नेपालको प्रतिवेदनमाथि नौ समूहमा छलफल

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक



काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको छ । प्रतिवेदनमाथि नौ वटा समूह गठन गरेर समिूहगत छलफल सुरु भएको हो । ७ प्रदेशबाट ७ समूह र उपत्यका विशेष र सम्पर्क समन्वयको एउटा तथा केन्द्रीय विभाग तथा मोर्चा संगठनको अर्को समूह गरी नौ वटा समिूहमा विभाजन गरेर छलफल सुरु भएको पोलिटब्यूरो सदस्य होम बुढाथोकीले बताउनुभयो । उहाँका विहिवार समिूहगत छलफल सम्पन्न गरेर अध्यक्ष नेपालले जवाफ दिएपछि प्रतिवेदन पारित गर्ने तयारी छ ।प्रतिवेदनमा चैत १५ भित्र सम्पूर्ण स्थानीय तह र वडाहरूमा बाँकी रहेको पार्टी कमिटी गठन गरिसक्ने कार्ययोजना अघि सारिएको छ ।

अध्यक्ष नेपालले एमसीसीको विपक्षमा लाग्दा पार्टी र गठबन्धन नै भत्किने र आफूहरुका साथै सभामुखको समेत पद धरापमा पर्ने भएपछि बाध्यात्मकरूपमा व्याख्यात्मक टिप्पणीसहित पारित गर्नुपरेको उल्लेख गर्नुभएको छ । एमसीसी सम्झौतालाई व्याख्यात्मक घोषणासहित पारित गरेर ठूलो दुर्घटनाबाट बचाएको बताउदै प्रतिवेदनमा सत्ता गठबन्धनलाई चुनावसम्मै लिएर जानुपर्ने नीति अघि सार्नुभएको छ ।

एमसीसीका सन्दर्भमा भ्रम र यथार्थ प्रष्ट पार्न केन्द्रीय कमिटीको जारी बैठकमा नेपालले पेस गरेको ११ पृष्ठको प्रतिवेदनमा आफूहरूले एमसीसी पारित नगर्दा नेपाली कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका सबै शर्त पूरा गर्न तयार भइसकेकाले ठूलो संकटबाट पार लगाइएको बताउनुभएको छ ।

नेपाली कांग्रेस एमसीसीलाई जस्ताको तस्तै पारित गर्ने निर्णयमा पुग्नु र केपी ओलीले त्यसका लागि आफ्ना शर्तमा कांग्रेसलाई झुकाएर सम्झौता पारित गराउने षडयन्त्र गरिरहेको परिस्थितिमा हामीले उपयुक्त निर्णयमा पुग्ने बुद्धिमता देखाउनै पर्दथ्यो, एमसीसी पारित गर्नका लागि ओलीले सभामुखलाई तत्काल हटाउनु पर्ने, नेकपा एकीकृत समाजवादीका चौध जना सांसदहरूलाई पदमुक्त गर्नुपर्ने, नेकपा एकीकृत समाजवादीको दर्ता खारेजीका लागि आवश्यक कदम चाल्नुपर्ने, प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्ने, वर्तमान गठबन्धन तोडी कांग्रेस–एमाले गठबन्धन बनाउनुपर्ने, प्रदेश सरकारमा आफ्नो शक्ति अनुसार मुख्यमन्त्री पाउनुपर्ने लगायतका शर्तहरू प्रधानमन्त्रीसमक्ष राख्ने काम गरेका थिए । एमसीसी पारित गराउन नेपाली कांग्रेसले पनि करिब–करिब सबै शर्तहरू मान्न तयार भइसकेको थियो, तर आफूहरुले उचित निर्णय लिएको कारण ठूलो दुर्घटनाबाट बचाउन सफल भएका छौ, प्रतिवेदनमा भनिएको छ ।

यसैबीच केन्द्रीय कमिटीको बैठकमा सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसीमा नेपालले गरेको व्याख्यात्मक घोषणालाई सम्झौताको अंग बनाउनुपर्ने धारणा राख्नुभएको छ । हामीले एकतर्फी व्याख्यात्मक घोषणा भनेर जे गरिएको छ, त्यसलाई उपलब्धिपूर्ण बनाउनुपर्छ । यसलाई सम्झौताको अंग बनाउनुपर्छ, उहाँले भन्नुभयो । एमसीसी सम्झौता संसदबाट पारित गर्दा आपत्ति जनाउनुभएका खनालले व्याख्यात्मक घोषणालाई सम्झौताको अंग नबनाई जस्ताको तस्तै कार्यान्वयनमा लगिए एमसीसी कम्युनिस्ट र चीन विरोधी हुने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्