सम्झौता फुकुवापछि भ्युटावर अन्योलमा



हेटौंडा ।

थाहा नगरपालिसँग हेटौंडाको प्रकाश होटल इन्टरनेसनल र थाहा नगरका स्थानीय भरत गोपालीले दामनको भ्युटावर सञ्चालनार्थ ५ वर्षे सम्झौता कानुनी र प्राविधिकरुपमा फुकुवा भएको छ । यसले उक्त भ्युटावर पुनःसञ्चालन झन् अन्योलमा परेको छ ।

नगर उपप्रमुख खड्ग गोपाली, वडा–४ को अध्यक्ष दीपकसिं लामा, नगरपालिका स्टोर शाखा प्रमुख सुदर्शन पहेली र स्थानीयको रोहवरमा सामग्रीको लिखत अद्यावधिक राख्ने काम सम्पन्न भएको हो । ठेकेदार पक्षले छुट्टै किनेका एलईडी टिभी, सिरक, डसना, डिपफ्रिज, भाँडाकुँडा र फ्रिज आदि सामग्री बुझिलिएका छन् भने नगरपालिका कार्यालय मातहतका सामग्री सम्बन्धित प्रशासनले बुझेको छ ।

२०७६ चैतदेखि कोरोना महामारी र विविध प्राविधिक समस्या बन्द भएको भ्युटावर हालसम्म पनि बन्द छ । २०१० सालताका निर्माण सम्पन्न भएको भ्युटावर २०७२ को भूकम्पले क्षतिग्रस्त बनाउँदा मकवानपुरको उत्तरी क्षेत्रकै पर्यटन व्यवसायमा प्रतिकूल असर परिरहेको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि नगरपालिकाले पहिलो वर्ष हेटौंडा–१० को प्रकाश होटललाई ५ वर्षका लागि ठेक्का दिएको थियो । सम्झौता अवधि पूरा नहुँदै नगरपालिका र प्रकाशबीच ठेक्का सम्झौता भंग भएको थियो ।

भ्युटावरमा दुरबिन राखिदिन नगरपालिकालाई पटक–पटक आग्रह गरिए पनि सोको बेवास्ता गर्दा दामन रिसोर्ट सञ्चालन गर्न समस्या भएको प्रकाश होटलले जिकिर गर्दै आएको छ । पछिल्ला २ वर्ष कोरोना महामारीका कारण लकडाउन हुँदा व्यवसाय चौपट भएपछि अन्ततः बक्यौता भाडा बुझाएर होटलले भ्युटावरबाट हात झिक्यो ।

भ्युटावरमा रहेको दुईवटा दुरबिनमध्ये एउटा द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले लगेपछि हाल एउटामात्र रहेको र पुरानो भएकाले धमिलो देखिने गरेको छ । नगरपालिकाले यथावस्थामा रिसोर्ट तथा भ्युटावर सञ्चालन गर्ने गरी ठेक्का आह्वान गरेको थियो । न्यूनतम ३ लाख २० हजार मूल्य कायम गरी १ वर्षका लागि रिसोर्ट तथा भ्युटावर भाडामा दिन ठेक्का आह्वान गरिएको नगर उपप्रमुख खड्ग गोपालीले जानकारी दिनुभयो ।

दामन भ्युटावर लामो समय केन्द्रीय सरकार मातहत रहेकोमा पछिल्लो समय तत्कालीन जिल्ला विकास समिति हुँदै नगरपालिकामातहत आएको हो । २०७२ वैशाख १२ को भुकम्पपश्चात् भ्युटावर र रिसोर्ट पूर्णरूपमा बन्द थियो । भ्युटावर सञ्चालनमा नआएकाले दामन पुग्ने आन्तरिक एवं बाह्य पर्यटकमा पनि कमी आएको थियो ।

दामनको गहना र पर्यटकीय गन्तव्यका रूपमा रहेको भ्युटावर चढ्न र त्यहाँ रहेको रेस्टुरेन्टमा बसेर खानपिन गर्न निकै जोखिमपूर्ण देखिएपछि ताला लगाएर राखिएको थियो । करिब ४० फिट अग्लो भ्युटावर जगदेखि नै चर्किएर कोल्टे परेका कारण चढ्न र बस्न जोखिम छ ।

समुद्री सतहबाट करिब २ हजार ३ सय २२ मिटरको चिसो क्षेत्रमा स्थापित भ्युटावर चढेर त्यहाँको टेलिस्कोपबाट नेपालका अग्ला १५ वटा हिमशृंखला हेर्न दिनहुँ कम्तीमा १ सय ५० जना पुग्ने गर्दथे । शुक्रबार र शनिबार पर्यटकको संख्या बढेर कम्तीमा ७ सय पुग्ने गरेको नगर प्रमुख लवशेर विष्टले स्मरण गर्नुभयो ।

पर्यटन मन्त्रालयमातहतको भ्युटावर सञ्चालनको जिम्मा मकवानपुर जिविसले बिष्टलाई दिएको थियो । उहाँले वार्षिक ५ लाख १० हजार रुपियाँ भाडा तिर्ने गरी भ्युटावर र रेष्टुराँ सञ्चालनको जिम्मा लिनुभएको थियो ।

विभिन्न संघ–संस्थामार्फत सञ्चालन गरिएको भ्युटावर र रेस्टुरेन्टको भौतिक विकासका लागि स्थानीय निकाय र व्यवसायीहरुले प्रशस्त लगानी गरिसकेका छन् । काठमाडौंबाट साढे दुई घण्टा र हेटौंडाबाट दुई घण्टामा पुग्न सकिने भ्युटावर मकवानपुर जिविसले आफ्नै नेतृत्वमा केही समय चलाएर विष्टको समूहलाई ५ वर्षका निमित्त भाडामा सञ्चालन अनुमति दिएको हो ।

रिसोर्टमा एक रातमा कम्तीमा ७० जनालाई आवास सुविधा, खाना र क्याम्प फाइरिङको सुविधा प्रदान गर्न सक्ने क्षमता छ । भ्युटावरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सरकारले २०६५ मंसिरदेखि जिविसलाई दिएको थियो । उक्त क्षेत्रमा साधारण तर मूल्यवान खपटे कीरासम्बन्धी अध्ययन गर्न सहज हुने हेतुले पुस्तकालय स्थापनाको लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्