हिरो समयले नै बनाउने रहेछ



  • पेशल आचार्य

‘हजार जनता मूर्ख भए पनि देशलाई खास असर पर्दैन तर एक नेता मूर्ख भए देश डुबाउँछ ।’ संसारकै महान् प्रजातन्त्रवादी नेता अब्राहम लिङ्कनको यो गौरवपूर्ण भनाइ यतिखेर नेपाली राजनीतिमा व्यङ्ग्यात्मक तबरले अति नै सान्दर्भिक देखिन्छ ।

नेपाली समाजमा यतिखेर अनेकानेक कोलाहलहरू छरपष्ट छन्, जसको समस्या परिपूर्तिका लागि नेपालका कोही नेताहरू पनि सिरियस्ली लागेका देखिँदैनन् । सबै साना–ठूला नेताहरूको मायावी चाल जनताका सामुन्ने अब भने आइसकेको छ । मुखका मुखुण्डाहरू फुस्किसकेका छन् । हिजो आदर्श र राष्ट्रवादी नेता भनेर समग्र देश र नागरिकहरूले परमपूज्य सम्मानित स्थान दिलाएकाहरूसमेत यतिखेर भए÷गरेका वस्त्रादिहरू खोलेर सर्वाङ्ग दिगम्बर देखिए । नेपाली नेताहरूका शिरदेखि पाउसम्म यतिखेर कुनै धरो लुगासमेत देखिँदैनन् ।

समय बडो अचम्मले अघि बढिरहेको छ । विगतमा ठूलो भुक्तमान पाएर देश र जनताका लागि बलिदान गर्ने नेताहरू नै यतिखेर जनताका नजरमा गिरेका छन् । जीवनभर गरेको राजनीति क्षणभरमा खरानी भैरहेको देखिन्छ । तैपनि आफू संलग्न भएका पार्टी नेताहरूलाई देवत्वकरण गर्ने र विपक्षी दलका नेताहरूलाई दानवीकरण गरेर चित्रण गर्ने कुप्रवृत्तिले देशलाई क्रमशः दुई भागमा विभाजन गरेको छ । आयात बढेको बढ्यै छ, निर्यात वृद्धि गर्ने कुनै सिर्जनात्मक सोच पाँच वर्षसम्म कुनै पार्टीले उब्जाउन सकेनन् । एमाले र नेकपा माओवादी केन्द्रको ‘लिभिङ टुगेदर’ चाँडै ‘लभ’ मा परिणत त भयो तर लामो समय घरजम हुन सकेन । फलतः दुवैले दुवैलाई दुत्कारेर बाहिर निस्केका छन् । यो अल्पसमयको फाइदा कांग्रेसलाई भएजस्तो मात्र भएको छ तर कसै–कसैले यसलाई पिसाबको न्यानोसम्म भनेका छन् ।

वर्तमान समयमा नेपाली कांग्रेसले सर्वत्र आलोचना भैरहेको एमसीसीलाई उसकै नेतृत्वमा पारित गर्न सफल भयो भने उसले त्यसको मूल्य आउँदा तीनवटै तहका चुनावहरूमा चुकाउनुपर्नेछ । यो कुरा उसका शीर्षस्थ, मध्यम हाँचका नेता, कार्यकर्ता र समर्थक सबैलाई भलिभाँती थाहा छ । समय र परिस्थितिले कांग्रेसलाई यतिखेर रुन्चे हाँसो भाग लगाइदिएको छ । ऊ त्यही रुन्चे हाँसोलाई हिन्दी उखान ‘भाग्ता भूतका लगौंटा ही सही’ भनेझैँ स्वीकारिरहेको छ । उसले त्यो नस्वीकार्ने विकल्पहरू पनि त उसका अघि सुविधामा उपलब्ध छैनन् ।

