राप्रपा अधिवेशनको नतिजाले सिकाएको पाठ



  • केशव अधिकारी

आखिर राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशन सम्पन्न भएर नयाँ नेतृत्व छानिएकोमा राप्रपा राजनीतिक दलप्रति आस्था नहुनेहरुले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् । राप्रपाका पूर्वअध्यक्ष कमल थापाको पार्टी अध्यक्षको स्थानमा कमल थापाभन्दा उमेरले निकै कलिला वा युवा नेता राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

यतिन्जेल कमल थापाले राप्रपाको नेतृत्व सम्हालेका भए पनि खासै दृष्टिकोणका साथ आफ्नो राजनीतिक दललाई बलियो र ठूलो बनाउने काम गर्न भने सकेनन् । कमल थापाको नेतृत्वको राप्रपाको काम भनेको अरु ठूला राजनीतिक दलको नेतृत्वमा बनेको सरकारका विभिन्न मन्त्रालयमा मन्त्री बनेर जागिर खाने र चुल्ढुङ्गो पु¥याउने काममा लागेका अवसरवादको उपयोग गर्नु थियो । कमल थापा नेतत्वको राप्रपाको मुख्य उद्देश्य भनेको नेपाललाई हिन्दू धर्म मान्ने देशको रुपमा स्थापित गर्ने र हटिसकेको राजतन्त्रलाई पुनःस्थापित गराउँदै, राजतन्त्रको तलुवा चाट्दै र मोटाउँदै गर्नु थियो । यस्ता कुरामा सो पार्टी अभ्यस्त भइसकेको थियो भन्दा फरक नपर्ला ।

राजतन्त्रको दरिलो र हत्तपत्त नढल्ने छहारीमा आनन्दले मोटाउने अनि पोसिने बानीमा अभ्यस्त भइसकेका राप्रपाका पूर्वअध्यक्ष कमल थापालाई यसपटकको अधिवेशनबाटै त्यो प्यारो कुर्सी छोड्नुपर्ला कि भन्ने कुराको अलिकति पनि मानसिक आभास थिएन होला । राजतन्त्रको बलियो छहारीमा रहेको र बेलाबेलामा पूर्वराजाको गुणगान गाएर पूर्वराजालाई रिझाउन सक्ने कमल थापाले अन्ततः आफू चुनावमा हारिसकेपछि घुमाउरो पारामा निर्मल निवासलगायत पूर्वराजालाई समेत आफूलाई हराउन सेटिङ मिलाएको आरोप लगाएर आक्रोश पोखे ।

पूर्वराजाकै सेटिङमा हसुर्न पाउन्जेल गुणगान गाएर नथाक्ने विचरा कमल थापालाई आज राजेन्द्र लिङदेनले चुनावमा पछार्दा धेरै नै पीडाको महसुस भएको थियो भनेर अनुमान गर्न सकिन्छ ।अधिवेशन र चुनावमा हार बेहोरेका कमल थापालाई आफूले हार्नुपर्दाको क्षणमा रिस उठ्नु स्वाभाविक नै थियो । यतिका वर्षदेखि गुणगान गाउँदै आएका व्यक्तिले नै विश्वासघात गरेपछि रिस नउठ्ने कुरो पनि भएन । तर यतिका वर्षसम्म राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने र एउटा जिउँदो राजनीतिक दलको अध्यक्ष भएर पनि न त्यो पार्टीलाई लाखौँ कार्यकर्ता र हजारौँ नेतागणको पार्टी बनाएर आफ्नै नेतृत्वमा सरकारमा जान सक्ने अवस्थामा पु-याए, न त राजतन्त्रको अन्त्य हुनबाट जोगाउनको लागि कुनै पुरुषार्थ नै गर्न सके ।

कमल थापाका यी कमजोर पक्ष पूर्वराजाका मनका विष्मयका चिह्न बन्न पुगे । केवल आफ्नो नाम भजाएर लाज न सरम खान मात्रै खोज्ने ? भन्ने एउटा डाह स्वभावको विचारले काम गरेकाले तदनुसारकै कार्यशैलीले गर्दा कमल थापा अधिवेशनको चुनावमा पराजित बन्न पुगे ।साँच्चै भन्ने हो भने यो देश नेपालले एउटा शक्तिशाली र सक्षम नेतृत्वको खोजी गरिरहेको छ । २०५२ सालतिर बाबुराम भट्टराई, प्रचण्ड आदिले विद्रोहको विगुल बजाउँदै गर्दाको समयमा त्यो अपेक्षा गरेको नेतृत्व पाइन्छ कि भनेर केही मात्रामा भए पनि आश्वस्त भएका थियौँ हामी र हाम्रो देश नेपाल । तर विडम्बना तिनै व्यक्तिहरु नेतृत्वको उचाइसम्म उक्लँदै गर्दाको समयमा यति धेरै मात्रामा धनकोढी, स्वार्थी र औसरवादी भएर प्रकट भए कि बयान गरेर साध्य नै नहुने भयो ।

