सृष्टि र मानव–सभ्यताबारे खोजमूलक ग्रन्थ



  • रोहिणी घिमिरे

विभिन्न स्मृतिग्रन्थ, रामायण, महाभारत, पुराणहरुसहित सयौं स्वदेशी–विदेशीद्वारा लिखित पुस्तक एवं लेख–रचनाहरुको बृहत् अध्ययनबाट तयार गरिएको ‘मानव यात्रा : सृष्टिदेखि आर्यहरुको प्रथमा संस्कृतिसम्म’ नामको ग्रन्थ पाठकसमक्ष आएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र विभागको वार्षिक अनुसन्धान परियोजनाअन्तर्गत शिवराज श्रेष्ठ मल्लले यो पुस्तक तयार गर्नुभएको हो ।

यस ब्रह्माण्डको सृष्टिकालदेखि आर्यहरुको प्रथमा संस्कृतिसम्मका कुराहरुलाई समेटिएकाले पुस्तकको आकार बृहत् बन्न पुगेको देखिन्छ । त्यसैले यस पुस्तकलाई १७ परिच्छेदमा विभक्त गरिएको छ । वैदिक–पौराणिक, ग्रीक, रोमन र चिनियाँजस्ता ठूला संस्कृतिबाट आधुनिक विश्वका सबै संस्कृति र सभ्यता विकसित भएको कुरा लेखक मल्लले यस पुस्तकमार्फत प्रस्ट पार्न खोज्नुभएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित यस पुस्तकमा लेखकले विश्वरङ्गमञ्चमा इन्डो–युरोपियन आर्यहरु र वैदिक–आर्यहरुका पुर्खाहरु इन्डो–इरानी आर्यहरुले सुमेर, मिस्र, पश्चिम एसिया, इरान आदि स्थानहरुमा खेलेको भूमिकाका बारेमा अलौकिक पौराणिक वर्णनहरुबाट छुट्याई प्राग्–ऐतिहासिक प्रमाणहरुका रुपमा केही तथ्यहरु प्रस्तुत गर्ने जमर्को गर्नुभएको छ ।

वेद–पुराणहरुलाई ईशम्बरीय देनको रुपमा लिई अवैज्ञानिक सोचबाट उब्जेका बाधा हटाउँदै, इतिहासको वैज्ञानिक लेखनमा मार्गदर्शन गराउन पनि यस्ता परिशोधित पौराणिक वर्णनहरु थप अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा लेखक शिवराजले गर्नुभएको छ ।

विश्वको सर्वाधिक प्राचीन सुमेरियन प्रथमा संस्कृति–सभ्यताको संस्थापन कार्य स्वायम्भूव मनुका वंशज ऊरु जन र सुमेरु पर्वतबाट आएका अन्य आर्यहरुबाटै भएको हुनसक्ने कुरालाई लेखकले पुष्टि गर्न खोज्नुभएको छ । साथै वैवश्वत मनुभन्दा पहिलेका सम्राट् पृथुले पृथ्वी दोहन गरेको अर्थात् कृषिकान्ति ल्याई इरानी–अफगानी प्लेटोतिरबाटै सैन्धव नागरिक साक्षर सभ्यताको जग बसाएको हुनसक्ने सम्भाव्यताका क्षेत्रहरुका बारेमा पनि पौराणिक वर्णनहरुका आधारमा विवेचना गरिएको छ ।

यसै गरी आर्मेनियन नश्लका यक्ष (य–कस) अनि ऊरुवंशी सम्राट् पृथुसहित उनका वंशजको राज्य दक्षिण–पश्चिमी तिब्बत (कैलास मानसरोवर क्षेत्र) र त्यसको दक्षिणी भागमा पर्ने कुमाउँ तथा सुदूर पश्चिम नेपाल (मानस खण्ड) सम्म फैलिएको हुनसक्ने सम्भावना पनि दह्रोरुपमा प्रस्तुत गरिएको छ ।

