वागमती प्रदेश सरकारमा भागवण्डा, समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल चलाउने



रोशन पराजुली, हेटौंडा ।

अष्टलक्ष्मी शाक्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एमालेको सरकारलाई दशैं मान्न दिएको विपक्षी गठबन्धनले वागमती प्रदेशको मुख्यमन्त्री पद आधा–आधा कार्यकाल चलाउने सहमति गरेका छन् ।

नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका प्रवक्ता प्रभात तामाङका अनुसार बिहीबार बिहान हेटौंडामा बसेको केन्द्रीय सत्तारूढ गठबन्धनको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेको हो । सहमतिअनुसार अघिल्लो चरणमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डे वागमती प्रदेशको मुख्यमन्त्री बन्ने हुनुभएको छ ।

मुख्यमन्त्रीका लागि कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ र पाण्डेबीच प्रतिस्पर्धा चलेपछि मुख्यमन्त्रीको विषयमा सहमतिका लागि कांग्रेस सहमहामन्त्री प्रकाशशरण महत हेटौंडा आउनुभएको थियो । १४ महिनाको बाँकी कार्यकालमा पाण्डेले ७ महिनापछि राजीनामा दिने र त्यसपछि कांग्रेस संसदीय दलका नेता बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएकोे छ ।

गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, एकीकृत समाजवादीले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर संकलन गरिसकेका छन् । समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वागमती प्रदेश सरकारको नेतृत्व आफूहरुले गर्ने सहमति भइसकेको दाबी गरिरहँदा कांग्रेसले पनि आफ्नो दाबी नछाडेपछि डा. महतको उपस्थितिमा बसेको बैठकले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति जुटाएको हो ।

प्रदेशसभामा बिहीबार मुख्यमन्त्री शाक्यले टेबल गर्नुभएको विश्वासको मतसम्बन्धी छलफल शुरु भएको छ । दिउँसो १ बजे बोलाएर ३ बजेका लागि सारिएको बैठक सवा ४ बजे शुरु भएपछि सभामुख सानुकुमार श्रेष्ठले मुख्यमन्त्री शाक्यलाई प्रदेशसभामा विश्वासको मत माग्न समय दिनुभएको थियो । बैठकमा मुख्यमन्त्री शाक्यले एमाले सरकारले गरेका कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

मुख्यमन्त्री शाक्यले एमाले नेतृत्वको सरकारले करिब साढे ३ वर्र्षे कार्यकालमा गरेको कामको विवरण प्रस्तुत गर्दै एमालेको नेतृत्वमा जनहितका लागि प्रभावकारी काम भएको दाबी गर्नुभयो ।

उहाँले प्रदेशमा ६ सय ४० पक्की सडकको बहुवर्षे ठेक्का सम्झौता भएको, प्रदेशका १३ वटै जिल्लामा खानेपानीको पहुँच विस्तार गरिएको, राजधानीमा अवस्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई स्वास्थ्य हबका रूपमा विकास गर्ने गरी काम भइरहेको, कृषिक्षेत्रको विकासका लागि कृषकलाई मल, बीउबिजन उपलब्ध गराउने कार्य गरिएको, युवा र खेलकुद कार्यक्रम लक्षित गरी ९१ वटा खेल सञ्चालन गर्ने गरी तयारी गरिएको, शैक्षिक गुणस्तर विस्तारका लागि पहल भएको, उद्योग र कलकारखाना संरक्षण तथा विस्तारमा पहल भएको बताउनुभयोे ।

प्रदेशसभाको जारी बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत माग्दै राखेको प्रस्तावमाथिको छलफलमा प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले शाक्यलाई विश्वासको मत दिन नसकिने बताउनुभएको थियो । जम्कट्टेलले एकीकृत समाजवादीका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको पनि सभामा बताउनुभयो ।

उहाँले वर्तमान सरकारका मन्त्रीहरुमा पीडाबोध महसुस भएको र मुख्यमन्त्रीमा पनि ऊर्जा नभएको जस्तो भान भएको टिप्पणी गर्नुभएको थियो । सभामा नेता जम्कट्टेलले संसद् बैठक सार्न सत्तापक्षले सभामुख र सचिवालयलाई आग्रह गर्न पाइने तर यही मितिमा गर भन्दै पत्र पठाउनु घमण्ड र दम्भ देखिएको भन्दै त्यसप्रति दलको आपत्ति रहेको बताउनुभयो । मुख्यमन्त्री शाक्य अल्पमतमा परिसकेको अवस्थामा सरकारको आयु केही दिन लम्ब्याउने प्रयासस्वरूप नेकपा एमालेले प्रदेशसभाको बैठक सार्न सभामुख सानुकुमार श्रेष्ठ र सचिवालयका सचिव कृष्णहरि खड्कालाई बुधबार पत्र पठाएको थियो । एमालेले पार्टीको वडा र पालिका अधिवेशनको कारण देखाउँदै प्रदेशसभा बैठकमा एमालेबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यहरु उपस्थित हुन नसक्ने भएकाले कात्तिक ११ गतेका लागि प्रदेशसभा बैठक सार्न सभामुखसमक्ष आग्रह गर्दै पत्र पठाएको हो । नेकपा एमालेको वडा अधिवेशन कात्तिक ६ गते र पालिका अधिवेशन ९ अधिवेशन हुँदै छ ।

नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँले अल्पमतमा परिसकेको सरकारले भ्रमको राजनीति र लोभको खेती गर्दै अघि बढेको आरोप लगाउँदै गठबन्धनको सरकारले जनताको नजिक रहेर काम गर्ने बताउनुभयो । उहाँले आफ्नो दलले मुख्यमन्त्री शाक्यलाई साथ नदिने बताउँदै समय नलम्बाई सभामुखलाई प्रक्रियामा गई नयाँ सरकार बनाउन आग्रह गर्नुभयो । उहाँले गठबन्धनको पक्षमा ५९ जना सांसद पुगिसकेको भन्दै धेरै अलमल नगर्न पनि आग्रह गर्नुभयो ।

भदौ २ गते नेकपा एमालेको एकल बहुमतबाट मुख्यमन्त्री नियुक्त हुनुभएकी शाक्य स्पष्ट अल्पमतमा हुनुहुन्छ । एमालेका १३ सांसदले एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री अल्पमतमा पर्नुभएको हो । वागमती प्रदेशसभामा हाल १ सय ९ जना प्रदेशसभा सदस्य छन् । प्रदेश सरकार गठनका लागि ५५ सांसदको साथ आवश्यक पर्दछ । कुल ५६ सांसद रहेकोमा १३ सांसद एकीकृत समाजवादीमा गएसँगै एमाले ४३ सांसदमा खुम्चिन पुगेको छ । प्रदेशसभामा २३ जना नेकपा माओवादी केन्द्रका, २२ नेपाली कांग्रेस, ३ विवेकशील साझा, २ नेपाल मजदुर किसान पार्टी, २ राष्ट्रिय प्रजातन्त्र पार्टी र १ जना जनता समाजवादी पार्टीका सांसद छन् ।

मुख्यमन्त्री शाक्यले गत असोज २४ गते प्रदेशसभा बैठकमा नेपालको संविधानको धारा १ सय ८८ को उपधारा २ तथा प्रदेश नियमावली २०७४ को नियम १ सय ४३ को उपनियम १ बमोजिम विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । सोही प्रस्तावमाथि बैठकमा छलफल भएको र विश्वासको मत लिने प्रक्रिया अगाडि बढाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ । वागमती प्रदेशसभाको अर्को बैठक कात्तिक १० गते बस्ने गरी स्थगित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्