नेवारी संस्कृतिमा नागपञ्चमी पर्व र महिमा



  • प्रेममान डंगोल

उपत्यकाका नेवारले नेवारी धर्म, संस्कृति र परम्पराअनुसार नागलाई विशेषरुपमा मान्दै आएका छन् । त्यसो भएरै नेवारी समुदायले नागलाई अत्यन्तै सम्मान गर्दै आइरहेका हुन् । नेवारी संस्कृतिमा अभिन्न रुपमा नागको विशेष स्थान रहिआएकाले नै नागलाई पूजा गर्ने, विभिन्न चाडबाड र जात्रामा पनि नागलाई विशेष महत्व दिई मान्दै आएको नेवारी संस्कृतिले झल्काइरहेको छ । नाग बस्ने ठाउँ अर्थात् नागको बासस्थानको आधारमा वज्रयान बौद्ध परम्पराअनुसार १२ तीर्थको पनि विकास भएको देखिन्छ । नागको वासस्थानअनुसार वरुण नागराज टेकु दोभानमा चिन्तामणि तीर्थ, तक्षक नागराजको चाँगु पुण्य तीर्थ, त्यस्तै शान्ति तीर्थ कोटेश्वर, शंकर तीर्थ शंखमूल, ज्ञान तीर्थ, प्रमोद तीर्थ, सुलक्षण तीर्थ, मनोरथ तीर्थ, राजतीर्थहरु विभिन्न नागका बासस्थान हुन् ।

हरेक वर्ष नागपञ्चमीका दिन ती नागका बासस्थान तीर्थमा गई नागलाई पूजा गर्ने गरिन्छ । त्यस्तै घरैपिच्छे नागको चित्र टाँसेर पूजा गर्दा नागले घरको रक्षा गर्छ, चट्याङ पर्दैन र प्रशस्त मात्रामा पानी पनि पर्छ भन्ने जनविश्वास छ । वज्र इन्द्रको हतियार हो भने इन्द्र र नागका पिता कश्यप ऋषि हुन् । कश्यप ऋषिकी श्रीमती कद्रुबाट नागको जन्म भएको हो । नाग सर्पहरुको राजा पनि हो । नागको पूजा गर्नुमा धार्मिक, सांस्कृतिक, सामाजिक र प्राकृतिक मान्यता पनि रहिआएको छ । विष्णु भगवान् र महादेवलाई अत्यन्तै मन पर्ने भएर नै शेषशायी भगवान् विष्णु नागमाथि विश्राम गर्नुहुन्छ भने महादेवले नागको माला लगाएर बस्नुभएको हो ।

बुद्ध धर्ममा पनि नागको महत्व छ । त्यसैले बुद्धको मुकुण्डोमा पनि नागको प्रतीक राख्ने गरिन्छ । नागहरुमा मुख्यतया आठ किसिमका अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलिर, कर्कट र शंखलाई विशेष रुपमा लिइन्छ । एउटा आख्यानअनुसार एकपटक नागले दुःख दियो भनी एकजना ज्यापु नेवार किसानले नागका बच्चाहरु मारिदिएछ । बच्चालाई खानेकुरा खोज्न गएको नाग फर्केर आउँदा आफ्ना बच्चा मारिराखेको देखी रिसले चुर भएर नागले त्यो ज्यापुलाई लखेटी–लखेटी मारिदिएछ । ज्यापुका परिवारलाई पनि मारिदिएछ । त्यस ज्यापुकी एउटी छोरी भने भाग्यले बाँचेकी रहिछिन् । अनि ती छोरीचाहिँले नागको प्रार्थना गर्दै धूप–बत्ती बालेर बसिछिन् । नाग आफनो सामु आउँदा अनुनय विनय गरी दूध खुवाइछिन् ।

यस प्रकार आफ्नो पूजा आराधना गरी दूध खुवाएकाले नागको रिस मरेछ र शान्त भएछ । अनि खुशी भई नागले उनलाई जीवनदान दिएछ । र, के माग्छ्यौ माग म दिन्छु भनेछ । उनले पनि मरिसकेका मेरा आमाबाबु, दाजुभाइ र दिदीबहिनी सबैलाई बचाइदिनुस् भनी मागिछिन् । नागले आफ्नो बचन गइसकेकोले तुरुन्तै ती सबैलाई बचाइदिएछ । त्यो दिन श्रावण शुक्ल पक्षको पञ्चमी परेको रहेछ । त्यही दिनदेखि उपत्यकाका ज्यापुहरुले नागको पूजा गर्दै आएको हो भन्ने जनविश्वास छ ।

नागपञ्चमीका दिन धापाखेलको नागदहमा ठूलो मेला लाग्छ । एउटा आख्यानअनुसार १६ वर्षकी तरुनी तर कुरुप एउटी किराँतिनीलाई लोग्नेले त्यागेर गएपछि यस्तो कुरुप भएर बाँचिरहनुको केही सार छैन बरु जंगली जनावरले खाएर मरौं भनी जंगलमा गइन् । जंगलमा हरिबोधिनी एकादशीदेखि कात्तिक पूर्णिमाका दिनसम्म खान नपाएर बस्नुप¥यो । उनलाई जंगली जनावरले पनि नखाएकाले आत्महत्या गरेर मर्छु भनी धापाखेलको नागदहमा फाल हालिन् । दैवसंयोग त्यही समयमा एउटा किराँत युवक पनि सिकार खेल्दै त्यहाँ पुगेछ ।

