बालिकाको सिकाइ कहिल्यै रोकिन हुन्न: स्वस्तीमा खड्का



आज अन्तर्राष्ट्रिय बालिका दिवस । यो दिवस विश्वका अरु मुलुकमा जस्तै नेपालमा पनि मनाईन्छ । शैक्षिक प्रणालीको उत्थानशीलता तथा लैङ्गिक उत्तरदायित्व सुदृढ गर्ने र शिक्षामा व्याप्त लैङ्गिक अन्तरसहित अन्य असमानतालाई शिक्षामार्फत् नै अन्त्य गर्ने विश्वव्यापी शैक्षिक सहकार्यको सहयोगमा सिकाइ कहिल्यै रोकिँदैन भन्ने अभियानमा म संलग्न भएकी छु । यो अभियानमा संलग्न भईरहँदा मलाई बालिकाहरू शिक्षाको निरन्तरता प्रति ध्यानार्कषण भएको छ किनभने यतिबेला महामारीका कारण बालिकाको शिक्षा पूर्ण अवरुद्ध हुने जोखिम बढेको छ ।

नेपाल सरकारले मार्च १८, २०२० मा कोभिड–१९ महामारीका कारण सबै शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गर्यो । यो अन्तर्राष्ट्रिय जगतमा भइरहेको विद्यालय बन्द गर्ने अभियानको निरन्तरता थियो र जरुरी पनि थियो ।अहिले सम्म नेपालले दुई पटकको बन्दाबन्दी भोगिसकेको छ । यसबीच अन्य क्षेत्रभन्दा विद्यालय सबैभन्दा बढी बन्द रहे । हालसम्म पहिलो र दोस्रो बन्दाबन्दीले गर्दा नेपालमा ७४ हप्तासम्म विद्यालयहरू पूर्ण र आंशिक रूपमा बन्द भइसकेका छन् । यो तथ्याङ्क विश्वकै उच्चमध्ये युगान्डा (७७ हप्ता) पछिको हो । नेपालपछि भारत, पानामा र बोलिविया (७३ हप्ता) छन् । कोभिड–१९ को अत्याधिक संक्रमण देखिएका राष्ट्रहरूमा समेत विद्यालयहरू यति लामो समयसम्म बन्द भएका छैनन् । चीन– २७, युके-२७, ईटली- ३८, जर्मनी– ३८, अस्ट्रेलिया– ४०, पाकिस्तान– ६०, युएसए– ६२, मेक्सिको– ६३, ब्राजील– ६९ ।

युनेस्कोका अनुसार नेपालमा झण्डै ९० लाख विद्यार्थीमा कोभिड–१९ का कारण शैक्षिक संस्था बन्दको प्रभाव परेको थियो।यसमध्ये ११% पूर्वप्राथमिक तह, २८% प्राथमिक तह, ३९% माध्यमिक तह र ५% उच्च तहका विद्यार्थीहरू थिए ।यसले नेपालमा विद्यालय तहका ७४ लाख विद्यार्थीको सिकाइको क्षतिसम्बन्धी तत्कालीन जोखिम सिर्जना गरेको छ ।सन् २०२० मा युनाइटेड वर्ल्ड स्कुल्सले गरेको एक अध्ययन अनुसार लामो समयसम्म विद्यालय बन्द रहने, गतिशीलतामा बन्देज लाग्ने र बन्दाबन्दीले घरमै सीमित हुने भएकाले विद्यार्थीको स्वास्थ्यका साथै परिवार र समुदायलाई पनि थप तनाव भई नकारात्मक असरहरू सिर्जना भएको देखाएको छ।वास्तवमा महामारीका कारण बालबालिकाको सिकाइमा अत्यन्तै चिन्ताजनक असरहरू देखिन थालेको पाइन्छ।युनेस्को, युनिसेफ, विश्व बैंक, र विश्व खाद्य कार्यक्रम (२०२०) का अनुसार कक्षागत सिकाइका अवसरहरूमा आएको अवरोधले बालबालिकाको सिक्ने क्षमतामा गम्भीर प्रभाव पार्न सक्छ।

नेपालका सहरी क्षेत्रका धेरैजसो विद्यालयहरूले सूचना प्रविधिमार्फत् दूर शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्, तर धेरैजसो विद्यार्थीहरू सामाजिक–आर्थिक बाधाहरूले गर्दा यसको पहुँचबाट टाढै छन्।कोभिड–१९ का समयमा नेपालमा सिकाइ भन्ने विषयमा सामुदायिक विद्यालयमा गरेको एक अध्ययन २५% अभिभावकले आफ्ना बालबालिकाको सिकाइलाई कुनै समय दिन नसकेको तथ्याङ्क छ । जसले समय दिन्थे उसले पनि हप्ताको औषत ९.३ घण्टामात्र दिन्थे जो बालबालिकाले विद्यालयमा पाउने हेरचाहभन्दा निकै थोरै हो ३१% विद्यार्थीले मात्र शिक्षकसँग अन्तर्क्रिरया गर्न पाएका थिए विद्यालय बन्द हुँदा बालबालिकाको दुरसिकाइमा पहुँच र वयस्कबाट पाउने सक्रिय सहायता निकै न्युन रहेको पाइयो ।सूचना प्रविधिको उपयोग गरेर शिक्षालाई निरन्तरता दिनु एउटा विकल्प हुन सक्छ तर नेपालको सन्दर्भमा यसले तत्कालै सबैको पहुँचमा पुग्ने मूलधारको स्वरुप लिन सक्दैन।नेपालका सहरी र ग्रामीण क्षेत्रबीच एउटा ठूलो डिजिटल विभेद विद्यमान छ।सन् २०२० मा युनाइटेड वर्ल्ड स्कुल्सले गरेको एक अध्ययन अनुसार प्रविधिको विकल्पहरूमा पहुँच र दूर शिक्षण प्रदान गर्ने शिक्षकको क्षमतामा व्यापक असमानता विद्यमान छ।

यसो अवस्थामा के विद्यालयहरूपुनः सुचारू गर्न उचित होला ?

