‘भेटायो’ जसले भेटायो उसले समस्या मेटायो



  • अनुषा शाक्य
    बिजनेस डेभलपमेन्ट अफिसर

छिटो र छरितो तरिकाले घरेलु तथा व्यावसायिक सेवा घरदैलोमै आएर प्रदान गर्न काठमाडौं उपत्यकालाई केन्द्रित गरेर ‘भेटायो’ नामको एप सञ्चालनमा ल्याइएको छ । सन् २०२१ को नोभेम्बर महिनाबाट शुरू भएको यस एपले छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ । यस एपले यसरी लोकप्रियता हासिल गर्नुको रहस्य थाहा पाउन भेटायो एपका बिजनेस डेभलपमेन्ट अफिसर अनुषा शाक्यसँग नेपाल समाचारपत्रले संक्षिप्त कुराकानी गरेको छ ।

‘भेटायो’ नाम कसरी भेट्नुभयो ? यसमा नेपाली पन छ, सहज पनि छ, राम्रो नाम कसरी जुराउनुभयो ?

सबैलाई थाहा भएकै कुरा हो, ‘भेटायो’ को अर्थ केही चिज पाउनु हो । कुनै वस्तु, सेवा वा चाहना राखेको वस्तु अथवा इच्छाएको व्यक्ति भेट्नु आफैंमा प्रसन्नता र खुशीको विषय होइन त ? यही खुशी र प्रसन्नता प्राप्त गर्ने सोचले नै ‘भेटायो’ नाम जुराइएको हो । भेटायो एपमा तपाईंलाई चाहिएका अनेक वस्तु र सेवा पाउनुहुन्छ । वस्तु र सेवाको प्राप्ति पनि यस्तो कि चाहेकै जस्तो । भनेको बेला, भनेको समय र सहज तथा सरल मूल्यमा । फेरि वस्तु र सेवाका लागि कतै जानुपर्ने पनि होइन, ढोकैमा आइपुग्ने । यो सबै स्थिति र प्रकृति हेरेर भेटायो नाम उपयुक्त देखेर राखिएको हो । तपाईंले यसमा नेपाली पन र प्रभावकारिता पनि पाउनुभएछ, धन्यवाद ।

भेटायो आम उपभोक्ताबीच लोकप्रिय देखिन्छ । उपभोक्ताको सन्तुष्टिको स्तर कसरी मूल्यांकन गर्नुहुन्छ ?

हाम्रा उपभोक्ता र सेवा प्रदायक दुवै हामीसँग सन्तुष्ट रहेको हामीले पाएका छौं । सबैलाई थाहै छ, हामीसँग दुई प्रकारका व्यक्ति वा संस्थाहरू जोडिन आइपुग्छन्, सेवा दिने र सेवा लिने । दुवै पक्षले हामीसँग काम गर्न पाएर धन्य भएको सन्तुष्टि पोख्ने गरेका छन् । यसरी हेर्दा हाम्रो सन्तुष्टिको स्तर शतप्रतिशत छ । यसो भनेर सुधारका कुनै ठाउँ नै छैनन् भन्ने होइन । हामी हाम्रा उपभोक्ता र सेवाप्रदायक दुवैलाई अझ बढी सन्तुष्टि दिने प्रयासमा लागिरहन्छौं ।

भेटायो एपबाट तपाईंले भेटाउनुभएको अनुभवलाई कसरी अभिव्यक्त गर्न चाहनुहुन्छ ?

हरेक अनुभव मौलिक हुन्छन्, एक अनुभव अर्कोसँग दाँज्न सहज हुन्न । राम्रा अनुभवले अघि बढ्न प्रेरित गर्छन् भने नराम्रा अनुभवले अवश्य तपाईंलाई पाठ सिकाउँछन् । राम्रा अनुभवका कुरा गर्दा जब हामी ग्राहकले भनेजस्तो सेवा पाएर उनीहरूले स्यावासी दिइरहेका हुन्छन्, हामीप्रति प्रसन्नता व्यक्त गरेका हुन्छन्, पुनः सेवाको अवसर दिने प्रतिबद्धता जनाउँछन्, त्यसले वास्तवमै अति सन्तुष्ट बनाउँछ । उनीहरूका समस्या समाप्त भएको देखेर हामी पनि प्रसन्न हुन्छौं । राम्रो सेवा प्रदान गर्ने व्यक्ति वा संस्था पाएकाले नै हामीले ग्राहकलाई सन्तुष्ट बनाउन सकेका हौं । त्यसैले यस सफलताको श्रेय सेवा प्रदायकलाई पनि दिनैपर्छ । वास्तवमा आम उपभोक्तालाई समस्याबाट निवृत्त बनाउनु नै भेटायो एपको लक्ष्य हो । आफ्नो लक्ष्य पूरा भएको क्षणको अनुभवले सदा गौरवान्वित बनाउँछ ।
काम गर्दा यदाकदा तीतो अनुभव पनि सामना गर्नुपर्ने हुन्छ । कति सुन्दर योजना र त्यसको प्राप्तिका लागि बनेका रणनीति पूरा नहुँदा नमीठो लाग्छ । तर, मैले पहिला नै भनें नि, हरेक असफलताले केही न केही पाठ सिकाएकै हुन्छ । हामी आज पनि सिकिरहेका छौं र यो क्रम निरन्तर अघि बढ्नेछ ।

ग्राहकहरू भेटायो एपसम्म किन आउने, सीधै सेवा प्रदायकसँग जाने अवसर हुँदाहुँदै ?

