वालिङका किसानलाई अनुदानमा भैँसी वितरण



अमृत अर्याल, स्याङ्जा ।

स्याङ्जाको वालिङ नगरपालिकाले यहाँका कृषकहरुलाई भैंसी वितरण गरेको छ । नगरपालिकाले ब्यावसायिक पशुपालनमा किसानलाई आकर्षित गर्न अनुदानमा उन्नत जातका भैंसी वितरण गरेको हो । नगरभित्रका वडा नं. ९, १३ र १४ का ३३ कृषकहरुलाई ब्यवसायिक दूध उत्पादन प्रवद्र्धन गर्नका लागि नगरपालिकाले लागत साझेदारीमा भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत ६२ वटा भैंसी वितरण गरेको हो ।

उक्त कार्यक्रमका लागि पशु सेवा शाखाको आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक स्वीकृत कार्यक्रम लागत साझेदारी अन्तर्गत रु. २६ लाख ४५ हजार र कृषकहरुको ५० प्रतिशत लागत साझेदारीमा करीब रु. ५३ लाख खर्च भएको छ । भैंसीपालनका लागि संभावित ठाउँ तथा कृषकहरुको मागका आधारमा तीन वटा वडा छनौट गरी माउ भैंसी वितरण गरिएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

परम्परागतरुपमा भैंसीपालन गर्दै आउनुभएका कृषकहरुलाई आधुनिक तरिकाले उन्नत जातका भैंसीपालनतर्फ आकर्षित गरी वालिङलाई दूधमा आत्मनिर्भर बनाउने उद्देश्यले भैंसी प्रवद्र्धन कार्यक्रम राखिएको उहाँले बताउनुभयो । “परम्परागतरुपमा भैंसीपालन गर्दा फाईदा नहुने भएकाले ब्यवसायिकतामा जोड दिंदै कृषकको आर्थिकस्तर सुधार्नका लागि यो कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छु” उहाँले भन्नुभयो, “पशुपालनमा ब्यवसायिकता हुँदै गर्दा दूधमा आत्मनिर्भर हुने र कृषकहरुमा थप ब्यवसायिकतातर्फ लाग्न उर्जा तथा उत्प्रेरणा थपिने छ ।”

नगरपालिकाले माग गरेको आवेदनका आधारमा कृषकहरुले ५० प्रतिशत लागत साझेदारीमा उन्नत मुर्रा क्रस जातका भैंसी खरीद गरिएको पशु शाखाका प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो । हाल तीनवटा वडामा सञ्चालन भएको भैंसी प्रवद्र्धन कार्यक्रम अन्तर्गत केही कृषकले दुई वटा र केही कृषकले एउटाका दरले भैंसी खरीद गरेको डा. अधिकारीले बताउनुभयो ।

नगरपालिकाले तयार गरेको कार्यविधि अनुसार प्राप्त निवेदन, गोठ अनुगमनलगायत विभिन्न आधारमा अनुदानमा भैंसी पाउने किसानको छनोट गरिएको अधिकारीको भनाइ छ ।

परम्परागत तरिकाले निर्वाहमुखीभन्दा पनि कृषकहरुलाई ब्यवसायिकतामा जोड दिनका लागि नगरपालिकाले नीति तथा कार्यक्रममा नै कृषिलाई प्राथमिकतामा राखेकाले सोही अनुसार कार्य अगाडि बढाएको हो । “कृषकहरुको मागका आधारमा अनुदान, लागत साझेदारीमा विभिन्न सहयोगहरु उपलब्ध गराउँदै आएका छौं” डा. अधिकारीले भन्नुभयो, “यसका अलावा समयानुसार तालीम, प्राविधिक सहयोग, घाँस तथा अत्याधुनिक औजार तथा उपकरणहरु सहयोग गरिएको छ ।”

प्रतिक्रिया दिनुहोस्