अहिले आंशिक रूपमा स्वास्थ्य सतर्कता सहित विभिन्न मापदण्ड पुरा गरेर मात्र विद्यालय खोल्ने अनुमति प्राप्त भएको छ । तर त्रिभुवन विश्वविद्यालयको केन्द्रिय शिक्षा विभागका एसोसिएट प्रोफेरको नेत्तृत्वमा काठमाडौं उपत्यकाका सामुदायिक, संस्थागत र गुठी विद्यालयका व्यवस्थापकहरूः प्रधानाध्यापक र सहायक–प्रधानाध्यापकहरू गरी ३२५उत्तरदाताहरूसमावेश गरिएको एक अध्ययन अनुसार २७ प्रतिशत विद्यालयहरूले महामारी अगाबैको स्थितीमा विद्यालय खोल्ने र ४१.९ प्रतिशत विद्यालयहरूले दुई शिफ्ट गरेर विद्यालय खोल्ने जनाएको छ भने १२.९ प्रतिशत विद्यालयहरूले कसरी विद्यालय पुनः खोल्ने भन्ने यकिन नभएको जनाएको छ ।

त्यसैगरी, ५०.२ प्रतिशत विद्यालयहरूले मात्र दुई मिटर दुरी कायम राख्न सक्ने, ४२.२ प्रतिशत विद्यालयहरूले मात्रविद्यालयमा स्वास्थ्यकर्मीको व्यस्था गर्न सक्ने र ७५.७प्रतिशत विद्यालयहरूले शिक्षक–शिक्षिक र विद्यार्थीहरूले मास्कको प्रयोग गर्न सक्ने जनाएको छ । धेरै परिसूचकले विद्यालय व्यवहारिक रूपमा तयार नभएको र सुरक्षा प्रबन्ध गरिनसकेको पाइएकाले तत्कालिन अवस्थामा विद्यालय सुचारू गरिहाल्नु सुरक्षित नभएको देखियो ।यस्तो अवस्थाले गर्दा महामारीका कारण बालिकाको शिक्षा पूर्ण अवरुद्ध हुने जोखिम बढेको छ । यदि बालिकाहरू पुनः विद्यालय नजाने हो भने यसले बालिकाको जीवनमा धेरै समस्याहरू निम्त्याउँछ ।

शारीरिक सक्रियतामा कमी, घुमफिरमा कमी, नियमित एकैप्रकारको जीवन तालिका, एकोहोरोपना आदिले गर्दा मनोसामाजिक समस्याको अतिरिक्त दवाव बढ्न सक्छ र विद्यालयले प्रदान गर्ने सामान्य स्वास्थ्य शिक्षा र सेवामा कमी आउनासाथ रोगको जोखिममा वृद्धि हुन सक्छ । बढी फुर्सत, छिमेकी साथीसँगिको दवाव तथा शैक्षिक निर्देशनको कमीले गर्दा लागु पदार्थ दुरुपयोगको जोखिम बढेको छ भने निम्न वर्गिय अभिभावकले बढी मात्रामा घरायसी तथा शारीरिक श्रममा संलग्न गराउने जोखिम पनि बढेको छ ।

डरलाग्दो कुरा भनेको त अझ विद्यार्थीले दिवा खाजा नपाउने, शिक्षकबाट निरन्तर पृष्ठपोषण र उत्प्रेरणाको अभाव, विद्यालबाट घर–दैलो कार्यक्रमको अभाव, नियमित शिक्षामा लामो रोकावटले गर्दा कतिपय विद्यार्थीहरू पुनः विद्यार्थी बनेर सिकाइमा संलग्न हुन नसक्नेजोखिम पनि बढेको छ ।अन्य असरहरूमा बालविवाह र छिटो गर्भधारण, घरेलु हिंसा र शोषण, लैंगिक हिंसा, यौन दुर्व्यवहार र हैरानी, साइबर बुलिइङ् र अपराध आदि पर्दछन् । नेपाल जस्तो विपन्न परिवार र बालबालिकाको सीमित निगरानी गरिने देशमा बस्ने बालिकाको हकमा यी जोखिमहरू उच्च हुने गर्छन् ।

कोभिड–१९ महामारीका कारण बढ्न सकिरहेको यस्ता जोखिमहरूलाई खयाल गर्दै अहिलेको अवस्थामा बालिकाका आवश्यकता समेटिएको र उनीहरूलाई पुनः विद्यालय जान मद्दत गर्ने गरी कोभिडविरुद्ध शैक्षिक प्रतिकार्य तथा पुनर्उत्थान योजना बनाई कार्यान्वयन गर्न जरुरी छ भन्दै आधिकारीक निकायको ध्यानार्कषण गर्न चाहन्छु । विद्यालय बन्द भएको बेला सिकाइको निरन्तरता सुनिश्चित गर्ने र सुरक्षित, लैङ्गिक उत्तरदायी तथा बालमैत्री तरिकाले पुनः विद्यालय सुचारु गर्न विस्तृत, समयानुकूल तथा तथ्यमा आधारित योजना बनाउन अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्