शेयर बजारमा लगानीकर्ताहरुको सक्रियता



नरेन्द्रमान श्रेष्ठ ।

पछिल्लो समयमा शेयर बजारप्रति धेरैको आकर्षण रहेको देखिन्छ । पहिलेको तुलनामा अहिले आएर शेयर बजारप्रति सबैजसो वर्ग, समुदाय, पेसा, व्यवसाय गर्नेदेखि विद्यार्थीहरुको समेत आकर्षण रहेको देखिन्छ । पछिल्लो समयमा आईपीओ शेयर खरिदमा सी आस्वामार्फत आवेदन दिने विभिन्न बैंकहरुमा युवाहरु अनि विद्यार्थीहरुको पनि भीड नै देखिने गरेको छ । त्यसो त कतिपय विद्यार्थी र युवाहरु शेयर बजार प्रवेश गर्नलाई प्राथमिक बजारबाट शुरु गर्न गर्छन् भन्ने पनि छ । यसैबाट उनीहरु बिस्तारै शेयर बजारबारे ज्ञान हासिल गर्दै जान्छन् भनिन्छ । अहिले आईपीओमा आवेदन दिन १ हजार रुपियाँ मात्र भए पनि पुग्ने भएकोले पनि सबैको लागि सजिलो भएको बताउँछन् नवप्रवेशी लगानीकर्ताहरु । १० कित्ते नियमले गर्दा धेरै लगानीकर्ताहरुलाई शेयर बजारको पहुँचसम्म पुर्‍याएको सरोकारवालाहरुको भनाइ रहेको छ । तर पनि केही माफिया प्रवृत्तिका लगानीकर्ताहरु भने यो १० कित्तै नियम उपयुक्त नभएको बताइरहेका छन् । त्यसै गरी पछिल्लो समयमा जारी भएको/गरेको आईपीओमा शेयरमा आवेदन दिनेहरुको संख्या २४ लाखभन्दा बढी भइसकेकोले शेयर बजारमा जटिलता निम्तिने हो कि भन्ने आशंका पनि उत्तिकै छ ।

त्यसो त पछिल्लो समयमा शेयर बजारप्रति आमनागरिकको चासो बढेको देखिन्छ । शेयर बजारमा प्रवेश गर्नेहरुको संख्या दिनानुदिन बढिरहेको सरोकारवालाहरु बताउँछन् । पछिल्लो समयमा सडकदेखि सदनसम्म शेयर बजारको चर्चा हुन थालेको छ । चिया गफमा पनि शेयर बजारको नै चर्चा हुन थालेको छ भन्दा पनि फरक नपर्ला । पछिल्लो समयमा शेयर बजारप्रति सबै वर्ग, समुदाय पेसाकर्मीहरुको आकर्षण बढ्दै गइरहेको देखिन्छ । फुटपाथ पसलेदेखि कर्पोरेट कम्पनीहरुको समेत आकर्षण रहेको देखिएको छ । शायद यही कारणले होला, प्रतिनिधिसभामा पनि नेमकिपाका सांसद प्रेम सवालले सबै पेसाकर्मीहरु शेयर बजारमा लागे देशको काम कसले गर्छ भनेको कुरा पनि चर्चामा आएको थियो ।

पछिल्लो समयमा शेयर बजारप्रति युवावर्गदेखि गृहिणीहरुको सम्म चासो बढेको देखिन्छ । शेयर बजारप्रति लगानीकर्ताहरुको चासो र आकर्षण बढ्नुलाई सकारात्मकरुपमा लिनुपर्ने हुन्छ । यसले शेयर बजारको दायरालाई फराकिलो बनाउँछ । कतिपय लगानीकर्ताको त शेयर बजार अतिरिक्त कमाइको माध्यम बनेको पनि सरोकारवालाहरु बताउँछन् ।