तै सुध्रन्छन् र सम्हाल्छन् कि बलियोसँग भनेर पुनः हेर्ने काम भयो । तैपनि सप्रनुको साटो अझै बिगे्रर लालसाको दलदलमा पो फस्न थालेका देखिए । अनि ती लालसीहरुलाई धेरैजसोले विश्वास नै गर्न छोडेका छन् । आम नागरिकको यो उपेक्षाका कारण उनीहरुलाई सकस भएको पनि हुन सक्छ । मनमा जे कुरो आए पनि बर्बराउन थालेका छन् । उनीहरूको यो बर्बराइ भनेको अझै उनीहरुलाई पुगेको छैन । अब पछि गएर पाइने हो कि होइन ? भन्नेजस्ता चिन्ताले उनीहरुलाई सताएको कारणले अन्टसन्ट बर्बराएका हुन् । उनीहरुको व्यर्थको बर्बराहटसँग राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाको बर्बराहट ठ्याकै मिल्न पुगेको छ । यतिन्जेलसम्मको निर्धक्कको जागिर, पेन्सन, भत्ता सबै चौपट भएपछि आक्रोश नपोखेर के गरुन् बिचरा ?

पूर्वराजा ज्ञानेन्द्र शाहले कमल थापाजस्ता औसरवादी र राजतन्त्रको भजन गाउने तर मनभित्र कालो दाग बोकेका धेरै व्यक्तिको नाडी पहिले नै छामिसकेका थिए । राजतन्त्र अन्त्य भएका यतिका वर्षभरिमा शीतल निवासको छहारीमा राम्रै आश्रय पाएर रमाउनेजति सबैका नाडी छाम्न भ्याए । कमल थापाजस्ता भजनेहरुले अबका दिनमा भाषणभन्दा बाहेकका भर पर्दा काम एउटा पनि गर्न सक्दैनन् भन्ने उनको विश्वासले काम गरेको देखिन्छ । यो काम गराइले कमल थापालाई वर्षौँदेखि अटुटरुपमा बस्दै आएको कुर्सीबाट हुत्याउने काम ग-यो । यतिका धेरै वर्षसम्म राजनीतिमा लागेका र परिपक्वता हासिल गरेका नेता भनिएका कमल थापा आम मानिसले सोचेको जस्तो परिपक्वताको उचाइमा पुग्न नसकेका र धरातलकै भौतिक रमझममा हराइरहेका वा मुग्ध भइरहेका रहेछन् । अहिले आएर चुनाव आफ्नो पक्षमा नभएपछि उनलाई लागेको सय वाटको बिजुलीको झड्काले रन्थनाएपछि धारे हात लाएर निर्मल निवास र अन्य सबैजसोलाई आरोप लगाउन थालेका छन् ।

उनको घुर्की पनि सुन्न र अरुले मनन गर्नलायकको छ । उनले यतिन्जेल निर्मल निवासलाई बोकेको बोकेकै गरे अरे । अब उनी त्यसरी बोक्न सक्ने अवस्थामा छैनन् र बोक्न चाहँदैनन् पनि अरे । बिचरा कमल थापाले पिठ्युँ नथाप्दै शीतल निवासको बिजोग होला त ?भर्खरै सम्पन्न भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अधिवेशनले निवर्तमान अध्यक्ष कमल थापालाई हराएर राजेन्द्र लिङदेनलाई विजयी बनाउनुका पछाडि आजको मानव पुस्ताले पुरानो व्यवस्थालाई आफलेर नवसिर्जनाको बीजारोपण गर्न खोजेको हो भन्ने कुराको सङ्केत गरेको छ । यदि यो सङ्केत केवल सङ्केत मात्र नबनेर सार्थक रुपधारण गर्न सक्ने अवस्थासम्म दौडन सकेको खण्डमा आम नेपाली जनताले हृदयदेखि चाहेको मान्यता नै यही हो भन्दा हुन्छ ।

कुनै पनि खालको शासन व्यवस्थामा लामो समयसम्म कसैले एकाधिकार जमायो भने उक्त व्यक्ति वा समूह स्वयंमै तानाशाह बन्न पुग्छ । यस अर्थको आधारमा हेर्ने हो भने राप्रपाका निवर्तमान अध्यक्ष कमल थापा पनि स्वयंमा तानाशाह नै बनिसकेका थिए भनेर कुरा भएको सुनिन्छ । आखिर जे भयो राम्रै भयो भनेजस्तै निवर्तमान अध्यक्ष कमल थापाको स्थानमा राजेन्द्र लिङदेन विजयी बनेर आएको कुरा आफैँमा सकारात्मक सन्देश फैलाउने विषय हो भनेर ठान्न जो–कोहीलाई कर लाग्छ ।