सानातिना कोलाहलहरूका माझमा अहिले राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमै दीर्घकालीन असर गर्ने खालको कोलाहल शुरु भएको छ । त्यो कोलाहल एमसीसी सम्झौताका बारेमा हो । यसमा पूरै देश नै विभाजित भएको देखिएको छ । जसले यसको समर्थन गरेका छन् तिनीहरू एमसीसीबारे एक शब्द विरोधमा बोल्न चाहँदैनन् अनि जो–जसले यसबारे विरोध गरे तिनीहरू यसका पक्षमा एक अक्षर बोल्न पनि महापाप सम्झन्छन् ।

त्यसो त थाहा नभएको कुरो होइन । गरिब मानिस र देश हुनु आफैँमा अभिषाप हो । यसो भनेर कुनै व्यक्ति वा देश त्यसको शुरुआतदेखि नै गरिब र आजीवन गरिब नै भएर रहिरहन सक्दैन । अझ व्यक्तिले त उसको सीप, योग्यता र चेतनाको वृद्धि गर्न चाह्यो भने ऊ हरेक पाँच–दश वर्षमा प्रगति गरेर कहाँबाट कहाँ पुग्छ ? विश्व नै एउटा सानो गाउँ बनेका बेला समय अनुसारको विधि, प्रविधि, ज्ञान, सीप र कौशलले हरेक व्यक्तिको परिचय, पहिचान र अवस्थामा आनका तान फरक आउँछ । यो कुरा संसारका प्रसिद्ध भएका देशहरूको इतिहास र प्रसिद्ध भएका व्यक्तिहरूको इतिहासलाई सूक्ष्म विश्लेषण गरेका खण्डमा भलिभाँती थाहा पाउन सकिन्छ ।

नेपालमा अहिले एमसीसी सम्झौताका सबालमा पूरै देश नै विभाजन भएर पक्ष विपक्षमा लागेको देखियो । यस्तो खालको बापवैरी साँध्ने खाले गालीगलौज, पाँडे गाली, फोहोरी खेल र हिलो छ्यापाछ्याप हिजोका कुनै सन्धि, सम्झौता या समझदारीमा देखिएको थिएन । अहिले देशभित्रै रेडियो, टेलिभिजन, छापा पत्रिका, यु ट्युब टेलिभिजन र अनलाइन पत्रिकामा समेत दोहोरी नदेखिएको ठाउँ छैन । यो हाम्रो स्वार्थी प्रवृत्ति र जुनसुकै कुरालाई विरोध गरिहाल्ने नकारात्मक सोचका कारण भएको हो ।

खैर ! आजको मीमांशाको उद्देश्य एमसीसीबारे रौं चिरा गर्ने होइन । मात्र यो सन्धिभन्दा अघि र पास भएर लागू भयो भने पछिको युगलाई समष्टिमा तुलना मात्र गर्न खोजिएको हो । कुनै अनलाइन टेलिभिजनमा वरिष्ठ पत्रकार प्रेम कैदी वर्तमान गठबन्धनका नेता तथा नेपाली कांग्रेसका सभापतिलाई सत्तो सराप गर्दै थिए । पूरै वार्ताभरि उनले गाली मात्र गरे तर विचारको कुनै चुरो दिन भने सकेनन् । यो स्तरको गालीलाई अहिले नागरिकलाई उत्तेजित गराउन त काम लाग्ला तर भोलि आउने कुनै चुनावमा तिनै भिडियो क्लिपहरू फेरि फेसबुकका भित्ताभरि रँगेलेर विरोधी खेमालाई रेडिमेड तथानाम गाली गर्न काम लाग्ने त्यस्ता सामग्रीहरूको कुनै तुक रहने छैन ।

खासमा ‘ले म्यान’ स्तरका नागरिकलाई यो एमसीसी पास भए नि के, नभए नि के ? अझ खस्रो शब्दमा भन्ने हो भने ‘बाल मतलब’ भन्दै छ ठूलो गरिखाने तप्का ! कुशल व्यवस्थापक कुलमान घिसिङ, विश्वविश्यात नेत्र चिकित्सक डा. सन्दुक रुइत, सामाजिक अभियन्ता अनुराधा कोइराला, आविष्कारक महावीर पुन, चिकित्सक डा. गोविन्द केसी, कानुन व्यवसायी डा. भीमार्जुन आचार्य र प्रविधिविज्ञ डा. सूर्यराज आचार्यजस्ता नेपालीहरू खासमा वर्तमान समयका हिरो हुन् ।

