रोकियो ‘लिपेलेक’ चक्रीय पदमार्ग निर्माणकार्य



लमजुङ ।

पर्याप्त बजेट नहुँदा पूर्वी लमजुङको ‘लिपेलेक’ चक्रीय पदमार्ग निर्माण कार्य रोकिएको छ । लमजुङको दोर्दी र दूधपोखरी गाउँपालिकाका विभिन्न क्षेत्रलाई समेटेर चक्रीय पदमार्ग निर्माण शुरू गरिएको थियो ।

तीन वर्षअघि शुरु भएको लिपेलेक चक्रीय पदमार्गको ट्रयाक निर्माण कार्य यस वर्ष सक्ने लक्ष्य राखिए पनि बजेट अभावका कारण काम रोकिएको हो । उक्त पदमार्ग प्रवद्र्धनका निम्ति गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा १५ लाख रुपियाँ बजेट उपलब्ध गराएको थियो । सोही बजेटबाट पदमार्गअन्तर्गत ट्रयाक खोल्ने काम शुरु भएको हो । आर्थिक वर्ष ०७६/७७ मा पुनः ४० लाख रुपियाँ विनियोजन गरेको थियो । उक्त रकममध्ये ५ लाख रुपियाँ डीपीआरका लागि खर्च भएको र अन्य रकम पदमार्ग निर्माणका लागि खर्च भएको तत्कालीन पदमार्ग निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो । फरक–फरक स्थानका नागरिकले उपभोक्ता समिति गठन गरी काम शुरु गरेको उहाँले जनाउनुभयो । उपभोक्ता समितिले ४० लाख बजेटमध्ये १५ लाख रुपियाँको लागतमा इलमपोखरीदेखि दोर्दी र दूधपोखरी सिमानामा पर्ने च्यार्नेसम्म करिव चार किमि पदमार्ग निर्माण गरेको थियो । दोर्दीको कामचोकबाट बासबोट भञ्ज्याङसम्म १ हजार ७० मिटर नयाँ ट्रयाक खोलिएको छ ।

सोही बजेटबाट दोर्दीको दाम्राङदेखि मश्रुसम्म १ हजार ७ सय ५० मिटर पदमार्ग निर्माण भएको छ भने सोही वर्ष पुनः १५ लाख रुपियाँ बजेट थप भएर आए पनि दोर्दीको बासबोट भञ्ज्याङदेखि पाण्डे गढीसम्म १ हजार २ सय मिटर पदमार्ग थप निर्माण भएको अधिकारीले बताउनुभयो । आर्थिक वर्ष ०७७/७८ मापदमार्ग निर्माणका लागि प्रदेश सरकारले थप २० लाख रुपियाँ उपलब्ध गराएको थियो । सोही रकमबाट दोर्दीको मश्रुदेखि धौथलीसम्म १ हजार ५ सय मिटर पदमार्ग निर्माण भएको उहाँको भनाइ छ ।

लिपेलेकसहित अन्य पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्नका निम्ति चक्रीय पदमार्ग निर्माण शुरु भएको थियो । करिब २२ किलोमिटर पदमार्गअन्तर्गत केही ठाउँमा यसअघि नै सडक ट्रयाक रहेको र केही नयाँ ट्रयाक खोलिएकाले अब करिब ३ किलोमिटर मात्रै पदमार्ग निर्माण गर्न बाँकी रहेको अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार दोर्दीको नौथर शेराबाट शुरु गरिएको सो चक्रीय पदमार्ग दोर्दीकै श्रीभञ्ज्याङ, दूधपोखरीको ओखरी, गौडा, जोर्ने, इलमपोखरी हुँदै पुनः दूधपोखरीकै गौथली, टउ, रप्रो, दाम्राङ हुँदै नौथर शेरामा टुंगिने छ ।

लिपेलेकसहितको सो क्षेत्र धार्मिक, ऐतिहासिक र प्राकृतिक रूपमा निकै सुन्दर भएकाले स्वदेशी तथा विदेशी आकर्षित हुने प्रवद्र्धकहरुको विश्वास छ । सडक पहुँचका कारण ओझेल पर्दै गएको अन्नपूर्ण पदमार्गको विकल्पका रूपमा उक्त पदमार्गलाई प्रवद्र्धन गर्न सके निकट भविष्यमा पर्यटक भित्राउन सकिने पर्यटन व्यवसायीहरुको भनाइ छ । पूर्वी लमजुङको उत्तरमा पर्ने लिपेलेक पदमार्गबाट ८ हजार मिटर उचाइका मनास्लु र अन्नपूर्ण हिमाल नजिकबाट हेर्न सकिनेछ । सोबाहेक पहाड तथा तराईका विभिन्न रमणीय दृश्य देख्न सकिन्छ । साथै, इलमपोखरी, दूधपोखरी जस्ता पवित्रधाम, बाटोमा पर्ने गुरुङ समुदायको संस्कृतिसमेत अवलोकन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्