ट्रान्सफ्याट उन्मूलन गर्ने अभियानमा नेपाल



न्युज अफ नेपाल, काठमाडौं ।

तपाईँले स्वाद र स्वास्थ्यका लागि दैनिक प्रयोग गर्ने तेल नै स्वास्थ्यका लागि विष बनिरहेको त छैन ? हामीले प्राय ध्यान नै नदिएको तर दैनिक उपभोग गरिरहेको खाद्य बस्तु तेलमा हुनसक्ने विषालुपनबारे सचेतता अपनाउनैपर्ने देखिएको छ ।

ट्रान्सफ्याटयुक्त तेलमा बनाइएका स्वास्थ्यलाई हानी गर्ने खाद्यबस्तुहरु

 

बरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रकाशराज रेग्मीले ‘पछिल्ला अनुसन्धान प्रतिबेदनहरुका अनुसार हामीले प्रयोग गर्ने चिल्लो पदार्थहरु मध्ये विशेषगरी उद्योगबाट उत्पादित बनस्पति घिउ र धेरै पल्ट तताएकोतेलमा मानिसको स्वास्थ्यलाई हानी गर्ने अति खराब चिल्लो पदार्थ(ट्रान्सफ्याट) अत्यधिक मात्रामा पाइएको र त्यसले हृदयघात, मस्तिष्कघात, क्यान्सर र मधुमेहजस्ता गम्भीर रोगहरु गराइरहेकोले यस्ता ट्रान्सफ्याटयुक्त तेल घिउलाई कानुन बनाई प्रतिबन्ध लगाउनुपर्ने’ बताउनुभएको छ ।

डा प्रकाशराज रेग्मी

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालबाट ट्रान्सफ्याटयुक्त तेल घिउ उन्मूलन गर्ने अभियान अन्तर्गत हालै आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै डा रेग्मीले,अति खराव चिल्लो अर्थात ट्रान्सफ्याटयुक्त तेल घिउ होटल, रेष्टुरेन्टमा पकाइएका खाना, तयारी खानाहरुमा पाइने भएकाले यसलाई नियन्त्रण गर्न सरकारी निकाय र उपभोक्ता दुवै जिम्मेवार एवं सचेत हुनुपर्ने कुरामा जोड दिनु भएको छ । उहाँले अति खराव चिल्लो पदार्थयुक्त खानपानका कारण विश्वमा बर्षेनी ५ लाख भन्दा बढी मानिसको मृत्यु हुने गरेकोले मुटु रोगबाट नेपाली जनता विशेषगरी युवा पिढीलाई जोगाउन खानामा ट्रान्सफ्याटको मात्रालाई नियन्त्रण गर्न जरुरी भएको बताउँदै ट्रान्सफ्याट नभएको खाद्य बस्तु खान पाउने उपभोक्तको अधिकारको संरक्षण हुनु पर्ने बताउनु भएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुसन्धान गर्दा पनि खाद्यपरिकार तयार गर्ने होटल रेष्टुरेन्टहरुमा प्रयोग हुने तेल पटकपटक प्रयोग भएको ज्यादै गुणस्तरहीन पाइने गरेकोले यसको नियन्त्रणका लागि कदम चाल्न जरुरी भएको सो विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिनु भएको छ । प्रवक्ता महर्जनले ‘गुणस्तरहीन खाद्यबस्तु बेच्नेलाई कारवाही गर्ने कार्यमा मात्र नभई त्यस्ता खाद्य बस्तु बेच्न नै नदिने कार्यमा जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा रोसन पोखरेलले७० प्रतिशत विरामीपन नसर्ने रोगको कारणले भएको पाइएकोले अव सरुवा रोग नियन्त्रणमा मात्र ध्यान नदिई नीतिगत परिवर्तन गर्दै नसर्ने रोगहरुको नियन्त्रणमा पनि विशेष जोड दिनुपर्ने बताउँदै ट्रान्सफ्याट उन्मुलन अभियान त्यसकै एउटा कडी भएको कार्यक्रममा जानकारी दिनु भयो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले नेपालमा ट्रान्सफ्याट उन्मुलन गर्नका लागिकरीव ६ महिना अघिदेखि एउटा परियोजना सञ्चालन गर्दै विभिन्न कार्यक्रम नै सञ्चालन गरिरहेको छ । सो परियोजनाका निर्देशक तथा बरिष्ठ मुटु रोग विशेषज्ञ (कार्डियाक सर्जन) डा प्रेमराज बैद्यका अनुसार ट्रान्सफ्याटका दुईश्रोत मध्ये प्राकृतिक ट्रान्सफ्याट जनावरको रातो मासु, दूध, घिउ, आदिमा पाइन्छ भने कृत्रिम ट्रान्सफ्याट हाइड्रोजन र बनस्पति तेलको मिश्रणबाट कारखानामा बनाइन्छ ।

