स्थानीयको अवरोधका कारण फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकियो

११ वर्ष बितिसक्दा पनि बञ्चरे डाँडाको पूर्वाधार पूर्ण रुपमा तयार भएन



काठमाडौं ।

स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् । सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् । स्थानीयले आफ्नो माग पूरा नगरेको भन्दै चार दिनदेखि बञ्चरे डाँडाको निर्माण कार्य रोकेका थिए भने बुधबारबाट फोहोर बिसर्जन बन्द गरेका छन् ।

स्थानीयवासी श्रीराम ढुंगानाले अबको आन्दोलन निर्णायक भएको दावी गर्दै भन्नुभयो–‘विगतकै २० वटा माग पेश गरेका छौं । ती मागहरू पुुरा नभएसम्म सिसडोल ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न दिंदैनौं, अनिश्चितकालसम्मका लागि रोकेका हौं ।’

आन्दोलनरत् स्थानीयले आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गर्दै मंगलबार प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएका थिए । स्थानीय श्रीराम ढुंगानाको नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाएलगत्तै बुधबार मुख्यसचिव शंकरदास बैरागी र आन्दोलनरत् स्थानीयवासीबीच वार्ता भएको थियो । वार्ताबाट निकास ननिस्केपछि स्थानीयले माग पूरा गराउन दबाबस्वरुप फोहोर रोक्ने निर्णय गरेका हुन् ।

शहरी विकास तथा भवन निर्माण विभागले बञ्चरे डाँडा ल्याण्डफिल साइटमा एक दर्जन बढी संरचना निर्माण गरिरहेको अवस्थामा स्थानीयले आफ्नो माग पूरा नगरेको भन्दै फोहोर व्यवस्थापन रोकेका हुन् । स्थानीयले गरेको मागअनुसार १३ गाउँको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्न करिब ३ अर्बभन्दा बढी रुपियाँ लाग्छ । शहरी विकास विभागले काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागलाई बञ्चरे ल्याण्डफिल साइटमा फोहोर बिसर्जन गर्न पत्र पठाएलगत्तै स्थानीयले सिसडोल र बञ्चरे ल्याण्डफिल साइटमा अवरोध पुर्याएका हुन् ।

कामपा सिसडोल ल्याण्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले बञ्चरे डाँडाका स्थानीयले करिब ५ हजार रोपनी जग्गा अधिकरण गर्न माग गर्दै अनिश्चितकालिन रुपमा फोहोर व्यवस्थापन रोक लगाएको जानकारी दिंदै भन्नुभयो– ‘केही दिनपछि बञ्चरेमा फोहोर व्यवस्थापन गर्ने तयारी गरेका थियौं, मुआब्जा माग गर्दै सिसडोलमा समेत फोहोर फाल्न रोक लगाए ।’

स्थानीयले मुआब्जाको विषयमा पटकपटक वार्ता गर्दा पनि सुनुवाई नभएको कारण फोहोर व्यवस्थापनमा रोक लगाएको जनाएको छ । उनीहरूले बञ्चरे ल्याण्डफिल साइटका प्रभावित जनताको स्वामित्वमा रहेको जग्गा अधिग्रहण नगरेसम्म फोहोर व्यवस्थापन गर्न नदिने जनाएका छन् ।

यसअघि सरकारले ऐलानीसहित बञ्चरे डाँडा ल्याण्डफिल निर्माण र व्यवस्थापन गर्न करिब १ हजार ७ सय रोपनी जग्गा अधिग्रहण गरिसकेको छ । सोहीअनुसार सरकारले बञ्चरे डाँडामै फोहोर व्यवस्थापन गर्न तयारी थालेको थियो । फेरी मुआब्जा माग गर्दै अवरोध गरेको कारण उपत्यकाको फोहोर व्यवस्थापनमा पुनः समस्या पैदा भएको छ ।

उपत्यकाका १८ स्थानीय तहको फोहोर व्यवस्थापन भैरहेको सिसडोल ल्याण्डफिल साईट पूर्ण रुपमा भरिसकेकको छ । सरकारले २०६२ सालमै ३ बर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर ब्यवस्थापन गर्ने लक्ष्य तय गरेको थियो । तर ११ वर्ष बितिसक्दा पनि बञ्चरे डाँडाको पूर्वाधार पूर्ण रुपमा तयार हुन सकेको छैन ।

यसअघि मुड्खु–तीनपिप्ले सडक खण्ड कालोपत्रे गर्नुपर्ने माग गर्दै स्थानीय मुड्खुबसीले १२ दिनसम्म फोहोर रोकेका थिए । फागुन १ गतेबाट रोकिएको फोहोर १२ गते व्यवस्थापन भएको थियो । फेरी दुई सातापछि अवरोध भएको गरिएको जानकारी दिंदै कामपा सिसडोल ल्याण्डफिल साइट इन्चार्ज श्रेष्ठले भन्नुभयो–‘बिहान आधा दर्जन सवारी साधनले फोहोर बिर्सजन गरेपछि अवरोध भएको हो ।’

अहिले दैनिक झण्डै १ हजार ५० मेट्रिक टन फोहोर व्यवस्थापन हुने गरेको सिसडोलमा दैनिकजसो समस्या पर्न थालेको छ । सिसडोल ल्याण्डफिल साइटमा उपत्यकाको १८ स्थानीय तहसहित धादिङ, काभ्रे र नुवाकोट जिल्लाका केही स्थानीय तहको फोहोर व्यवस्थापन हुने गरेको छ । सिसडोलमा कामपाको करिब २० सवारी साधनले दैनिक रुपमा फोहोर ओसार्ने गरेको छ । अन्य जिल्ला र निजी क्षेत्र समेत गरी दैनिक करिब १ सय ५० सवारी साधनले फोहोर ओसार्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्