राष्ट्रिय संवतलाई राज्यले सम्मान दिन सकेन

मीना बज्राचार्य



मीना बज्राचार्य

राष्ट्रिय विभूति शंखधर साँख्वाःले आजभन्दा करिब ११४१ वर्षअघि हाम्रो देश नेपालको नामबाट नेपालकै मौलिक संवत् स्थापना गरेर एउटा अतुलनीय योगदान गरेका थिए । नेपालमा नेपाल संवत्भन्दा पहिले चलिरहेका विभिन्न संवत्हरू जस्तै कलिगत संवत्, शक संवत्, विक्रम संवत्, तथा इश्वी संवत्मध्ये नेपाल संवत्को विशेष महत्व छ ।

ती संवत्हरू कुनै धर्मको नाममा, कुनै व्यक्तिको नाममा त कुनै जातिको नामबाट स्थापित संवत्हरू हुन् तर नेपाल संवत् देशको नाममा स्थापित छ । देशकै नाममा नेपाल संवत्को स्थापना गर्नु कुनै व्यक्तिगत स्वार्थ नभई देशभक्ति र उधार मनको उपज हो ।

यो संवत् कात्तिक शुक्ल प्रतिपदा (म्हपूजा)का दिनदेखि शुरू भएर लक्ष्मीपूजाका दिन एक वर्षसम्मको तिथि गणनाको आधारमा एक वर्ष पूरा हुन्छ । त्यसैले, हामी नेपालीहरूले त्यही दिन न्हूदँ अर्थात् नयाँ वर्षका रूपमा म्हपूजा गरेर शुभकामनाको आदानप्रदान गरी हर्षोउल्लासका साथ मनाउँदै आइरहेका छौं ।

तर, यो नयाँ वर्ष र म्हपूजा विशेष गरेर नेवार समुदायमा मात्र गरिने हुनाले नेपाल संवत् एउटा सम्प्रदायको संवत्को रूपमा मात्र लिने गरिएको छ । शायद, यसै कारणले पनि नेपाल संवत् राष्ट्रिय संवत्को रूपमा मान्यता प्राप्त भइसक्दा पनि अझै अपहेलित हुन पुगेको छ । आफ्नै देशको नामबाट मौलिक संवत् हुँदाहुँदै पनि भारतीय संवत् जुन भारतले नै बिर्सिसकेको संवत् नेपालमा अहिलेसम्म पनि मान्यता दिएर चलाइएको छ ।

शंखधर साख्वाले संवत् प्रचलनमा ल्याएको बेला नेपालमा राघवदेव ठकुरीको शासनकाल चलिरहेको थियो भन्ने उल्लेख गरेको पाइन्छ । सूर्र्यवंशी राजा मानदेवका तीन छोरामध्ये जेठा छोरा राघवदेवले कान्तिपुरमा राज्य भोग गरिरहेका थिए । माहिला छोरा जयदेवले पाटनमा र कान्छा छोरा आनन्ददेवले भक्तपुरमा राज्य चलाइरहेका थिए ।

विभिन्न तथ्यअनुसार शंखधर साख्वाः त्यसबेला मरुटोलको मरुसतलको इलाछेँ भन्ने टोलका बासिन्दा थिए । त्यसबेला एकदिन भक्तपुर राजदरबारका विद्वान राजज्योतिष सिद्धिवंतले राजा आनन्ददेवलाई नदीमा बग्ने बालुवा सुनमा परिणत हुने स्थान र समयकोे साइत बताइदिएका थिए ।

ज्योतिषको सल्लाहमा राजा आनन्ददेवले कसैलाई पनि सुइँको नदिइकन ठीक साइतमा सुन पाइने स्थानमा चारजना भरियालाई काठमाडौंको भद्रावती र विष्णुमतीको बीचमा रहेको लखःतीर्थमा गएर त्यहाँको बालुवा लिएर आउने आदेश दिए । राजाको आज्ञाअनुसार ठीक साइतमा भरियाहरूले सोही स्थानबाट बालुवा लिएर आइरहेको बेला शंखधर साख्वाः पनि त्यही बाटो भएर खोलामा स्नान गर्न गएका थिए ।

एकाविहानै भक्तपुरदेखि आएर बालुवाको भारी बोकेर चारजना भरियाहरू गइरहेको दृश्य देखेर शंखधर साख्वाः अचम्भित भए । यो दृश्यबाट सशंकित शंखधर साख्वालले त्यो बालुवा किन र कहाँ लान लागेको भनेर भरियाहरूसँग सोधे । तर, उनको कुराको वास्तै नगरी भरियाहरू आफ्नो बाटो हिंडिरहे ।

