काठमाडौं उपत्यकामा १८ हजार सिसी क्यामेरा आवश्यक



नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं उपत्यकाभित्र हुनसक्ने सम्भावित आपराधिक गतिविधि न्यूनीकरण गर्न महानगरीय प्रहरी कार्यालयले सिसी क्यामेराको संख्या बढाउने योजना अगाडि सारेको छ । काठमाडौं उपत्यकामा हाल जडान गरिएको २५ सय ८९ वटा सिसी क्यामेरा अपुग भएको भन्दै महानगरीय प्रहरी कार्यालयले थप १८ हजार ८ सय ५२ वटा सिसी क्यामेरा जडान गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी निरीक्षक कृष्ण धितालले उपत्यकाभित्र हुने सवारी दुर्घटना र आपराधिक गतिविधिको अनुसन्धानको लागि सिसी क्यामेरा अनिवार्य भइसकेको जिकिर गर्दै भन्नुभयो–‘अहिले जडान गरिएको सिसी क्यामेराको संख्या निकै थोरै छ, हामीले थप साढे १८ हजारभन्दा बढी सिसी क्यामेरा जडान गर्न प्रस्ताव गरेका छौं ।’ उहाँले सीमित बजेटको आधारमा वार्षिक रूपमा थोरै संख्यामा मात्र सिसी क्यामेरा जडान हुने गरेको बताउँदै काठमाडौं र ललितपुर महानगरपालिकासाथै अन्य नगरपालिकाहरूसँग सिसी क्यामेराको संख्या थप्न आग्रह गरेको बताउनुभयो । उहाँका अनुसार साढे १८ हजारभन्दा बढी सिसी क्यामेरा र सिसी क्यामेरालाई मनिटरिङ गर्ने भिडियो म्याजमेन्ट सिस्टम (भीएमएस) जडान गर्नको लागि करिब ३० अर्ब रूपैयाँ लाग्ने अनुमान गरिएको छ ।

गत आर्थिक वर्षमा कार्यालयले १ सय ६१ वटा सिसी क्यामेरा जडान गर्नको लागि ठेक्का सम्झौता गरे पनि ठेकेदारले कोभिड–१९ का कारण सिसी क्यामेरा जडान गर्न नसक्ने बताएपछि ठेक्का रद्द भएको थियो । यस आर्थिक वर्षमा पनि १ सय ५० वटा भन्दा केही बढी सिसी क्यामेरा जडान गर्ने तयारी कार्यालयले अगाडि बढाएको छ ।

प्रहरीको वार्षिक बजेटले मात्र काठमाडौैं उपत्यकाभित्र आवश्यक सिसी क्यामेरा जडान गर्न अझै वर्षौ लाग्ने देखिएको छ । काठमाडौं उपत्यकाभित्र हुने सवारी दुर्घटना, आपराधिक गतिविधिको प्रमाणको रूपमा प्रहरीले सिसी क्यामेराको फुटेजलाई पहिलो प्रमाणको रूपमा लिने गरेको छ । काठमाडौंको मुख्य–मुख्य नाकामा सिसी क्यामेरा जडान गरे पनि अझै पनि मुख्य चोक र बस्तीमा सिसी क्यामेरा जडानको काम अगाडि बढ्न सकेको छैन ।

नेपाल प्रहरीसँगको साझदारीमा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले पनि सिसी क्यामेरा जडानको कामलाई अगाडि बढाउँदै आएका छन् । स्थानीय तहले पनि एकैपटक ठूलो संख्यामा सिसी क्यामेरा खरिद गर्न बजेट उपलब्ध गराउन नसक्ने भएकाले वार्षिकरूपमा थोरै संख्यामा मात्र जडान गर्ने गरेको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले हाल ७ सय ४२ वटा सिसी क्यामेराको मनिटरिङ गरिरहेको छ । बाँकी अन्य सिसी क्यामेराको भने ललितपुर, भक्तपुर र उपत्यकाभित्र रहेको प्रहरी इकाइमार्फत मनिटरिङ हुँदै आएको छ ।

भिएमएस उच्चस्तरीय प्रविधिबाट सुरक्षा अवस्थाको निगरानीका साथै शंकास्पद घटनाबारे तत्काल जानकारी गराउने प्रविधि हो । भिएमएस प्रविधिमार्फत सीसीटिभी जोडेर डीभीआर एमभीआरबाट मनिटरिङ गर्ने गरिन्छ । यसबाट कुनै गलत गतिविधि हुन लागेको भन्ने पूर्वसूचना प्राप्त हुने प्रहरीले बताएको छ । नेपाल प्रहरी र सरकारी सुरक्षा निकायको लागि यो प्रविधि निकै उपयोगी देखिएको छ । यसले डाटा एनालाइसिस गर्नुको साथै कुनै घटना भइहाल्यो भने घण्टौं लगाएर भिज्युअल खोज्नुपर्ने झन्झटसमेत हट्ने प्रहरीको भनाइ छ ।

काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्यले प्रहरीसँगको सहकार्यमा मात्र महानगरपालिकाले सिसी क्यामेरा जडानको काम अगाडि बढाएको जानकारी दिँदै भन्नुभयो–‘सिसी क्यामेरा घटना घटेपछिको विवरण हेर्न मात्र होइन, सम्भावित दुर्घटना हुन नदिन सावधानी अपनाउने पूर्वसूचनाको रूपमा प्रयोग गर्नुपर्छ ।’ महानगरपालिकाभित्र यस आर्थिक वर्षमा पनि सिसी क्यामेरा जडानअन्तर्गत बजेट विनियोजन गरिएको बताउँदै उहाँले भन्नुभयो–‘सिसी क्यामेरा जडान गर्न आर्थिक सहयोग गछांै, हामी सकेसम्म धेरै सिसी क्यामेरा जडान गरेर प्रहरीलाई सहयोग गर्न चाहन्छौं ।’

ललितपुर महानगरपालिकाका नगरप्रमुख चिरिबाबु महर्जनले महानगरपालिकाभित्र सिसी क्यामेराको जडानलाई बढाउँदै लैजाने नीति रहेको जानकारी दिँदै भन्नुभयो– ‘मुख्य नाका र चोकमा यस वर्ष सिसी क्यामेरा थप्ने कार्यक्रम राखेका छौं ।’ उहाँले आगामी दिनमा ललितपुर महानगरपालिकाभित्र बस्तीस्तरमा पनि सिसी क्यामेरा जडान गर्ने लक्ष्य रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्