लेखक शिवराजले प्रमाण र तर्कहरु यथेष्ट प्रस्तुत गर्नुभएकाले पुस्तकलाई आधिकारिक दस्तावेजका रुपमा लिन सकिन्छ ।

इतिहासको स्रोतका रुपमा पुराणको महत्व धेरै हुन्छ तर धार्मिक कट्टरपन्थी र पुरोहितहरुद्वारा तोडमोड गरी लेखाइएका वर्णनहरु यसका दोष अथवा कमजोरी हुन् । यस्ता कमजोरी हटाई पुराणभित्र लुकेर बसेका ऐतिहासिक तथ्यहरुलाई उजागर गर्न सके प्राग्–इतिहासको अन्वेषणको क्षेत्रमा धेरै महत्वपूर्ण योगदान दिन सकिन्छ भन्नेमा प्रो. रेहार्ड, म्याक्समूलर, तिलक आदिले पुराणहरुमा रहेका सूचनाको उपयोग गरेको कुरा लेखक शिवराजले आफ्नो पुस्तकमा दर्शाउनुभएको छ ।

जानेर जानी नसक्नुको यो भवसागरलाई आफ्नो बुताले भ्याएसम्म लामो अध्ययन–अनुसन्धान र परिश्रमबाट लेखकले केही हदसम्म उजागर गर्न सफल हुनुभएको छ । स्टेफन हकिङजस्ता जीवनभर नास्तिक रहेका महान् वैज्ञानिकले पनि आफ्नो जीवनकालको अन्त्यतिर परमबह्माण्डमा जान्न–बुझ्न बाँकी रहेका अनगिन्ती विषयहरुबारे ‘ओन्ली गड नोज’ भन्ने गरेको कुरा लेखकले उल्लेख गर्नुले उहाँले पनि बाँकी कुरा भगवान्लाई छोडिदिएको बुझ्न सकिन्छ ।

वैवश्वत मनुको समयदेखि शुरु भएको पूर्ववैदिक युग, त्यसपछिको रामचन्द्र, जनक राजाहरुको मध्यवैदिक युग अनि महाभारत युद्धकालसम्म चलेको उत्तरवैदिक युगका भारतीय उपमहाद्वीपमा विकसित संस्कृति–सभ्यता विश्वमै सर्वश्रेष्ठ मानिएको कुरा लेखकले बताउनुभएको छ । उहाँका अनुसार यस वैदिक युगमा नै सर्वाेपरि महत्वको तत्वचिन्तन र अभूतपूर्व संस्कृति–सभ्यताको विकास भएको थियो । यसको आधारशिला भने सुमेर मिस्रमा उद्विकसित प्रथमा संस्कृति नै थियो ।

प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति जगमान गुरुङ र प्रज्ञा–प्रतिष्ठानकै सामाजिक शास्त्र विभाग प्रमुख प्रा. दिनेशराज पन्तका गहकिला मन्तव्यहरुले पुस्तकको गरिमालाई झनै बढाइदिएको देखिन्छ ।

उपलब्ध भएसम्मका तिथिमिति एवं स्रोतहरुसमेत उल्लेख गरी गहिराइसम्म पुगेर तयार गरिएकाले पुस्तकको ओजलाई कम आँक्न मिल्दैन । पुराणमा वर्णित कुराहरुलाई वैज्ञानिक ढंगले सप्रमाण प्रस्तुत गर्न सक्नु लेखक मल्लको खूबी र मेहनतलाई मान्नै पर्छ । पुस्तकको गहनता र ‘भोलुम’ हेर्दा यसको मूल्य रु. ३००।– सस्तै मान्नुपर्छ । सृष्टि र मानव सभ्यताका विषयमा अध्ययन–अनुसन्धान गर्न चाहने व्यक्तिहरुका लागि यो पुस्तक उपयोगी हुनेछ ।

प्रतिक्रिया दिनुहोस्