डा प्रेमराज बैद्य

ब्यापारिक दृष्टिकोणले लाभ लिन बनस्पतिबाट आउने झोल चिल्लोलाई हाइड्रोजिनेसन गरेर बाक्लो बनाइन्छ । यो कोठाको तापक्रममा जमेको हुन्छ । यो स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ ।

प्राकृतिक श्रोतमा ट्रान्सफ्याटको मात्रा ५ देखि १५ प्रतिशतसम्म पाइन्छ भने व्यावसायिक रुपमा कृत्रिम उत्पादन गर्ने चिल्लोमा ट्रान्सफ्याटको मात्रा १५ देखि ६५ प्रतिशतसम्म हुन्छ । त्यसैले प्राकृतिक ट्रान्सफ्याट थोरै खाँदा हामीलाई त्यति असर गर्दैन तर कृत्रिम ट्रान्सफ्याट हामीले दिनभरिमा खाने फ्याटको २ प्रतिशत मात्र खानु उपयुक्त मानिन्छ ।
स्वादिलो हुने भएकोले होटल तथा रेष्टुरेन्टहरुमा ट्रान्सफ्याटयुक्त खानेकुरा बढी बिक्री हुन्छ ।ट्रान्सफ्याटयुक्त खानेकुरा बढी समय टिक्ने भएकाले यसबाट व्यावसायीहरुले बढी नाफा कमाउन सक्ने भएकाले उनीहरु ट्रान्सफ्याटयुक्त तेलको प्रयोग धेरै गर्छन् ।’

‘टन्सफ्याटले शरीरको राम्रो खाले कोलेस्ट्रोल घटाउँछ भने नराम्रो कोलेष्ट्रोल बढाउँछ । खराव खालको कोलेस्ट्रोलले धमनीको भित्री भागसाँगुरो बनाउँदै जान्छ ।यसरी ट्रान्सफ्याटले थुपारेको चिल्लोको बाहिरी पत्र फुट्छ र त्यसबाट रगत बाहिर आएर जम्ने हुनाले मुटुको धमनीलाइ टालिदिन्छ । त्यसपछि हृदयघात हुने गर्दछ । यसले प्याक्रियाजको धमनीलाई पनि अवरोध गर्छ जसका कारण मधुमेहको समस्या निम्तन्छ ।यसले मस्तिष्कभित्रको मसिनो धमनीमा पनि असर पुर्याउने र मस्तिष्कघात गराउने भएकाले ट्रान्सफ्याट धेरै पाइने बनस्पती तेल घिउमा प्रतबिन्ध लगाउनु पर्ने’ कुरामा डा प्रेम बैद्य जोड दिनु हुन्छ ।

विश्व स्वास्थ्य संगठनले सन् २०२३ सम्ममा विश्व बजारमा उपलब्ध गराइने खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत वा सो भन्दा कम बनाउने लक्ष्य तय गरेको छ । आजसम्म विश्वमा ४० भन्दा बढी मुलुकहरुले नीति, कार्यक्रम र कानुनी प्रावधान मार्फत यो लक्ष्य प्राप्त गरिसकेका छन् । नेपालमा पनि खानामा ट्रान्सफ्याट नियन्त्रण गर्ने नीति कार्यक्रम बनाउन नेपाल हार्ट फाउण्डेसनले विगत ६ महिनादेखि विभिन्न कार्यक्रमहरु मार्फत सम्बनिधत निकायहरुलाई घचघच्याउने कार्य गर्दै आएको छ । यसैको परिणाम स्वरुप हालै नेपाल सरकारले नसर्ने रोगहरु नियन्त्रणको बहुपक्षीय कार्य योजना २०२१–२५ स्वीकृत गरेको छ । उक्त प्रावधानहरु मध्ये खाद्य पदार्थहरुमा औद्योगिक ट्रान्सफ्याटको मात्रा २ प्रतिशत कायम गर्ने लक्ष्य सन् २०२३ सम्ममा लागु गर्ने लक्ष्य उल्लेख छ ।