हामी जुन–जुन एक–एकवटा राजनीतिक पार्टीहरूमा सिका लागेका छौं, त्यो पार्टीको प्रशंसा नगरी हामीलाई खाएको पच्दैन । आची पनि आउँदैन, हो त्यो पार्टीका प्रमुख व्यक्तिहरूलाई हिरो नमानेर आजैबाट हामीले हिरो भन्नुपर्ने व्यक्तित्वहरू फेरिइसकेका छन् ।

नयाँ पठित पुस्ता, कामकाजी नागरिक र कसैका पनि हनुमान नभएका स्वतन्त्र नागरिकहरूले यो कुरा बुझिसके । कुनै पार्टीका झोले र हनुमानहरूले मात्र तत्–तत् पार्टीहरूका बोस, सुप्रिमो र नेतालाई अझै हिरो मानेका छन् तर तिनीहरू अहिले ‘भिलेन’ बनिसकेका छन् । के अहिले तिनीहरू निम्छरा रूपमा हिरो हुने ल्याकत राख्छन् ? यो कुरा जनतालाई ‘फ्री फोराम’ मा गएर प्रश्न राख्नुपर्छ । कुनै जनता अहिलेका नेतालाई आफ्नो ‘रोल मोडल’को नेता मान्न तयार हुँदैनन् ।

अहिलेको गठबन्धन भनेकै घिउ बेचुवा र तरबार बेचुवाको पुरातन कथाजस्तो नाटक भएको छ । स्वार्थका लागि को, कतिखेर, कोसँग जोडिन र फुट्न तयार हुन्छन् ? त्यो केही थाहा छैन । यस्तो देशको आन्तरिक प्रशासन, परराष्ट्र नीति, विकासको रोडमोडेल, पचास/सय वर्षपछिको भिजन बनाउने शिक्षा, स्वास्थ्य नीति र राजनीतिक क्षेत्र सबै बएलिएका छन् । नेपाल नामको यो देशले अहिले राजनीतिक नेताहरूको असफलताको सिकार राष्ट्रिय जीवनका सबै क्षेत्रहरूमा भोगिरहेको छ । अहिलेका नेताको बहुमतको शासन सञ्चालन गर्ने शैली र अभिव्यक्ति देखिसके । अहिलेको गठबन्धनलाई त कतिपय नागरिक अगुवाहरूले समेत ‘यो गठबन्धनका नाममा ठगबन्धन’ भैसक्यो भनेर औपचारिक जीवनका हरेक क्षेत्रमा औंला ठड्याइरहेका छन् ।

रमाइलो कुरा त अहिले ‘बालकोटका राम देखाएर देउवा र दाहालले एक–अर्कालाई गलाउने, थकाउने र आत्मसमर्पण गराउने दबाब र तनावको रणनीति अख्तियार गरिरहेका छन् । देउवा दुईपटक रामको शरणागत भैसके भने दाहाल कुनै पनि बेला ऐतिहासिक छलाङ र परिस्थतिजन्य निर्णय लिन सक्ने क्षमताको दाबी गर्दै, कुम नचाउँदै धूपदीप लिएर बालकोट दरबार पुग्न सक्ने र सत्ता साझेदारीको अंश माग्ने स्थितिमा छन् । त्यसैले ओली बाको भाउ यति बेला नेपालको महँगीजस्तै चुलिएको छ ।’ सटिक राजनीतिक विश्लेषण गर्दै युवा विश्लेषक सञ्जीव कार्की लेख्छन् ।

