कम्मरमुनिको स्वास्थ्य : नीति छ कार्यान्वयन छैन



काठमाडौं । 

विभिन्न समस्याले शारीरिक अशक्तता भएका व्यक्तिहरूका विषयमा सरकारले शारीरिक विकलांगता भएका, दीर्घरोगी, अशक्त बिरामीका लागि पुनःस्थापना केन्द्रको नीति बनाए पनि व्याहारिक रूपमा कार्यान्वयन हुनसकेको छैन ।

मानव शरीरमा हुने विभिन्न रोगमध्ये कम्मरमुनिको भाग कटि, घुडा, गोलीगाठा, पिंडुला, कुर्कुच्चालगायतका भागमा हुने स्वास्थ्य समस्याका बारेमा बेलायतको साउथस्टोन र कृपा नामक गैरसरकारी संस्थाले तीन जिल्लामा गरेको एक अध्ययनको रिपोर्टले कार्यान्वयनको अवस्था शून्य रहेको खुलासा गरेको छ ।बिहीबार सार्वजनिक गरिएको रिपोर्टमा २ हजार ५ सय २५ जनामा गरेको अनुसन्धानबाट उक्त निष्कर्ष निस्किएको जनाइएको छ । उक्त निष्कर्षका विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. रवीन्द्र बाँस्कोटाले अनुसन्धान रिपोर्टले सरकारलाई घचघच्याउनुका साथै नीति कार्यान्वयनका लागि थप छलफलको बाटो खोलिदिएको बताउनुभयो ।

कम्मरमुनिको रोग जुनसुकै वर्गमा लाग्ने रहेछ भन्ने तथ्यले अझ झस्काएको पनि उहाँले व्यक्त गर्नुभयो । बेलायतको साउथस्टोन विश्व विद्यालयका डा. अमोस चानोन र सोही विश्व विद्यालयका डा. लुसी गेटीले नेपालमा कृपाका साथै काठमाडौं विश्व विद्यालयलगायतका ८ जना विशेष सल्लाहकारहरूसँगको सहकार्यमा गरिएको अनुसन्धानले अन्तर्राष्ट्रिय रूपमा नै एउटा महत्वपूर्ण कार्यको सुरुआत गरेको र भविष्यमा यसलाई थप क्षेत्र विस्तार गर्दै अघि बढ्ने बताउनुभयो ।

सोही अवसरमा काठमाडौं विश्व विद्यालय कम्युनिटी मेडिसिन विभागका प्रा.डा. अभिनाभ बैद्यले शुरूका दिनमा यस विषयमा छलफल गर्दा आफ अलमलमा भएको तर अनुसन्धान गर्दैजाँदा अत्यन्तै गम्भीर कतैबाट नउठेको विषय रहेछ भन्ने लागेको जानकारी गराउनुभयो । यस विषयमा सरकारी तहबाट समयमै उठान गर्नुपर्छ भनी सबै निकायको ध्यानाकर्षण गराइएको पनि उहाँले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयका प्रा. गोमा निरौलाले शुरूमा के विषयमा अनुसन्धान गरेको होला भन्ने लागेको तर रिपोर्ट हेर्दा गम्भीर विषय रहेछ भन्ने महसुस भएको बताउँदै आफूले मन्त्रालय तहमा गर्नुपर्ने सहयोग र कार्यान्यनमा पहल गर्ने बताउनुभयो ।कार्यक्रममा कृपाका सह निर्देशक डा. महेश पुरीले तल्लो अंगको अवस्थाहरूको दर्दनाक चोटहरू, जन्मजात असामान्यता, न्युरोलोजिकल, इस्केमिक वा मस्कुलोस्केलेटल रोगजस्ता समस्याहरूको विस्तृत दायरा समावेश गरी अध्ययन गरिएको जानकारी दिनुभयो । दुखाइ, गतिशील सीमितता, व्यापक अक्षमता र मनोवैज्ञानिक प्रभावको परिणामका पाटाहरूको व्याख्या भएको बताइएको छ ।

अनुसन्धानका धेरैजसो उत्तरदाताले आफ्नो तल्लो अंगको अवस्थाले आफ्नो कामलाई प्रभावित पारेका कारण झण्डै ६० प्रतिशतले काम नै गर्न नसकेको पाइएको प्रतिवेदनमा जनाइएको छ । दोलखा, दाङ र स्याङ्जामा गरिएको अध्ययनमा समेटिएका करिब दुई तिहाई व्यक्तिहरूले उनीहरूको दैनिक गतिविधिहरूमा पूर्ण तथा आंशिक असर परेको बताएका छन् । १८ जना पूर्ण अशक्तलाई पनि समेटी उनीहरूको स्वास्थ्य, शारीरिक, आर्थिक, सामाजिक इतिहासका बारेमा पनि अन्तर्वार्ताका माध्यमबाट अनुसन्धान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्