नागदहमा किरातिनी युवतीले हाम फालिरहेकोे देखी बचाएर बाहिर ल्याउँदा ती कुरुप युवती अत्यन्तै राम्री सुन्दरीको रुपमा देखा परिन् । उनले नयाँ रुप लिन पाएको त्यस नागदहको महिमाको गुणगान गर्दै नागपञ्चमीका दिन त्यहाँ ठूलो मेला लाग्ने गरेको हो भनिन्छ ।

भक्तपुरको सिद्धपोखरीमा पनि नागपञ्चमीका दिन ठूलो मेला लाग्छ । मल्ल वंशका प्रथम राजा अरि मल्लको शासनकालमा पानी नपरेर हाहाकार भएकाले राजाले तान्त्रिक विधिअनुसार सिद्धपोखरीमा नाग सिद्ध गरेका रहेछन् । त्यही सिद्धपोखरीको डिलमा बसेर एकपटक ठिमीका एकजना व्यापारी र उनको साथी तान्त्रिक गफ गरिरहेको समयमा सिद्धपोखरीका नागलाई ती तान्त्रिकले अनेक प्रकारले हाउभाउ गरी जिस्क्याउन थालेछन् । नागलाई साह्रै रिस उठेछ । उसले तान्त्रिकलाई पोखरीभित्र आई लड्न चुनौती दिएछ । तान्त्रिक पनि के कम, व्यापारी साथीलाई एक मुठी चामल मन्त्रेर दिँदै भनेछन्– ‘म नाग रुप लिई त्यो नागलाई मारेर आएपछि तिमीले मलाई यो चामलले हिर्काउनू ।’

यति भनेर त्यो तान्त्रिक पोखरीमा हाम फालेछ । केही समयपछि नागलाई मारेर तान्त्रिक फर्केर आउँदा व्यापारी साथी डराएर ठिमीतर्फ भाग्न थालेछ । साथीले चामलले हिर्काउला र पहिलेकै मान्छेको रुपमा आउँला भनी तान्त्रिक नाग जति–जति पछि लाग्छ उति–उति व्यापारी साथी डराएर भागेकाले तान्त्रिक नागको रुपमै त्यही सिद्धपोखरीमा बस्न बाध्य भएछन् भनिन्छ । आजसम्म पनि ठिमीका मानिस डरले त्यस सिद्धपोखरीमा जाँदैनन् । त्यस बेलादेखि सिद्धपोखरीमा नागपञ्चमीका दिन ठूलो मेला लाग्दै आएको छ ।

त्यसरी नै टौदहमा पनि नागपञ्चमीका दिन कर्कोटक नागराजको विशेषरुपमा पूजा गर्ने र मेला भर्ने परम्परा छ । महामञ्जुश्रीले उपत्यकाको पानी चोभारको हासिकापबाट बाहिर पठाउँदा कर्कोटक नागराज रिसाई बाहिर जान लाग्दा मञ्जुश्रीले नागराजलाई विन्तिभाउ गरी मनाएर टौदहमा राखेको हो भनिन्छ ।

नागराज कर्कोटकका रानीको आँखा दुखेको बेला बाटोमै भेटेका एकजना ज्यापुले रानीको आँखा दुख्ने रोग निको पारेकोले नागराज खुशी भई हिरामोती नवरत्नजडित भोटो ज्यापुलाई उपहार दिए । त्यो ज्यापुले खेतमा काम गर्दा भोटो फुकालेर खेतमै राखेको समयमा एउटा ख्याकले त्यो भाटो चोरेर लगेछ । एकदिन आफ्नो भोटो लगाएर रातो मच्छिन्द्रनाथको जात्रा हेरिरहेको ख्याकलाई देखी त्यो ज्यापुले यो भोटो मेरो हो, मलाई देऊ भनी झगडा गर्न थालेछ । रातो मच्छिन्द्रनाथले त्यो भोटो आफ्नो जिम्मामा लिई दुवैलाई प्रमाण लिएर आउन र जसको भोटो हो उसैलाई दिइनेछ भनेछन् । त्यही आख्यानअनुसार आजसम्म पनि हरेक वर्ष रातो मच्छिन्द्रनाथको जात्रा जावलाखेलमा पुग्दा यो कसको भोटो हो भनी देखाउने परम्परा रही आएको हो । यसैले हरेक वर्ष भोटो देखाउने जात्रा भनी रातो मच्छिन्द्रनाथले आफ्नो जिम्मामा रहेको भोटो देखाउँदै आइरहेको हो ।

यसरी उपत्यकामा नागका बारे विभिन्न आख्यान सुन्न पाइन्छ । त्यसै अनुरुप नेवारहरुको संस्कृति र परम्परा पनि चल्दै आएको देखिन्छ । नाग–नागिनी मारेर चलाइएको भक्तपुरको बिस्केट जात्रा, छुमा गणेशको जात्रा, नागको आसन बनाई बसेका गुरु गोरखनाथलाई आसनबाट उठाएर वर्षा गराई सहकाल ल्याउन गुरु गोरखनाथका पनि गुरु रातो मच्छिन्द्रनाथलाई आसामको कामरुप कामाख्याबाट ल्याई जात्रा चलाउनु पनि नागसँग सम्बन्धित छ ।

प्रतिक्रिया दिनुहोस्