डुम्रे–बेसीशहर सडक बैकल्पीक सडकबाट सुचारु



लमजुङ । 

निरन्तरको वर्षासँगै उदिपुर पहिरोका कारण अवरुद्ध डुम्रे– बेसीशहर यातायात आज (मंगलबार) देखि सुचारु भएको छ । बेसीशहर–१, उदिपुरमा गएको भिषण पहिरोका कारण आईतबार विहानै देखि अवरुद्ध यातायात सुचारु गर्न बैकल्पीक सडकको व्यवस्था भएको हो ।

पहिरकोका कारण यातायात अवरुद्ध भएपछि उदिपुर बजारदेखि रिठ्ठेबगर तर्फको सडक हुँदै नेपाली सेनाको व्यारेक बाटा यातायात सञ्चालन गरीएका लमजुङका प्रमुख जिल्ला अधिकारी शुसिल बैद्यले बताउनु भयो ।भारी बर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएपछि आईतबार बैकल्पीक मार्गको रुपमा उदिपुर माथिबाट बेसीशहर तर्फ जोडिने सडक प्रयोग गरिएको थियो । यद्यपी उक्त सडक सानो र साँघुरो हुँदा ठूला सवारी भने आवतजावतमा समस्या भएको थियो । हाल संचालनमा आएकोे बैकल्पीक सडकमा भने साना तथा ठूला सवारी सहज रुपमा आवतजावत गर्न सकिने प्रजिअ बैद्यले बताउनुभयो ।

उदिपुरको देउरालीडाँडामा गतबर्ष पनि पहिरो गएको थियो । यसवर्ष वर्खा लागेसँगै बढ्दै गएको पहिरोका कारण शनिवार रातीदेखि अवरुद्ध बनेको छ । हाल पहिरो जानेक्रम नरोकिएको र पहिरो ठूलो भएका कारण तत्काल मर्मत गरी सोहि मार्ग प्रयोग गर्न सकिने अवस्था नरहेको डुम्रे बेसीशहर चामे सडक योजना प्रमुख अच्युत विलास पन्तले बताउनुभयो ।गतवर्ष पहिरो गएदेखिनै जोखिममा परेको उक्त सडक एक वर्ष वितिसक्दा पनि सरोकारवाला निकायले चासो नदिएको भन्दै सर्वसाधरणले आक्रोश व्यक्त गरेका छन् । गतवर्षदेखिनै उक्त पहिरो रोकथामको पहल गरेको भए अहिलेको विषम परिस्थीती सिर्जना नहुने सर्वसाधरणको बुझाई छ ।

अन्य जिल्लाबाट बेसीशहर आउने मुख्य सडकसँगै बेसीशहर–चामे सडक अन्तर्गत खरखरे भिरको विकल्पमा अर्को सडक प्रयोगमा आउन थालेको छ । खरखरे पहिरोका कारण जिल्ला सदरमुकाम बेसीशहरदेखि उत्तरी लमजुङ तर्फ आवत जावत गर्ने सवारी साधनका लागि बेसीशहर–१० बाँझाखेत, खासुरबेसी, बडागाउँ तर्फको सडक प्रयोगमा प्रजिआ बैद्यको भनाई छ ।

खरखरे भिरको पहिरो निरन्तर बगिरहने र अधिक जोखिम भएकोले बैकल्पीक सडक प्रयोग गर्न आग्रह गरिएको प्रशासनले जनाएको छ ।बर्षात र बाढी पहिरोका कारण जिल्लाको मुख्य राजमार्ग सँगै ग्रामिण सडक पनि प्रभावित भएका छन् । जिल्लाका विभिन्न ग्रामिण गन्तव्यमा पुग्ने सडकहरुमा पहिरो तथा बाढीले अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्