विशेषज्ञहरुका अनुसार औद्योगिक रुपमा उत्पादन गरिएको ट्रान्सफ्याट मानिसले बनाएको अत्यन्त हानिकारक चिल्लो पदार्थ हो, यसको थोरै प्रयोगले पनि मानिसको शरीरमा हानी पुर्याउँछ । यो कोठाको सामान्य तापक्रममा जम्ने गर्छ । जस्तो चाउचाउको पाकेटमा राखिने तेल सामान्य कोठाको तापक्रममा जमेको हानिकारक चिल्लो हो । यस्तैगरी मिठाइहरु, केक आदिमा राखिने ट्रान्सफ्याटयुक्त तेल घिउ पनि सामान्य कोठाको तापक्रममा जमेको हुन्छ र कतिपय त खाँदा मुखमा समेत टाँसिने हुन्छ ।

बनस्पतीबाट आउने तेल (तोरी, सूर्यमुखी, भटमास, मकै आदि) मा हाइड्रोजन ग्यास मिसाएर हाड्रोजेनेसन गरेपछि तेल अलि बाक्लो हुन्छ । अझ धेरै हाइड्रोजन मिसाएपछि तेल जम्छ, जसलाई बनस्पती घिउ (डाल्डा) भन्ने गरिन्छ । यो घिउ निकै खराव हुन्छ । त्यसमा ट्रान्सफ्याट धेरै हुन्छ ।यसको तुलनामा प्राकृतिक श्रोतबाट प्राप्त हुने ट्रान्सफ्याटको अनुपात निकै कम हुन्छ । रातो मासुमा ५ देखि १० प्रतिशतसम्म ट्रान्सफ्याटहुन्छ भने दूध, दही, घीउ, महिमा एक दुई प्रतिशत मात्र ट्रान्सफ्याट हुन्छ ।

ट्रान्सफ्याटयुक्त तेल घिउमा बनाइएका खाना खाँदा त्यसले मानिसको मुटु, रक्त नलीहरु र मस्तिष्कमा गम्भीर असरहरु पुर्याउने गरेको र मानिसको मृत्युदर नै बढाउन थालेको अनुसन्धानबाट पाइएकोले ट्रान्सफ्याटलाई प्रतिबन्ध नै लगाउने अभियान शुरु गरिएको हो ।

हाइड्रोजन मिश्रित ट्रान्सफ्याटयुक्त तेल हतपत नविग्रिने भएकोले खाना बनाउन प्रयोग गर्दा खाना छिटै विग्रिदैन । लामो समय सुरक्षित रुपमा राख्न सकिन्छ । त्यसकारण धेरै रेष्टुराँहरु, फुटपाथे खाद्य पसल, पार्टी प्यालेस, होटलहरुले हाइड्रोजन मिश्रित तेल राखेर परिकारहरु तयार गर्छन् ।यस्तैगरी तयारी खानाहरु जस्तोः विस्कुट, कुकिज, केक, पफ, दुनोट, विस्कुट, रोलहरु, दालमोठ, चाउचाउ, आलु चिप्स, चिज बल, पाइ, फ्रेन्च फ्राई, बर्गर, चाउमिन माइक्रोओभनमा बनाइएको पपकर्न, फ्रोजन पिजालगायत तारेका अन्य भेज परिकारहरु, तारेको चिकेन, मटन, कफिमा राखिने तयारी क्रिम आदिमा पनि प्रसस्त मात्रामा ट्रान्सफ्याटयुक्त तेल राखिएको हुन्छ ।


हाइड्रोजेनेरेसन नगरेको शुद्ध तेल पनि एक पटक मात्र तताएर प्रयोग गर्दा मात्र सुरक्षित हुन्छ । पटक पटक तताएर प्रयोग गर्नु हुँदैन । तेल धेरै डढाएर खाना पकाउँदा पनि ट्रान्सफ्याट बृद्धि हुन्छ । तेल जति पटक ततायो त्यति नै त्यो तेल ट्रान्सफ्याटमा परिवर्तन हुँदै जाने भएकाले यसलाई पनि अति खराव चिल्लोको रुपमा लिइन्छ ।

‘अहिले स्कुले उमेरका केटाकेटीलाई जंक फूड खुवाउने गरिन्छ । धेरै जंकफूड खाने बालबालिकाहरु युवा अवस्था हुँदा समस्या भई हृदयघात हुनसक्छ र कतिपयको मृत्यु नै हुन्छ । ट्रान्सफ्याटले कोलेस्ट्रोलमा तुरुन्तै समस्या ल्याउने होइन, ट्रान्सफ्याट खाएको लामो समय पछि असर देखिने भएकोले गर्दा पनि ट्रान्सफ्याटयुक्त तेल घिउ वा यस्तो तेल घिउमा तयार गरिएका खाना खान खुवाउन नहुने’ कुरा डा बरिष्ठ मुटु रोग विशेषज्ञ डा प्रेम राज बैद्य बताउनु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्