पछिल्लो समयमा नवप्रवेशीहरु र युवावर्गको आकर्षण प्राथमिक बजारमा नै केन्द्रित रहेको देखिन्छ । पछिल्लो समयमा प्राथमिक बजारमा लगानीकर्ताहरु ह्वात्तै बढेको देखिन्छ । पछिल्लो समयमा प्राथमिक बजारमा २४ लाखभन्दा बढी लगानीकर्ताहरु भइसकेको सरोकारवालाहरु नै बताउँछन् । डिम्याट खाता खोल्नेहरु नै ४० लाखको हाराहारीमा भइसकेका छन् । जन्मेको २ महिनाको नाबालकहरुको देखि ज्येष्ठ नागरिकहरुको समेत डिम्याट खाता खोलिएको बैंकरहरु बताउँछन् । त्यसो त प्राथमिक बजारमा मात्र नभई दोस्रो बजारमा पनि युवावर्गको प्रवेश बढेको देखिन्छ । पछिल्लो समयमा शेयर कारोबार गर्न झन्झटमुक्त हुँदै गइरहेकाले पनि शेयर बजारमा लगानीकर्ताहरुको आकर्षण भएको होला ।

पछिल्लो समयमा शेयर बजारमा कारोबार गर्ने प्रक्रिया डिजिटलाइजेसन भइसकेको छ । अहिले शेयरको कारोबार अनलाइनबाट मेरो शेयरमार्फत गर्न सकिन्छ । इन्टरनेटको सुविधा भएको जहाँतहीँ, देश–विदेशबाट घर, पसल, कार्यालय जुनसुकै स्थानमा बसेर शेयरको कारोबार गर्न सकिने भएकोले यसले पनि शेयर बजारप्रति सर्वसाधारण सबैको आकर्षण र चासो बढेको हो भन्दा पनि फरक नपर्ला ।

त्यसो त शेयर बजारको दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा लगानीकर्ताहरु बढेको देखिन्छ । प्राथमिक बजारमा थोरै रकम पनि लगानी गर्न सकिने भएको छ । पछिल्लो समयमा प्राथमिक बजारमा कम्तीमा रु. १ हजार मात्र पनि लगानी गर्न सक्ने भएकोले प्राथमिक बजारमा लगानीकर्ताहरु ह्वात्तै बढेको जस्तो देखिन्छ । दोस्रो बजारप्रति पनि लगानीकर्ताहरुको आकर्षण बढेको देखिन्छ । त्यसो त प्राथमिक बजारका लगानीकर्ताहरुको गन्तव्य भनेको पनि दोस्रो बजार नै हो । पछिल्लो समयमा एकै दिन लाखांै लगानीकर्ताहरुले दोस्रो बजारमा कारोबार गर्ने भइसकेका सरोकारवालाहरु बताउँछन् । ८० प्रतिशत लगानीकर्ताले अनलाइनबाट कारोबार गर्ने गरेका छन् । पछिल्लो समयमा शेयर बजारमा एकपछि अर्को गर्दै रेकर्डहरु कायम गरिरहेका छन् । एकै दिन २१ अर्बभन्दा बढीको कारोबार हुने भइसकेको छ ।

शेयर बजारमा लगानी गर्न न्यूनतम रु. १ हजारदेखि गर्न सकिने हुँदा सबै वर्ग, पेसा, व्यवसाय अँगाल्नेहरुले लगानी गर्न सक्छन् । शेयर बजारमा लगानी गर्न कम्पनी दर्ता गर्न नपर्ने, घर, पसल, कार्यालयमा बसेर कारोबार गर्न सकिने भएकोले पनि शेयर बजारप्रति धेरैको चासो र आकर्षण रेहको हो ।

