जिसस मकवानपुरमा घलान विजयी



हेटौंडा । 

जिल्ला समन्वय समिति (जिसस) मकवानपुरमा सत्तारूढ गठबन्धनको प्यानल विजयी भएको छ । जिसस मकवानपुर प्रमुखमा नेकपा माओवादी केन्द्रका ललितकुमार घलान विजयी हुनुभएको हो ।

उहाँले एमालेका उम्मेदवार बुद्धिराम डिम्डुङलाई पराजित गर्नुभएको थियो । बिहीबार भएको निर्वाचनमा १७ मतसहित घलान प्रमुख निर्वाचित हुनुभएको हो । उहाँका प्रतिद्वन्द्वी डिम्डुङले ३ मत प्राप्त गर्नुभयो । जिल्लामा २० मतदाता थिए । घलान हेटौंडा उपमहानगरपालिका–१२ मा अध्यक्ष निर्वाचित हुनुभएको थियो । सत्तारूढ गठबन्धनबीचको भागवण्डामा जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख नेकपा माओवादी केन्द्रको भागमा परेपछि उहाँले वडाध्यक्ष छाडेर उम्मेदवारी दिनुभएको थियो ।

जिसस उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइँटेल निर्विरोध निर्वाचित हुनुभयो । उहाँविरुद्ध उम्मेदवारी परेन । जिसस सदस्यमा गठबन्धनका उम्मेदवारहरु नै निर्वाचित भएका छन् । सदस्यमा तारा ढुंगाना, विष्णुमाया थपलिया, सुमित्रा थिङ, खड्गबहादुर पुलामी, सुवर्ण गोपाली र वीरेन्द्रकुमार लामा निर्वाचित हुनुभयो । नेकपा (एकीकृत समाजवादी) बाट उम्मेदवार बन्नेका लामाले १६ मत प्राप्त गर्दा अन्य सबैले १७–१७ मत प्राप्त गरे भने एमालेका उम्मेदवारले ३–३ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

महिला सदस्य ढुंगाना, थपलिया र सुमित्रा थिङ १७ मतसहित निर्वाचित भएका हुन् । उनीहरु नेपाली कांग्रेसबाट उम्मेदवार बन्नेका थिए । सदस्यतर्फ पुलामी, गोपाली र लामा माओवादी केन्द्रबाट उम्मेदवार बनेका थिए । नेकपा (एस) उम्मेदवार लामाले १६ मत, दलित तथा अल्पसंख्यक सदस्यमा नेकपा (एस) की सुनीता परियार निर्विरोध निर्वाचित भएकी थिइन् । गठबन्धनमा सत्तारूढ दलहरुबीचको सम्झौताअनुसार उम्मेदवार तय गरिएको थियो । गठबन्धनमा माओवादी केन्द्रलाई प्रमुख, कांग्रेसलाई उपप्रमुख र ३ सदस्य, माओवादी केन्द्रलाई २ सदस्य र नेकपा (एकीकृत समाजवादी) लाई १ सदस्य तय गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्