राप्रपामा जस्तै नेपाली काङ्गे्रस, नेकपा एमाले, अर्को समाजवादी पार्टी जुनसुकैमा पनि उमेरले डाँडो कटिसकेका नेताहरुको बाहुल्यता र हालिमुहाली भएको पाइन्छ । वृद्धहरुको यो हालिमुहाली हेर्दा बूढो गोरुले लघारिएको गाई ओगटेर राखेको जस्तो लाग्छ । बूढो पुस्ताको पञ्जाबाट नफुत्केसम्म युवावर्गको हातमा पर्ला कि भन्ने विश्वास शून्य प्रतिशत मात्र रहेको छ । युवापुस्तालाई समेत चक्रव्यूहमा फसाएर सधैँ तिनै अक्षम र असिर्जनशील वृद्ध पुस्ता रङ्गमञ्चमा देखा परिरहेको यो अवस्थामा हाम्रा युवा पुस्ताका दिमागभर वृद्ध पुस्ताप्रतिको आदर र सत्कार क्रमशः स्खलित बन्दै जान थालेको छ ।

उनीहरु आदरणीय र फुर्सदिला सल्लाहकार बन्नुको साटो सधैँभरि सत्ता र पदकै लोलुपतामा डुबेर रमाउन चाहेका जस्ता प्रवृत्ति देखाउँदै छन् । उनीहरुको यो नकारात्मक दृष्टिकोणका कारण उनीहरु वर्तमान युवा पुस्ताको नजरबाट नैतिकरुपमा दैनिकजसो स्खलित बन्दै गएका छन् । केही सचेत युवाले उनीहरुलाई सचेत गराउँदासमेत उनीहरु आफ्नै एकोहोरो ढिपीमा लागेका र आफूलाई अर्ति दिने युवालाई अनेक थरीका उपनामले पुकार्नेजस्ता साँघुरा विषयभित्रको सीमित घेरोमा बाँधिन पुग्दै छन् ।

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले आफू अधिवेशनको चुनावमा हारेपछि शीतल निवास र पूर्वराजालाई आरोप लगाएर नपत्याएजस्तो हाउभाउमा पाखा लागे भने अब नेपाली काङ्गे्रस पार्टीमा रहेका र वयोवृद्ध उमेर भएकाहरुले सम्मान स्खलित नहुँदै एउटा सम्मानजनक बिदाइको तरिका अपनाउन सके उत्तम हुने थियो ।

नेपाली काङ्ग्रेसका नेता तथा वर्तमान प्रम शेरबहादुर देउवा, नेकपा एमालेका केपी शर्मा ओलीलगायतका नेताले राजनीतिक जीवनबाट विश्राम लिएर हरेक राजनीतिक दलको साँच्चो अभिभावक बन्ने सहास गर्नै पर्ने हुन्छ । उनीहरुले कमल थापा पराजयको पढाइबाट नयाँ पाठ सिकेको खण्डमा मात्रै राप्रपामा लिङ्देनको जितले ल्याएको चेतनाले ज्ञान दिएछ भन्ने जान्न सकिन्छ ।

राप्रपा अधिवेशनले कमल थापालाई बगरतिर पाखा लगाउनुमा उनको इमानदारिताको विषयले समेत भूमिका खेलेको हुनुपर्छ भन्ने विज्ञहरुको ठम्याइ रहेको छ । आम वृद्ध र धर्मभिरु जनतालाई हाम्रो देश नेपाललाई हिन्दू धर्मावलम्बी राज्य बनाएरै छाड्नेछौँ भन्ने कसम खाएर आफूले एउटा सिन्कोसमेत नभाँच्ने उनको गैरइमानदारिताको समेत नेपाली जनताले राम्रै पारख गरेका छन् । कमल थापाको यस पराजयले उनी स्वयंलाई पनि यी विषयहरुमा राम्रै सबक सिकाएको हुनुपर्ने हो तर सबक सिकाए वा नसिकाएको कुराको पारख गर्ने भनेको आउँदा दिनमा गर्ने उनका हरेक क्रियाकलापहरुले उजागर गर्दै लैजानेछन् ।

आफू सधैँ हाकिमकै कुर्सीमा विराजमान भइरहनुपर्ने भन्ने उनको दिमागी अवधारणा अहिले आएर केवल भ्रम साबित हुन पुगेको छ । तर आउँदा दिनमा ती सम्पूर्ण भ्रम र जालझेलबाट मुक्त हुन सकेनन् भने उनको दिमागी सन्तुलन बेठेगान पनि हुन सक्छ । हिजोसम्म अरुलाई देखाउनकै लागि भए पनि काँधमा बोकेर हिँडेको निर्मल निवासलाई आजको अधिवेशन र चुनावको अप्रत्याशित परिणामले सरक्क बिसाउन पनि नपाउँदै दश हात पर हुत्याएर आफ्नो आक्रोश मत्थर बनाउन खोज्ने बिचरा कमलले ती सारा जालझेलबाट पूर्णरुपमा कसरी मुक्ति पाऊलान् र खै ? हुन त सबै झेली खेल नबुझे पनि सबैका लागि समय सधैँ एकै खालको आउने रहेनछ भन्ने कुरा मात्र मनन गर्न र त्यस मननको सहाराले थोरै भए पनि धैर्यधारणको खुराक पान गर्न सके भने समय र नियतिले खेलेको यो नाटकको खेल राम्रैसँगले बुझ्न सक्लान् कि भन्ने आशा राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्