पर्यटनको रूपमा विकास गर्नुपर्ने स्की खेल



काठमाडौं ।

चौथो राष्ट्रिय स्की प्रतियोगिता २०२२ मुस्ताङमा गत साता सम्पन्न भएको छ । नेपाल स्की संघद्वारा आयोजित स्की प्रतियोगिता मुस्ताङको वारागुङ मुक्तिक्षेत्र १ मुक्तिनाथ रानीपौवामा भव्यताका साथ आयोजना भयो । यसपटक जाडोयाममा दुईपटक पानी परेको हुँदा मुस्ताङमा पनि भारी हिमपात भएको थियो । भारी हिमपातको कारण मुक्तिक्षेत्र पूरै हिउँले ढाक्यो र नेपाल स्की संघले प्रतियोगिता आयोजना गर्न ढिलाइ गरेन । किनभने कोरोनाले गर्दा २०१७ देखि आयोजना भएको प्रतियोगितामा दुई वर्ष विश्राम लागेको थियो । तर, यसपटक मुक्तिनाथको सेताम्मे हिउँमा स्कीइरहरूलाई ४ दिन तालिम गराएर फागुन ३ गते प्रतिस्पर्धामा सामेल गरायो ।

काठमाडौं, ललितपुर, रसुवा, मुस्ताङ, दोलखाबाट गरी ३१ खेलाडीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा अल्पाइन स्की पुरुषतर्फ काठमाडौंका साहसराम श्रेष्ठ पहिलो हुनुभयो । दोस्रो स्थानमा धनगढीका दिनेश कुमार बोहरा र तेस्रो स्थानमा सोलुखुम्बुका छिरिङ तेन्जिङ गुरुङ रहनुभए । साहस पछिल्लो संस्करणका विजेता पनि हुनुहुन्छ । यस्तै, महिला विधामा नुवाकोटकी संगीता लामा पहिलो स्थानमा आउनुभयो । ललितपुरकी देबोटा तिमल्सिना र धनकुटाकी लक्ष्मी राई क्रमशः दोस्रो र तेस्रो स्थानमा रहनुभयो ।

नेपालीहरू हिउँमा रमाउन चाहन्छन् । विशेषगरी जाडो याममा हिउँ नहुने जिल्लाका बासिन्दाहरू हिउँको प्रतीक्षामा हुन्छन् । कहिले पानी पर्ला र हिउँमा खेलौं भन्ने भावना भइरहेको हुन्छ । तर, यसपटक प्रकृतिले धेरै नै कृपा पनि गरिदियो । यस सिजनको जाडोमा दुईपटक पानी परेर नेपालीहरूको हिउँमा धित मारेर खेल्ने चाहना पूरा गरिदिएको छ । पानी रोकेपछि चन्द्रागिरि, फुल्चोकी, दामन जस्ता ठाउँमा हिउँ खेल्नेको घुइँचो पनि लाग्यो । तर, मुस्ताङ, रसुवा, मनाङजस्ता ठाउँ भने हिउँकै हुन् । त्यहाँ पनि दुईपटकको वर्षाले हिउँ बाक्लै भयो । बाक्लो हिउँ भएपछि हिउँमा प्रतियोगिता गर्न सजिलो पनि भएको छ ।

नेपालमा स्की प्रतियोगिता खेलको रूपमा मात्रै सीमित भइरहेको अवस्था छ । यो खेल नेपालमा छायामै परेको अवस्था छ । नेपालमा फुटबल, क्रिकेटबाहेक कुनै खेल नभएको जस्तो हुन्छ । अहिले स्की प्रतियोगिता भयो, तर, यसको चर्चा केही मिडियाले मात्रै कभरेज गरेको छ । त्यसो त यो खेल अहिले विस्तारै सबैको नजरमा परिरहेको छ । नेपालमा हिमाल धेरै छन् तापनि स्कीलाई पर्यटनको हिसाबले विकास गर्न सकिरहेको छैन । सबैको लागि लाभ गराउन स्की प्रतियोगितालाई ग्लोबल गर्न आवश्यक भइसकेको छ, यो समयको माग पनि हो । नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठले पनि यस खेललाई पर्यटन हिसाबले विकास गर्न सकिने बताउनुभयो ।

श्रेष्ठले नेपाल समाचारपत्रलाई भन्नुभयो—‘नेपालमा हिमाल छन्, धेरै अल्टिच्युट छन् । हिउँको धनी जिल्ला मुस्ताङमा विन्टर खेलको रुपमा स्की प्रतियोगिता गरेको यो तेस्रो पटक हो । मुक्तिक्षेत्रमा प्रतियोगिता आयोजना गर्न हामीले गाउँलेको सहयोग पनि लियौं ।’ प्रतियोगिता आयोजना गरेर त्यहाँका होटल व्यवसायीहरू पनि उत्साहित भएका छन् । यसलाई पर्यटन हिसाबले विकास गर्न पाए अझ राम्रो हुन्छ भन्ने उनीहरुको धारणा भइसकेको छ । यो अहिले विस्तारै सबैको दृष्टिमा पर्दैछ, तापनि यो छायाँमा परेको हो कि जस्तो पनि लाग्छ । अहिले लौ है नेपालमा फुटबल, क्रिकेट, भलिबल मात्रै होइन कि स्कीको पनि स्कोप छ भन्नेहरू देखिएको पनि छ । यसले पनि स्की खेलप्रति उत्साह बढिरहेको छ ।

