हरियो रंङ्गको मतपत्रमा शंका नगर्न आयोगको आग्रह



काठमाडौं ।

स्थानीय तहको निर्वाचनमा हरियो रंङ्गको मतपत्र प्रयोग गर्ने निर्णयप्रति नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्षले सार्वजनिक रुपमै आपत्ति जनाएपछि निर्वाचन आयोगले पटकपटकको समीक्षापछि यस्तो निर्णय गरिएको जिकिर गर्दै यसमा कुनै शंका नगर्न आग्रह गरेको छ ।

आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा हरियो रङ्गको मतपत्र प्रयोग गर्ने निर्णयबारे प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको चुनाव चिन्हको रंगसँग मिल्ने गरी मतपत्रको रङ्ग निर्धारण गरिएको तर्क गर्दै आपत्ति जनाउनुभएको थियो ।

आयोगले गत बिहीबार स्थानीय तहको निर्वाचनका लागि आवश्यक पर्ने मतपत्रमा छपाई हुने चिन्ह, विवरण तथा सुरक्षण चिन्ह हरियो रङ्ग (एसके–३०८१ स्पेक्ट्रम ब्राइट ग्रिन) को मसीले छपाइ गर्ने निर्णय गरेको थियो ।

विभिन्न समयमा भएको निर्वाचनको सम्बन्धमा प्रयोग गरेका मतपत्र रंग र त्यसमा लगाइने स्वस्तिक चिन्ह प्रष्ट देख्न सकिने, मतपत्र कतिको बदर भएको वा नभएको लगायत प्राविधिक पक्ष विश्लेषण गरी मतपत्र हरियो रंङ्ग निर्धारण गरिएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो ।

मतपत्र र स्वस्तिक चिन्ह कन्ट्रयास हुने गरी यसपटक मतपत्रको रंग निर्धारण गरिएको जानकारी दिंदै उहाँले भन्नुभयो–‘मतपत्रको रंग र चिन्ह एउटै रंगको हुँदा गणनामा समस्या आउने गरेकोले हरियो रङ्ग प्रयोगको गर्ने निर्णय गरिएको हो । नीलो रङ्ग चिन्ह र नीलो रङ्गको छाप हुँदा मतगणनामा झन्झट भएको प्रतिक्रिया विगतमा पनि धेरै निर्वाचन अधिकृतको कार्यालयबाट आएको थियो ।’

हरियोमा स्पष्ट मत देखिने भएकाले आयोगले यसको प्रयोग गर्ने निर्णय गरेको बताउँदै प्रवक्ता शर्माले भन्नुभयो–‘हरियो रङको डिजाइन हरेर, प्राविधिकको राय लिएर निर्णय गरिएको हो ।’

विगतको अभ्यासलाई हेरेर आयोगले रङ्ग निर्धारण गरेकोले कसैले आपत्ति जनाउन नपर्ने जिकिर गर्दै प्रवक्ता पौडेलको भन्नुभयो– ‘मतपत्र सेतो हुने भए पनि चिन्ह भने बेग्लाबेग्लै रङ्गको प्रयोग गर्दै आएको छ । निर्वाचनमा विशेष गरी हरियो, नीलो, रातो र कालो रङ्गको चिन्ह प्रयोग गर्ने चलन छ।’

आयोगका अनुसार २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्ष निर्वाचनतर्फ हरियो रङ्गको चिन्ह र समानुपातिक तर्फ रातो रङ्गको चिन्ह प्रयोग गरिएको थियो । त्यतिबेला प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचनमा कालो रङ्ग र समानुपातिकतर्फ रातो रङको चिन्ह थियो । २०७४ को स्थानीय तहको निर्वाचनमा नीलो रङ्गको चिन्ह थियो। पछिल्लोपटक राष्ट्रिय सभा सदस्यतर्फ प्रदेश सभा सदस्यले प्रयोग गरेको मतपत्रमा हरियो रङ्गको चिन्ह थियो । तर, स्थानीय तहका सदस्यले भोट हाल्ने मतपत्रमा रातो रङ्गको चिन्ह थियो।

प्रतिक्रिया दिनुहोस्