इलाममा चिया टिप्न शुरू



 इलाम ।

गुणस्तरको हिसाबले निक्कै अब्बल मानिने चियाको पहिलो मात्रा टिप्न (फस्ट फ्लस) शुरु गरिएको छ । यस सिजनको चियाको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । उत्पादनको हिसाबले कम भए पनि गुणस्तरको हिसाबले उच्च भएकाले यसको मूल्य उच्च हुनुका साथै माग पनि बढी हुने गरेको छ ।

इलामका चिया बगानमा यतिखेर चिया किसान र बगानमा कार्यरत मजदुरलाई चिया टिप्न भ्याईनभ्याई छ । केही महिना फुर्सदिला बनेका किसान र चिया मजदुरको दैनिकी चिया बगानमा बित्न थालेको सूर्योदय नगरपालिकास्थित फिक्कलका चिया कृषक मातृका दाहालले बताउनुभयो । गएको कात्तिकदेखि बाँझी बसेको चिया पुनः पलाउन थालेसँगै चिया टिप्न शुरु भएको हो । ‘फस्ट फल्स’ चिया अन्य सिजनभन्दा गुणस्तरीय मानिन्छ ।

दुई पात एक सुइरो भएको चिया टिप्न सबैभन्दा राम्रो मानिन्छ । चिया टिप्न शुरु गरेसँगै जिल्लाका चिया कारखानाले प्रशोधनको तयारी समेत थालेको इलाम नगरपालिका–१ साँखेजुङ स्थित ग्रिनहिल अथोडक्स चिया कारखानाका सञ्चालक टंक दाहालले बताउनुभयो । फस्ट फ्लसको सिजन फागुन तेस्रोदेखि चैत दोस्रो सातासम्ममा शुरु हुन्छ । र, यो करिब १ महिना रहन्छ । उत्पादनका हिसाबले फस्ट फ्लसको परिमाण वर्षभरको एक चौथाइ मात्रै हो ।

पहाडी जिल्लामा उत्पादन हुने गरेको उच्च गुणस्तरीय अर्गानिक अर्थाेडक्स चिया जर्मनी, फ्रान्स, अमेरिका, चीन, रुस, जापान, नेदरल्यान्डलगायत दर्जनौं मुलुकमा निर्यात हुन्छ । केही आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ठूलो परिमाणको तयारी चियाचाहिँ भारत निकासी हुने केन्द्रीय चिया सहकारी संघका सचिव रविन राईले बताउनुभयो ।

इलाम, पाँचथर र धनकुटाबाट ठूलो परिमाणको अर्गानिक अर्थाेडक्स चिया तेस्रो मुलुक निर्यात हुन्छ । उद्योगहरूले किसानलाई हरियोपत्तीको सबैभन्दा बढी मूल्य दिने पनि फस्ट फ्लसले नै हो । चियाको राजधानी मानिने इलाममा साना ठूला तथा सरकारी र निजी गरेर १६ वटा चिया कारखाना रहेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्यांकमा उल्लेख छ ।तथ्यांकअनुसार इलाममा ५ हजार ५ सय ८२ साना किसान छन् भने ६४ प्रतिशत चिया किसानको मुख्य आम्दानी नै यसैबाट भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्