरैले कुनै पनि रोग लाग्नेबित्तिकै अस्पतालको औषधि प्रयोग गर्नुपर्छ भन्ने मान्यता राख्छन् र एलोप्याथिक विधिबाट उपचार गराउँदा साइड इफेक्टको पनि मारमा पर्दछन् । तर, योगबाटै गम्भीर रोगलाई पनि निको पार्न सकिन्छ भन्ने धारणा योगगुरुहरूको छ । योगले मानिसमा आफूभित्र रहेको रोगको निदान गर्नसक्छ । केही विद्वान् ऋषिमुनिले योगको अर्थ संयोग अथवा मिलन भन्दै अथ्र्याएका छन् । शारीरिक तथा मानसिक अनमेल, असन्तुलन र विक्रितिलाई मिलन वा सही मार्गतिर अघि बढाउने कार्य नै योग हो ।

योगले व्यक्तिको तनाव कम गर्न मात्रै नभएर मन र मस्तिष्कलाई पनि शान्त बनाउँछ । शारीरिक र मानसिक दुवै तवरले स्वस्थ रहनका लागि खाना, आराम र व्यायामको सन्तुलन मिल्नैपर्दछ । यसका लागि प्राकृतिक भोजन, प्राकृतिक आराम र व्यायामको सन्तुलन मिल्न जरुरी छ ।

योग स्वास्थ्यका लागि सबैभन्दा महत्वपूर्ण व्यायाम हो । हाम्रो अस्वस्थ जीवनशैलीले थरीथरीका रोगलाई निमन्त्रणा दिइरहेको छ । पछिल्लो समय रसायनयुक्त भोजन एक ठूलो समस्या बनेको छ । त्यसबाट सिर्जना हुने विकार हटाउन योग आवश्यक छ । भनिन्छ, मानव शरीरमा अधिकांश रोग योगबाटै निको हुनेखालका छन् ।

यसका लागि योग प्रशिक्षकसँग अन्तक्र्रिया गरेर नियमित रूपमा योग गर्न जरुरी हुन्छ । त्यसैले आधुनिक समाजमा योगको महत्व बढ्दै गएको छ ।योग गर्दा श्वास र ध्यानमा विशेष ध्यान पु¥याउनुपर्ने हुन्छ । शरीरको गति सँगसँगै योग र ध्यानमा विचार पु-याउन जरुरी हुन्छ । योग शुरू गर्दा जुन योग गरिन्छ, मस्तिष्कमा त्यसको तस्बिर उतार्दै जानुपर्दछ भन्ने सुझाव योगगुरुहरूको छ ।

प्रतिक्रिया दिनुहोस्