निकै बाठो र बुद्धिमानी शंखधर साख्वाःले यसमा पक्कै रहस्य हुनुपर्छ भनी विचार गरे । फेरि, भरियाहरूलाई फकाईफुलाई त्यहाँको बालुवा किन र कहाँ लान लागेको भनेर सोधे । भरियाहरूले पनि भक्तपुरका राजाले लिन पठाएको र उनकै दरबारमा लान लागेको भनेर सीधै जवाफ दिए ।

यो जवाफ सुनेपछि शंखधर साख्वाःलाई शंका लागेछ र उनले भरियाहरूले भनेजति ज्याला दिने वाचा गरेर उनीहरूले ल्याएको बालुवा आफ्नो घरमा पु-याइदिन आग्रह गरे । बालुवाको रहस्यबारे केही नजानेका भरियाहरूले पनि विचार गरे “यदि हामीले भनेजति ज्याला पाउने हो भने जाबो यो बालुवा शंखधरको घरमा लगेर राखेमा के नै हुन्छ र ? बरु फेरि यहीँकै बालुवा लिएर दरबारमा लगौंला ।”

साइतमा ल्याएको बालुवा शंखधरको घरमा खन्याएर भरियाहरूले फेरि अर्को बालुवाको भारी बोकी भक्तपुरका राजाको दरबारमा पु-याइदिए । चार दिनपछि हेर्दा शंखधर साख्वाको घरमा खन्याइएको बालुवा सुनमा परिणत भयो भने राजाको दरबारमा खन्याएको बालुवामा कुनै परिवर्तन आएन । यो सब देखेर अचम्म मान्दै राजाले फेरि ज्योतिष सिद्धिवंतलाई बोलाएर सोधे ।

सिद्धिवंतले यसको अवश्य अर्को कारण हुनसक्ने अनुमान गरेर भरियाहरूलाई बोलाई सोधपुछ गर्न लगाए । उनीहरूले पनि सबै वृत्तान्त राजासामु बताए । बालुवा सुनमा परिणत भएपछि उदार मन भएका शंखधर साख्वाःले देशका जनताहरू सबैैको ऋण तिरी सबैलाई ऋणबाट मुक्त गरिदिए ।

जनता सबै ऋणबाट मुक्त भएको दिन आफ्नै देशको नामबाट नेपाल संवत् भनेर नयाँ वर्ष शुरू गरे । साथै, आफ्नो शिला मूर्ति पशुपतिनाथको दक्षिण ढोकामा स्थापना गर्न लगाए । सो मूर्ति प्रमाणका रूपमा सोही स्थानमा अवस्थित छ । जुन दिन सबै जनता ऋणले मुक्त भए त्यसदिनको खुसियालीमा नेपाल संवत् स्थापना गरी नयाँ वर्षको उत्सव मनाए ।

त्यसै दिन आफ्नो आत्माको पूजा गरी वर्षभरिको मनोकामना पूरा होस् भनेर मंगलकामना गरी म्हपूजा मनाउने चलन भने नेवार समुदायमा मात्र छ । यस संवत्लाई राष्ट्रिय संवत् बनाई सरकारी मान्यता दिनुपर्छ भनेर आवाज उठाउँदै आएको दशकौं भइसक्दा पनि सरकारले वास्ता गरिरहको थिएन ।

यसले गर्दा विभिन्न समयमा नेवारहरूले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने माग सहितको अभियानलाई तीव्र बनाउँदै लगेका थिए । यही कुरालाई हृदयंगम गर्दै ने.सं. ११२० कछलाथ्व ११ (वि.सं. २०५६ मंसीर २ गते) का दिन नेपाल संवत्का प्रणेता शंखधर साख्वाःलाई सरकारले राष्ट्रिय विभूतिका रूपमा घोषित गरियो ।

यो एउटा नेपालकै लागि ठूलो उपलब्धि थियो । देशकै नामबाट स्थापना भएको नेपाल संवत् मौलिक संवत्को जन्मदातालाई सरकारले राष्ट्रिय विभूतिको रूपमा मान्यता प्राप्त भएको कम गौरबको कुरो होइन । नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइनुपर्छ भन्ने अभियान चलिरहेको धेरै वर्ष बितिसक्दा पनि सरकारले यस संवत्प्रति वास्तविक सम्मान दिनसकेन ।