दोस्रो बजारमा लगानी गर्ने भनेको प्राथमिक बजारमा जस्तो होइन । प्राथमिक बजारमा जोखिम कम हुन्छ भने दोस्रो बजारमा जोखिम अलि बढी रहेको हुन्छ । एउटा भनाइ छ– ‘नो रिक्स नो गेन ।’ पछिल्लो समयमा प्राथमिक बजारमा लगानी गर्ने लगानीकर्ताहरु ह्वात्तै बढेका कारणले शेयर बजारमा विभिन्न चर्चाहरु पनि चल्ने गरेका छन् । शेयर बजार डिजिटलाइजेसनमा भएको भए पनि विगतमा जस्तै बोरा प्रवृत्ति अहिले पनि नहटेको सरोकारवालाहरु बताउँछन् । अहिले पनि विभिन्न व्यक्तिहरुको नागरिकता जम्मा गरेर एकै व्यक्तिले धेरै व्यक्तिको आवेदन दिने गरेको कारणले पनि प्राथमिक बजारमा लगानीकर्ताहरु ह्वात्तै बढेको कतिपयको भनाइ रहेको छ ।

शेयर बजारमा प्रवेश गर्नेहरु शेयर बजारसम्बन्धी जानकार नै रहेका छन् त भन्नेमा पनि चर्चा हुने गरेको छ । पछिल्लो समयमा भर्खर जन्मेको बच्चादेखि ज्येष्ठ नागरिकहरुको बैंक खाता र डिम्याट खाता खोल्न आउनेहरुको भीड नै हुने गरेको सरोकारवालाहरु बताउँछन् । कतिपय ज्येष्ठ नागरिकहरु त नाम मात्र लेख्न सिकेर खाता खोल्न आउने गरेको कतिपय बैंकरहरु बताउँछन् । त्यसो त शेयर बजारसम्बन्धी एकजना जानकारले आफ्ना सबैजसो परिवारको कारोबार गर्ने गरेको पनि देखिन्छ ।

शेयर बजारमा कारोबार गर्न र आईपीओ खरिदमा आवेदन दिन नागरिकताको प्रमाणपत्र अनिवार्य भएको कारणले नाबालकहरुले पनि अभिभावकको नागरिकताबाट आईपीओ शेयर खरिद गर्न पाउने व्यवस्था छ । यस व्यवस्थाप्रति कतिपय लगानीकर्ताले असन्तुष्टि जनाइरहेका छन् । त्यसो त शेयर बजार भनेको प्राथमिक बजार मात्र होइन, शेयर बजारमा दोस्रो बजार पनि छ । तर पनि कतिपय लगानीकर्ता प्राथमिक बजारमा मात्र सीमित हुने गरेको सरोकारवालाहरु बताउँछन् । प्राथमिक बजारमा जोखिम कम हुने, दोस्रो बजारमा जोखिम बढी हुने गरेकोले पनि कतिपय लगानीकर्ता प्राथमिक बजारमा मात्र सीमित हुने गरेको देखिन्छ ।

प्राथमिक शेयर बजारका लगानीकर्ताहरुको गन्तव्य भनेको दोस्रो बजार पनि हो । आईपीओमा परेको शेयर बिक्री गर्न दोस्रो बजार नै छिर्नुपर्ने हुन्छ । त्यसैले प्राथमिक बजारका लगानीकर्ता र साना लगानीकर्ताहरुले शेयर बजारको दोस्रो बजारमा पनि सक्रियता बढाउन सके शेयर बजार अझ विस्तृत र फराकिलो हुने देखिन्छ । प्राथमिक बजारमा होस् वा दोस्रो बजारमा ख्याल राख्नुपर्ने कुराचाहिँ के हो भने, शेयर बजारसम्बन्धी आधारभूत ज्ञान हुनै पर्छ । शेयर बजारमा प्रवेश गर्ने र लगानी गर्ने लगानीकर्ताहरुले शेयर बजारसम्बन्धी पूर्ण जानकारी लिनुपर्ने हुन्छ । साथै लगानीकर्ताहरु सचेत र सजग हुन पनि जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्