वास्तवमा यो चित्रण अहिले भैरहेको समस्याको चुरो कुरो हो । अझ कतिपय सवालमा मधेसवादी दल, लोसपा, जसपा र अन्य खुजुरे दलमा समेत यो महारोग देखिइसकेको छ । स्वार्थलाई केन्द्रमा राखेर गरिने राजनीतिको परिणति यस्तै हुन्छ । जब–जब मुलुक, जनता र विकासलाई केन्द्रमा राखेर गरिने राजनीतिको अन्त्य हुँदै जान्छ अनि वैचारिक राजनीतिको त्यो मुलुकबाट करिब–करिब दाहसंस्कार हुन्छ । अहिले नेपालमा भएको यही हो । हिजो ओली सत्तामा भएका बेला गलत कुराहरू देखेर सडकमा आउने जनताले आज शेरबहादुर देउवाको सत्ताले गरेका यावत् गल्तीलाई मान्नुपर्छ भन्ने छैन । मात्र को कति पानीमा छ र देशलाई परेको बेला कसले असली तबरले माया गरेको छ भनी परख गर्ने मात्र हो ।

राजनीतिक विश्लेषक डम्बर खतिवडा वर्तमान परिवेशका बारेमा सटिक चित्रण गर्दै लेख्छन्–‘माओवादीको द्वैध चरित्रभित्र ठूलै ग्रयान्ड डिजाइन छ– देशलाई भूराजनीतिको भुङ्ग्रोमा जलाएर सत्ताको रोटी सेक्ने, अस्थिरताको खेलमैदानमा गन्जागोलभित्र गोल गर्ने, कहिल्यै किङ बन्न नसक्ने हीनताभाषले ग्रस्त हुने, साथै किङमेकर बन्ने कुनै सिर्जनात्मक प्रयासै नगर्ने । यो षड्यन्त्र र फोहोरी खेलको अन्त्य हुनै पर्छ । अब देशको लोकतान्त्रिक खेमाले माओवादीसँग सहकार्यको मोह त्याग्नै पर्छ । अन्यथा देश एक इन्च अघि बढ्दैन ।’

यसरी विद्वान् वर्ग अहिले सत्र कित्तामा बाँडिएका छन् । कसैसँग कसैको विचार मिल्दैन । खतिवडा वर्तमानलाई पुस्ट्याइँ गर्ने गरी अझ अघि लेख्छन्– ‘आफैँ सरकारमा बस, गाडीमा झन्डा हल्लाउँदै हिँड । आफैँ पुलिसलाई आदेश गर । आफ्नै कार्यकर्ता सडकमा उतार । आफ्नै आदेशमा आफ्नै कार्यकर्ताको टाउको फुटाउन लगाऊ । गतिलै काम गरियो भन्ने ठानेर मनमनै मख्ख पर । क्याबात नेताहरू ! यस्तो पो नेतागिरी, यस्तो पो बहादुरी !’

वास्तवमा अहिले एमाले पार्टी र नेता ओली नै नेपाली राष्ट्रिय राजनीतिको केन्द्रमा छन् । उनले हरियो झन्डा देखाएमा एमसीसी युँ पास हुन्छ, नभए चुट्कीका भरमा फेल हुन्छ । माधव नेपाल र प्रचण्डलाई घरको न घाटको बनाउनका लागि ओली बाको एउटै तीर कांग्रेससँग मिलेर एमसीसी पास गर्ने लाइनले दुई सिकार बनाउन सक्छ । त्यो हो आफ्नो नेतृत्वमा पुनः सरकारमा जाने र नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलाई सत्ताबाहिर घचेटेर तबातबा बनाइदिने । यो मानेमा शेरबहादुरसँग ओलीको गोप्य मन्त्रणासमेत भैसकेको बताइन्छ ।
अहिले बजारमा एउटा भनाइ भाइरल भैरहेको छ– ‘जता–जता ओली–टिक्स, उता–उता नेपाली पोलिटिक्स ।’ पर्खन सक्नुपर्ने रहेछ, जो–कोहीलाई हिरो समयले नै बनाउने रहेछ ।

प्रतिक्रिया दिनुहोस्