दुई महिना टिकेन राजमार्गको कालोपत्रे

दैनिक सयौं ट्रिपर सञ्चालनमा, हिलो र धूलोमा पुरिँदै सडक



नरेन्द्र केसी, दाङ । 

पूर्व–पश्चिम मदन भण्डारी राजमार्गअन्तर्गत प्युठान–सडकको खण्ड कालोपत्रे भएको केही समयमै पुरानै हालतमा पुगेको छ ।दाङ बंगलाचुली गाउँपालिकाको तापादेखि घोराही बजारहुँदै गोग्लीमा रहेको घोराही सिमेन्ट उद्योगमा चुन ढुंगा ओसारपसार गर्न दैनिक १ हजार बढी ट्रिपर सञ्चालन हुन थालेपछि कालोपत्रे दुई महिनामै भत्केको हो । जसका कारण सडकमा कालोपत्रे गरिएको अलकत्रा कतै देखिन्न भने जताततै खाल्डाखुल्डी परेका कारण पानी आउँदा हिलो र पानी कम हुँदा धूलोले यात्रा निकै सकसपूर्ण भएको छ ।

लामो समयसम्म यो सडक हिलो र धूलोको पर्याय बनेकोमा कालोपत्रे भएपछि स्थानीय हर्षित भएका थिए । तर, अहिले अवस्था दयनीय बनेको छ । ‘पहिले कालोपत्रे भए समस्या समाधान होला भन्ने ठानेका थियौं तर कालोपत्रे पनि भत्किएपछि हाम्रो आशा टुटेको छ’, घोराही–मुर्कुटी सडक सुधार सरोकार समितिका संयोजक एवं स्थानीय नारदमणि पोख्रेलले भन्नुभयो– ‘ट्रिपर आतंकै ज्यादै भयो, अब हामी नागरिक सडकमा आउनुको विकल्प छैन ।’अझ अचम्म त के छ भने ३१ करोड लागतमा जलजला निर्माण कम्पनीले कालोपत्रे गरेकोमा उसले पूरै भुक्तानी नपाउँदै सडकको कालोपत्रे सबै सकिएको छ । ‘कालोपत्रे गर्ने र कालोपत्रे सकिने काम सँगसँगै भएको छ’, निर्माण व्यवसायी ईश्वर पुनले भन्नुभयो– ‘सडक हस्तान्तरण नहुँदै यो हालत भयो, अब कालोपत्रे नै सकिएपछि के हस्तान्तरण गर्नु ? क्षमताभन्दा बढीका गाडी गुडाउँदा राज्यको यति ठूलो बजेट त्यसै खेर गएको छ ।’

त्यसो त सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्य पनि सडकको क्षमताभन्दा बढीका ट्रिपर गुड्ने भएकाले समस्या आएको बताउनुहुुन्छ । ‘यो सडक ट्रिपरका लागि हुँदै होइन’, उहाँले भन्नुभयो– ‘ट्रिपरका लागि गाडी चलाउन फरक विधिबाट सडक कालोपत्र गर्नुपर्छ तर यो मदन भण्डारी राजमार्ग भएकाले अन्य सडकको जस्तै कालोपत्रे छ, अहिले ट्रिपर तीनगुना बढी चलेकाले सडक यो हालतमा पुगेको हो ।’यो सडकमा पर्ने घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी र बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीको विचारमा अब ट्रिपरका लागि वैकल्पिक सडक नबनाए यो सडकको अवस्था भयावह हुन सक्छ ।

प्रमुख चौधरीले पहाडबाट सोझै सिमेन्ट उद्योगसम्म जोड्ने नयाँ ट्रयाक खुलेकाले त्यसलाई वैकल्पिक सडकका रूपमा स्थापित गर्न सकिने बताउनुभयो ।भर्खरै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङ पनि ट्रिपर आतंक देखेर हैरान भइसक्नुभएको छ । केही सुधारका काम थाले पनि त्यतिले नपुगेको भन्दै उहाँले जिल्लाका सरोकारवालाले वैकल्पिक सडकमै जोड दिनुपर्ने उहाँको भनाइ छ । त्यसका लागि आफूले पहल थाल्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्