पाँच दिनदेखि चारकोसे झाडीमा डढेलो



सर्लाही ।

सर्लाहीका चारकोसे झाडीमा पाँच दिनदेखि लगातार डढेलो लागिरहेको छ । डढेलो हरिपुर नगरपालिका–१ मा पर्ने जानकीनगर साझेदारी वन, हरिवन नगरपालिका–६ मा पर्ने घुर्कैली वन, फुलजोड साझेदारी वन र उत्तरी चुरेका वन क्षेत्रमा डढेलो लागेको हो ।

हावाहुरी र सुख मौसम भएकाले अझै डढेलो नियन्त्रणमा आउन सकेको छैन् । हिउँदयाम शुरु भएसँगै यस क्षेत्रको जंगलमा प्रत्येक वर्षको डढेलो लाग्ने गरेको स्थानीयले बताएका छन् । डढेलो नियन्त्रणका गर्न स्थानीय सामुदायिक वनले अग्नि नियन्त्रण रेखा बनाए पनि राष्ट्रिय वन र साझेदारी वनले डढेलो नियन्त्रणका लागि कुनै तयारी गरेका छैनन् । डढेलो नियन्त्रणका लागि पूर्वतयारी नहुँदा हिउँदमा धेरै वनजंगल सखाप हुने गरेको बिहानी सामुदायिक वन उपभोक्त समितिका अध्यक्ष दिनेशराज थापाले बताउनुभयो ।

चारकोसे झाडीको जंगल र चुरेको वनमा डढेलो लाग्न थालेपछि त्यस क्षेत्रमा बसोबास गर्दै आएका धेरै रैथाने वन्यजन्तुले सुरक्षित बासस्थानको खोजी गर्दै हिँड्न थालेका छन् । ‘डढेलो नियन्त्रण गर्ने वन कार्यालय र सव डिभिजन वन कार्यालयसँग साधन छैन, हावाहुरी शुरु भएपछि प्रत्येक वर्ष डढेलोका घटना हुन्छन्’, सहायक वन अधिकृत सुवास सहा भन्नुहुन्छ– ‘हामीसँग अग्नि नियन्त्रणका लागि दक्ष जनशक्ति पनि छैनन् । माटो र स्याउलाको भरमा डढेलो नियन्त्रण गर्न मुस्किल छ ।’

डढेलोका कारण जैविक विविधतामा समेत नराम्रो असर पर्न थालेको छ । सरिसृप लोपोन्मुख अवस्थामा पुगेका छन् । यो बेला पन्छीको प्रजननको पनि समय हो । आगोले अण्डा र बच्चेरामा क्षति पुर्याउने भएकाले केही पन्छी लोप हुने अवस्थामा पुगेका छन् ।

आगो लागेको ठाउँमा घाँसदाउरा काट्न सजिलो हुने र चाँडै घाँस उम्रने स्थानीयको भनाइ छ । सुखा मौसममा लाग्ने डढेलोले वन्यजन्तु, बोटबिरुवा, वनस्पति, जडीबुटी र काठ–दाउरालगायत जैविक विविधता तथा पर्यावरणमा समेत क्षति पुर्याउने गरेको विज्ञहरूको भनाइ छ । डढेलोको समस्या दीर्घकालीनरूपमा रहे पनि नियन्त्रण गर्न स्रोतसाधन तथा पर्याप्त बजेट नभएको सम्बन्धित निकायको दाबी छ ।

‘वन संरक्षणमा स्थानीय पालिकाले राम्रोसँग चासो दिन सकेको छैन । पालिकास्तरमा वातावरण संरक्षणका लागि गठन भएका समितिहरु प्रायः निस्क्रिय जस्तै छन् । डढेलो नियन्त्रण गर्न पालिकासँग पर्याप्त स्रोतसाधन पनि छैन’, सामुदायिक वन उपभोक्ता महासंघका पूर्वकेन्द्रीय सदस्य तथा हरिवन नगरपालिका–९ का वडाध्यक्ष सीताराम पोखरेल भन्नुहुन्छ– ‘अर्कोतिर वातावरण संरक्षणमा नागरिकको सहभागिता र जनचेतना वृद्धि पनि हुन सकेको छैन । स्थानीयमा चेतना अभिवृद्धि नभएसम्म आगोलागीका घटनामा कमी ल्याउन सकिँदैन ।’सुख्खायाममा हुने डढेलो र आगलागीका घटनाका कारण वनजंगल छेउछाउमा रहेका बस्तीसमेत उच्च जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस्