गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ



काठमाडौं ।

सन्तोषी श्रेष्ठको नाम आउनेबित्तिकै दुई वर्षअघि नेपालमै आयोजित १३औं दक्षिण एसियाली खेलकुद सम्झिनुपर्छ । सार्क खेलकुदको महामेलामा सन्तोषीले १० हजार मिटरमा स्वर्ण जितिन् । भारतीय प्रतिस्पर्धीलाई मिलिसेकेन्डले पछि पारेपछि उनले नेपाली एथ्लेटिक्समा एउटा अभूतपूर्व कीर्तिमान बनाएकी छन् । उनी अन्तर्राष्ट्रिय स्वर्ण जित्ने एथलेटिक्सकी पहिलो महिला खेलाडी हुन् ।

सागको सफलताबाट चर्चाको शिखरमा पुगेकी सन्तोषीले आफ्नो विधालाई फराकिलो बनाउँदै लगेकी छन् । १४ वर्षअघि दौडिन शुरु गर्दा सन्तोषीलाई व्यवसायिक खेलाडी बन्छु भन्ने थिएन । मध्यम दूरीमा केन्द्रित रहेर २०७३ मा पूर्वान्चलमा आयोजित सातौं राष्ट्रिय खेलकुदमा सहभागी भएयता धादिङ ज्वालामुखीकी सन्तोषीले आफूलाई निरन्तरता तिखार्दै लगेकी छन् । १३औं साग चाहिँ उनको करिअरकै टर्निङ प्वाइन्ट हो ।

सन्तोषीको एउटा आफ्नै सिद्धान्त छ– आँट गर्ने हो भने नसकिने केहि पनि छैन । यो वर्ष उनले आफूलाई लामो दूरीको शशक्त दावेदारका रूपमा प्रस्तुत गरिन् । नेपालगञ्ज म्याराथन, रन फर प्रोटिन र प्रधानसेनापति म्याराथन गरी आफू सहभागी तीनवटै प्रतिस्पर्धामा हाफ म्याराथनको उपाधि जितेपछि सन्तोषीमा आत्मविश्वास बढेको छ ।

रन फर प्रोटिनमा हाफ म्याराथनको दूरी १ घण्टा १४ मिनेट १४ सेकेन्डमा पूरा गरी राष्ट्रिय कीर्तिमानसमेत बनाइन् । यसअघि कान्छीमाया कोजुले १ घण्टा १८ मिनेट २८ सेकेण्डको टाइमिङलाई राष्ट्रिय कीर्तिमान भनिएको थियो । उनले १३औं सागदेखि २०७८ को प्रधानसेनापति हाफ म्याराथनसम्म भाग लिएका सबै १० प्रतियोगितामा स्वर्ण जितेकी छन् । लामो दूरीमा प्रवेश गरेको चाहीँ यही वर्षदेखि हो । पहिलो सहभागितामै नेपालगञ्जमा उनले हाफ म्याराथन उपाधि जितेकी हुन् ।

जनप्रशासनमा स्नातकोत्तर गरेकी सन्तोषी खेल र अध्ययनलाई सँगसँगै अगाडि बढाउने सीमित खेलाडीमा पर्छिन् । उनले खेलकुदमा लागेपछि पढ्न सकिन्न वा पढ्न नसकेर खेलकुदमा लाग्ने मान्यतालाई चिर्न सकेकोमा गर्व गर्छिन् । त्यो भन्दा ठूलो कुरा विभागीय टोलीमा नरहेर पनि च्याम्पियन बन्न सकिन्छ भन्ने उदाहरण बनेकी छन् । २०७१ सालदेखि व्यावसायिक करिअर सुरु भएयता उनले विभागीय टोलीका थुप्रै ‘अफर’हरू लत्याएकी छन् ।

आहार, स्वास्थ्य र जनस्वास्थ्य पोषणमा पनि पोस्ट ग्राजुएसन डिप्लोमा गरिरहेकी सन्तोषीलाई अध्ययनबाट सिकेका ज्ञानलाई खेलकुदमा लगानी गर्ने घोको छ । सामाजिक र अनुसन्धनात्मक काममा रुचि राख्ने यी च्याम्पियनले १३औं सागयता अन्तर्राष्ट्रिय प्रतियोगितामा अवसर पाएकी छैनन् । तर उनलाई देशका लागि अझै खेल्ने र धेरै जित्ने रहर छ ।

सन्तोषीले आफूलाई नेपाली खेलकुदमा छुटाउनै नहुने नामका रूपमा स्थापित गरेकी छन् । त्यसैले त उनलाई नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने एनएसजेएफ स्पोर्टस् अवार्डको पिपुल्स च्वाइस अवार्डमा मनोनित गरिएको छ ।

चैत ८ गते वितरण हुने अवार्डको पिपुल्स च्वाइस विधामा सन्तोषीसँगै क्रिकेटका कुशल भुर्तेल, टेबलटेनिसकी एलिना महर्जन, ब्याडमिन्टनका प्रिन्स दाहाल र फुटबलकी एन्जिला तुम्बापो सुब्बा मनोनयनमा परेका छन् । समर्थक, ओलम्पिक आबद्ध खेल संघ र खेलकुद पत्रकारको मतका आधारमा विजेता निर्धारण हुन्छ । सन्तोषी अघिल्लो वर्ष पल्सर स्पोर्टस् अवार्डकै स्पेसल अवार्ड विजेता खेलाडीसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्