तर, नेपालमा पहिलो गणतान्त्रिक सरकारले शंखधर साँख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको करिब दश वर्षपछि बल्ल नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिने निर्णय ग-यो । नयाँ नेपाल निर्माण गर्ने अभियानमा यसलाई एउटा सुखद संकेतको रूपमा लिनुपर्छ ।

वि.सं. २०६५ साल कार्तिक ८ गते शुक्रबारका दिन मन्त्री परिषद्मा बसेको बैठकले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गर्ने निर्णय गरेपछि देशमा झनै नेपाल संवत्को उत्सवलाई हर्षोल्लासका साथ मनाउने क्रम तीव्ररूपमा हुँदै आएको छ । यसैबीच, नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिइनुपर्छ भन्ने मागसहित थुप्रै अभियानका चरणहरू पार गर्दै बल्ल सरकारले देशको मौलिक संवत्को महत्वलाई बुझेर राष्ट्रिय मान्यता दिएको छ ।

राष्ट्र र सरकारले जस्तोसुकै बेवास्ता र अवहेलना गरे पनि बाधा र अवरोध खडा गरे पनि आखिर आफ्नै देशको मौलिक संवत्कै जित भयो । शंखधर साँख्वाले व्यक्तिगत स्वार्थलाई त्यागी सम्पूर्ण जनताको उद्धार गरी देशकै नाममा स्थापना गरेको संवत् नै राष्ट्रिय संवत् हुन सफल भयो ।

यो संवत्ले सरकारी मान्यता पाएको १३ वर्ष पुगेको छ । केवल कागजमा मात्र यसलाई राष्ट्रिय बनाइएको छ । सरकारी कामकाजमा होस् वा चाडपर्वमा होस् नेपाल संवत्बाट काम भएको भने पाइँंदैन । अहिलेसम्म पनि विदेशीको नामबाट चलेको संवत् विक्रम संवत् र ईश्वी संवत्कै सहारामा सरकारी कार्यहरू भइरहेको पाइन्छ । यस्ता बानीलाई हामी सबै मिलेर हटाउँदै लग्नुपर्छ । देशकै मौलिक संवत्लाई केवल कागज र भित्तामा मात्र सीमित गर्नु हुँदैन ।

नेपाल संवत्को आफ्नै अलग्गै विशेषता छ । नेपाल संवत्को नयाँ वर्षकै दिन कछलाथ्व पारुको दिनमा म्हपूजा भनेर नेवारहरूले मनाउने चलन छ । नेवार समुदायले मात्र यस पर्वको अनुशरण गर्दै आइरहेको छ । यसदिन वर्षभरिमा हुने रोगब्याधि कष्ट र व्यवधानबाट बचेर आउँदो सालमा पनि यस्ता दुर्घटनाबाट बच्न सकौं र स्वास्थ्यमा कुनै किसिमको विघ्नबाधा नआओस् भनेर आत्माको पूजा गरेर म्हपूजा मनाउँदै आएकोले पनि नेपाल संवत् नेवार जातिको मात्र हो भन्ने भ्रम पर्न गएको हो ।

तर, अहिले आएर यो नेपाल संवत् नेवार जातिको मात्र नभएर सम्पूर्ण नेपाल र नेपालीहरूको आफ्नै मौलिक संवत् हो भन्ने कुरा छर्लंग भइसकेको छ । त्यसैले, यो संवत् राष्ट्रप्रेम देशप्रेमको भावनाले ओतप्रोत भएर स्थापना गरेको संवत्लाई बेवास्ता गरी विदेशी संवत्लाई चलनचल्तीमा ल्याउनु हामी नेपालीहरूकै दुर्भाग्य हो ।

नेपाल संवत्बारे बुझाउन नसक्नु कसको दोष हो ? यस संवत्को महत्व र विशेषता बुझाउने यसको प्रचार–प्रसार गर्ने जिम्मा कसको हो ? के यहाँका भाषा, लिपि, कला, संस्कार, संस्कृति अनि नेपाल संवत्लाई बचाउने र जोगाएर राख्ने जिम्मा नेवार समुदायको मात्र हो ? यी प्रश्नहरूको जवाफ खोज्न अब हतार भइसकेको छ ।

नत्र भोलि हाम्रा सन्तान र नयाँ पुस्ताले आफ्नो राष्ट्रियता र पहिचान गुमाउन धेरै समय लाग्ने छैन । त्यसैले, आजैदेखि नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत्लाई राष्ट्रिय पर्वको रूपमा मनाउन सकौं यही न्हूदँ (नयाँ वर्ष) नेपाल संवत् ११४२ को भिंतुना !

प्रतिक्रिया दिनुहोस्