नेपालमा हिउँको कमी छैन, मुस्ताङ, मनाङ, रसुवा जस्ता स्थानले ढपक्क हिउँ ढाकिएर् सबैलाई निकै मनमोहक बनाइरहेको पनि छ । यसमा स्की संघले अझ प्रतियोगिता आयोजना गरेर हिउँको सदुपयोग गरेको छ । श्रेष्ठ भन्नुहुन्छ—स्की प्रतियोगिताले नेपालीहरूलाई मात्र होइन की बाह्य पर्यटकलाई समेत आकर्षित गराउँछ । यसले नेपालको पर्यटन व्यवसाय पनि फस्टाउँछ र नेपालको अर्थतन्त्र पनि बलियो हुन्छ । भविष्यमा नेपाली खेलाडीले पनि विन्टर ओलम्पिक जस्ता ठूल्ठूला प्रतियोगितामा सहभागिता जनाउन अवसर मिल्नेछ । यसले नेपालको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक चर्चित हुन पनि मद्दत पुर्याउनेछ ।

प्रतियोगितालाई अफ सिजनमा आयोजना गर्न केही भौतिक पूर्वाधारको पनि आवश्यक भएको पनि श्रेष्ठले बताउनुभयो । उहाँले बताउनुभयो—‘हामीले प्रतियोगिता आयोजना गर्दा सबैभन्दा कठिन भनेको तल गएपछि माथि आउन कठिन हुन्छ । हिउँको स्लोप हुनुपर्यो । फेरि हिउँ कम्तीमा २ फिटको हुनुपर्यो । हामीले कमसेकम अफसिजनमा पनि प्रतियोगिता आयोजना गरेर विदेशी पर्यटक भित्र्याउन सकिन्छ । यसको लागि संघ एक्लैले सकिँदैन, हिउँ छ्यापिने मसिन चाहियो, लिफ्ट चाहियो, अर्को त्यहाँ केवल कार बनाउन सकेमा मेरो विचारमा विदेशी पर्यटकहरू नेपालमा अफ सिजनमा ओइरिनेछन् ।’

श्रेष्ठले थप्नुभयो—‘यसको लागि सरकारले लगानी गर्नु आवश्यक छ । मेसीन भयो भने हिमपात हुन्छ भनेर पनि कुर्नु पर्दैन । कृत्रिम हिउँ निकाल्न सकिन्छ । यसले नेपालमा ठुल्ठूला देशका खेलाडीसमेत आउन सकिन्छ । यसले के हुन्छ भने अफ सिजनमा समेत हामीले आय आर्जन गर्न सकिन्छ, होटल व्यवसायी, गाउँका व्यवसायीलाई अफ सिजन हो भनेर पनि चुप लागेर बस्नुपर्ने अवस्था पनि आउँदैन । उनीहरू पनि व्यस्त हुनेछ, यसले सरकारको राजश्व पनि बढ्नेछ, विदेशी मुद्रा पनि आउनेछ, यो राष्ट्रलाई नै फाइदा हुने प्रतियोगिता हो । हामीले यसका लागि केन्द्रीय सरकार, प्रदेश सरकारसँग पनि पहल गरिरहेका छौं ।

स्की खेलमा अल्पाइन, क्रस कन्ट्री, स्नो बोर्डिङ इभेन्टमा प्रतिस्पर्धा गराइन्छ । यो तीनै विधामा नेपालमा प्रतिस्पर्धा गराएको छ र विशेषगरी जाडोयाममा खेलिने खेल हो । यो खेललाई फराकिलो बनाउन नेपाल स्की संघको योजना छ । यसको ट्रेनिङको लागि नेपाल स्की संघले खेलाडीलाई विदेशमा पनि पठाएको छ । विभिन्न देशमा हुने प्रतियोगितमा नेपाली स्की खेलाडीले सहभागिता पनि जनाएका छन् । आगामी लेबनानमा हुने एसियन च्याम्पियनसिपमा भाग लिन चार नेपाली खेलाडी जाँदै छन् । यो अवसर हो, जति प्रतियोगिता हुन्छन्, त्यति नै खेलाडीले अनुभव बटुल्नेछन् र उनीहरूको मनोबल पनि बढ्नेछ । स्की खेलाडीको भविष्य उज्ज्वल नै छ ।

प्रतिक्रिया दिनुहोस्