हामी गुणस्तरीय सेवाको ग्यारेन्टी गर्दछौं, भेटायोले ग्राहकको ढोकासम्मै पुगेर सेवा प्रदान गर्दछ । सस्तो, राम्रो र गुणस्तरीय सेवा लिएर हामी समस्यामा रहेका सेवाग्राहीको घरमै पुग्छौं । एक एपले अनेकौं सेवा प्रदान गर्दछ, ग्राहकले ढुक्क भएर हामीलाई काम दिनसक्छन् । सुरक्षित मानसिकताका साथ कसैबाट सेवा लिनुको मजा नै भिन्न हुन्छ । हामी ग्राहकलाई सेवा मात्र दिँदैनौं, सुरक्षाको अनुभूति पनि प्रदान गर्दछौं । सेवाका लागि अनुरोध गर्ने, विकल्पहरूको छनोट गर्ने, बोलकबोल गर्ने, सेवा पाउने आदि सबै काम सेवाग्राहीले घरै बसीबसी एकै क्लिकमा गर्न सक्छन् । हामीले पनि सेवा प्रदायकहरूको भण्डार बनाएका छौं, कुन ग्राहकका लागि कसलाई खटाउँदा ठीक हुन्छ, हामी निर्णय लिन्छौं जसले गर्दा सेवाग्राही र सेवा प्रदायक दुवै पक्ष प्रसन्न हुन्छन् ।

तपाईंले सेवामा ३० दिनको वारेन्टी दिनुहुन्छ, लुगा धुने वा कार सफा गर्नेजस्ता काममा यो कसरी लागु हुन्छ ?

सेवा हेरेर वारेन्टीको नियम लागु हुन्छ । भत्के–बिग्रेको वस्तु बनाउने कामका लागि यो वारेन्टी लागु हुन्छ । लन्ड्रीजस्ता सेवामा यो वारेन्टीको प्रावधान लागु हुन्न । तर, हामी धुँदा केही बिग्रेमा क्षतिपूर्ति दिन्छौं ।

भेटायो एप र यसको काम गर्ने तरिकामा केही परिवर्तन आवश्यक छ भन्ने ठान्नुहुन्छ ?

परिवर्तन प्रगतिशीलताको परिचायक हो । हरेक वस्तु वा सेवालाई समयको मागअनुसार परिवर्तन गर्दै लानुपर्छ । मागअनुसार सुधार पनि गर्नुपर्छ । जहाँको त्यही उभिने, परिवर्तनलाई नचिन्ने कार्य भेटायो एपको लक्षण हुन सक्तैन । संसारमा सबै वस्तु परिवर्तनशील छन्, तर परिवर्तन मात्र एक्लो वस्तु हो जो सदा निरन्तर हुन्छ ।

अन्त्यमा तपाईंको केही भन्नु छ कि ?

सर्वप्रथम म नेपाल समाचारपत्रलाई धन्यवाद भन्न चाहन्छु, जसले हामी, भेटायो एपलाई अभिव्यक्त हुने अवसर प्रदान ग¥यो । भेटायो टिमकै तर्फबाट कामना न्यूज पब्लिकेसन्स परिवारलाई धन्यवाद । भेटायो एपको अवधारणा व्यवहारमा उतार्न सजिलो छैन । समाजमा कुनै समस्या नरहोस् भन्ने उद्देश्यले अघिबढेको भेटायोले एकसाथ दुवै पक्ष– सेवा प्रदायक र सेवाग्राहीलाई सन्तुष्ट बनाउनुपर्छ । काम जतिसुकै गाह्रो भए पनि सञ्चार माध्यम र बुद्धिजीवी तथा सेवाग्राही र प्रदायकको सुझावले हामीलाई सहज बनाएको छ, काममा ऊर्जा थपेको छ । म सबैमा आह्वान गर्दछु, भेटायो एप प्रयोग गरेर हेर्नुहोस्, नयाँ अनुभव हासिल गर्नुहोस् । सेयरिङ र सुझाव दिएर हामीलाई निरन्तर माया गरिदिनुस्, अहिलेलाई यत्ति भए पुग्छ ।

प्रतिक्रिया दिनुहोस्