वृद्धा आमाको मन-रुमालमा संकलन गरेर विद्यालयलाई चन्दा



पर्वत ।

उमेरले नेटो काट्दै गरेकी वृद्धा आमा विद्यालयको प्राङगणमा आउनुभयो । पटुकामा राखेको रुमालको पोको फुकाउँदै रकमको बिटो विद्यालय ब्यबस्थापन समितिकी अध्यक्षलाई दिनुभयो ।

नानी यो रुमालमा जति पैसा छ विद्यालयको उन्नतिका लागि खर्च गर्नुस् भनेर आमाले थमाएको पोको खोल्दा ४० हजार रुपैयाँ रहेछ । सामुदायिक विद्यालयमा भौतिक र शैक्षिक सुधार हुन थालेपछि खुसी हुँदै गएका अभिभावकले गाँस कटाएर रकम सहयोग गर्न थालेपछि पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङकी नर्वदा चापागाईले यसरी रुमालमा संकलन गरेर राखेको रकम विद्यालयलाई दिनुभएको हो ।

स्थानीय पाङ धैरेनी मा बिमा पछिल्लो समयमा विद्यालयको भौतिक र शैक्षिक वातावरणमा उल्लेख्य सुधार आएको देखेपछि गएको माघमा ४० हजार सहयोग गर्नुभएकी आमा नर्वदाले सोमबार (फागुन २३) गएको भएको विद्यालयका नयाँ भवन उद्घाटन कार्यक्रममा थप ६० हजार १ सय ११ रुपैयाँ पनि यसै गरी रुमालको पोको फुकाउँदै विद्यालयलाई दिनुभयो । ‘गाउँमा नै स्कुलमा केटाकेटीलाई राम्रो पढाई भएको देखेपछि मैले बृद्ध भत्ता र आफुँले जम्मा गरेको धन सहयोग गर्न मन लाग्यो।

आमा नर्बदाले भन्नुभयो ‘हामी बूढाबूढीले सन्तानहरूको शिक्षामा सहयोग गर्न पाउँदा स्वर्गमा पुगेको आनन्द आउँदो रहेछ।’ उहाँले विद्यालयलाई दिएको रकमबाट विद्यालयमा उहाँका दिवंगद श्रीमान् जुक्तिबल्ला चापागाईँको स्मृतिमा ‘जुक्तिबल्ला नर्वदा चापागाईँ’ स्मृति कोष स्थापना गरिने भएको छ ।आमा नर्वदा मात्रै होइन पाङ धैरेनी माबिलाई अहिले आर्थिक र भौतिक सहयोग गर्ने अभिभावकको बाढी नै लागेको छ । सोमबार आयोजित विद्यालय उद्घाटन कार्यक्रममा समाजसेवी तथा विद्यालयका पूर्व अध्यक्ष तेजनाथ रिजालले ४ लाख रुपैयाँ सहयोग प्रदान गर्नुभयो । उहाँले यस अघि पनि १ लाख सहयोग गरिसक्नु भएको थियो ।

विद्यालयमा अङ्ग्रेजी माध्यमबाट पढाउने, भवन, कम्प्युटर, विज्ञान प्रयोगशाला बनाउने लगायतका सुधार भएपछि खुसी हुनुभएका रिजालले त अब विद्यालयमा निजी स्रोतमा शिक्षक राखेर तलब खुवाउन पुग्ने गरि थप सहयोग गर्ने घोषणा पनि गर्नुभयो ।अध्यक्ष रिजालका अनुसार अहिले विद्यालयमा जन्मदिन, व्रतबन्ध, चौरासी पुजा, विवाह देखि वार्षिक पुण्य तिथिमा होस वा दिवंगद बाबुआमा र सन्तानको स्मृतिमा अक्षयकोष स्थापना गर्ने अभियान चलेको छ ।

अध्यक्ष रिजाल र उहाँका श्रीमान् समाजसेवी रामजी रिजालले दिवंगद छोरा अकरुणको स्मृतिमा २०६५ सालमा नै ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो। सबैबाट प्राप्त सहयोगबाट विद्यालयका निजी स्रोतका शिक्षक राखेर अङ्ग्रेजी माध्यममा सुरु भएको पठनपाठनलाई अझै प्रभावकारी बनाउने योजना रहेको अध्यक्ष रिजालले बताउनुभयो । ‘अक्षयकोषको ब्याजबाट कम्तीमा दुई जना शिक्षक निजी स्रोतमा राख्नुपर्छ,’ उहाँले भन्नुभयो‘अझै अक्षयकोषलाई बढाएर त्यसको आवश्यकता पुरा गर्ने सोचमा छौ ।

प्रतिक्रिया दिनुहोस्