छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन शिलान्यास : काठमाडौँ महानगरबाट ५ करोड रुपैयाँ अनुदान

समयमा काम गर्नोस्, राम्रो काम गर्नोस्, पैसाको चिन्ता नगर्नोस् : प्रमुख शाक्य



काठमाडौँ ।

छत्रपाटी निःशुल्क चिकित्सालयको नयाँ भवन निर्माणका लागि शिलान्यास भएको छ । आज काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवनको शिलान्यास गर्नुभएको हो । त्यस अवसरमा प्रमुखसहित उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्ष नविन मानन्धर र अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले भूमि पुजन गर्नुभएको थियो ।

छत्रपाटीस्थित गंगालाल मार्गमा रहेको १० आना १ दाम जग्गामा करीब ३५ करोड रुपैयाँ लागतमा नयाँ भवन निर्माण थालिएको हो ।शिलान्यास अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख शाक्यले योजनाहरु समयमा कार्यान्वयन नभए व्ययभार थपिनेप्रति सजग हुनुपर्ने बताउनुभयो । महानगरले गएको बर्ष पनि अस्पताल भवनका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको थियो । पोहोर काम नभएपछि पैसा खर्च गर्न पाइएन । अर्कोतिर यस बर्ष लागत बढेर खर्च थपिएको छ । उहाँले भन्नुभयो, ‘समयमा काम गर्नोस् । स्तरीय काम गर्नोस् । पैसाको चिन्ता नगर्नोस् ।’

उहाँले अस्पतालले निजी क्षेत्रसँग प्रतिस्पर्धी सेवा दिन सकेन भने लगानीको उपयोग नहुने बताउँदै अस्पतालले यसतर्पmका योजनामा ख्याल गर्नुपर्ने धारणा राख्नुभयो ।कोविड संक्रमणको दोस्रो लहर चलेका बेला महानगरले यस अस्पताललाई महानगरको कोविड विशेष अस्पतालका रुपमा चलाएको थियो । भोलि आवश्यक परे हामी फेरि कोविड अस्पतालका रुपमा चलाउन सक्छौँ । प्रमुख शाक्यको भनाइ थियो ।स्वास्थ्य सेवा नागरिकको मौलिक अधिकार हो । यसको सहज वितरणका लागि काठमाडौँ महानगरले लगानी बढाउँदै लगेको छ । कार्यक्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले कोविडको रोकथाम, उपचार र नियन्त्रणका लागि सामुदायिक र सरकारी अस्पतालहरुसँग सहकार्य गरेको बताउनुभयो । व्यक्ति निरोगी रहे मात्र सरकारले उपलब्ध गराएका अरु अधिकार प्रयोग हुन्छन् । सेवा भोग्न सक्छन् । त्यसैले सबै अधिकारमध्ये पनि नागरिकलाई स्वास्थ्य सम्बन्धी अधिकारको प्रत्याभूति गराउन आफूहरु प्रयासरत रहेको उहाँको भनाइ थियो ।

समुदायमा स्वास्थ्य संकट भएका बेला यो चिकित्सालयको स्थापना भएको हो । ०१७ सालमा राजनीतिक अस्थिरता भएका बेला भएका झडप बेला घाइते भएकालाई उपचार गर्न यसको उल्लेखनीय भूमिका छ । चिकित्सालयको विगतका बारेमा चर्चा गर्दै वडा १७ का अध्यक्ष नविन मानन्धरले, समुदायलाई अप्ठ्यारो परेका बेला चिकित्सालयले र चिकित्सालयलाई कठिन भएका बेला काठमाडौँ महानगरले सहयोग गरेको बताउनुभयो । ०७२ सालको भूकम्पको संकट, ०७५ तिर महानगरमा फैलिएको डेङ्गु र त्यसपछि विश्वव्यापी रुपमा फैलिएको कोविडका समयमा चिकित्सालयले स्वास्थ्योपचारमा गरेको योगदान प्रशंसनीय छ । मानन्धरको भनाइ थियो ।

स्वास्थ्योपचारका सबै सेवालाई आत्मनिर्भर बनाउन गरिएको प्रयासका बारेमा चर्चा गर्दै अस्पतालका अध्यक्ष डा. मनोजमान श्रेष्ठले अर्को साताबाट दैनिक १ सय सिलिण्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिनुभयो । अस्पतालको विकासका लागि काठमाडौँ महानगरकोआर्थिक सहयोग एवम् अभिभावकीय साथबाट विकसित हुने मौका पाएको डा. श्रेष्ठको भनाइ थियो ।अस्पताल निर्माणको पहिलो चरणमा भूमिगत १ तलासहित ७ तले भवनको स्ट्रक्चर तयार पारिनेछ । यसका लागि करीब १२ करोड रुपैयाँ खर्च हुनेछ । भवन निर्माणका लागि काठमाडौँ महानगरले उपलब्ध २ करोड ५० लाख रुपैयाँ उपलब्ध गराइसकेको छ । यसमा २ करोड ५० लाख रुपैयाँ थपेर यो बर्ष ५ करोड रुपैयाँ दिनेछ । यसबाहेक अस्पतालको आन्तरिक आय र दाताहरुबाट प्राप्त हुने रकम प्रयोग गरिनेछ ।चिकित्सालयमा २४ घण्टै इमर्जेन्सी, शल्यक्रिया, जनरल वार्ड, आइसीयू, भेन्टिलेटर, प्याथोलोजी ल्याबसहित सबै प्रकारका सामान्य र विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालनमा छन् ।

प्रतिक्रिया दिनुहोस्