नगरप्रमुख बाढि पिडितको बस्तीमा



अमृत अर्याल, स्याङजा ।

लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ । वर्षातले कालीगण्डकी नदिको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी पिडितहरुको बस्तीमा पुग्नुभएको हो । नगरप्रमुख अधिकारीले तत्कालिन राहतको रुपमा जनही पाँच हजारका दरले बाढि पिडितलाई रकम हस्तान्तरण पनि गर्नुभएको छ । केही दिन अगाडि अबिरल परेको पानीका कारण सेतीबेणीमा रहेका दशवटा पसलमा बाढिले असर पुर्‍याएको थियो भने एक घर पूर्ण रुपमा क्षति भएको थियो । पूर्ण क्षति भएका परिवारलाई २० हजार र अन्य पिडित सहित १९ परिवारलाई पाँच हजारका दरले नगरप्रमुख अधिकारीले तत्कालिन राहत उपलब्ध गराउनुभएको हो ।

बाढिले तहसनहस बनाएको सेतीवेणी क्षेत्रको अवलोकन पछि नगरप्रमुख अधिकारीले पिडितहरुलाई उचित क्षतिपूर्तिको पहल गर्ने बताउनुभयो । उहाँले नगरवासीलाई समस्या पर्दा आफु सधैं समाधानको प्रयत्नमा लाग्ने भन्दै पालिकाको तर्फबाट र अन्य निकायबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो । नगरप्रमुख अधिकारीले सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा बैकल्पिक बसोबासको व्यवस्थाका लागि आफुले पहल गर्ने बताउनुभयो । कालिगण्डकी ए जलविद्युत परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहना अनुसार आफुले दीर्घकालिन समाधानको पहल गर्ने उहाँले बताउनुभयो । नगरप्रमुख अधिकारीले भन्नुभयो –‘दुर्गम क्षेत्रमा रहेका र विपन्न परिवारहरु राहत लिन कम पुग्ने गर्नुभएको छ, तर मेरो प्राथमिकता त्यही वर्गमा रहनेछ ।’

गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले स्थानीयको समस्या समाधानमा आफु सधैं प्रयासरत रहेको बताउनुभयो । स्थानीयबासीले भने कालिगण्डकी ए जलविद्युत परियोजनाको कारण आफुहरुले वर्षेनी पिडा भोग्नुपरेको गुनासो गरेका छन् । मनसुनी वर्षा प्रकृतिको नियम भए पनि, यस क्षेत्रको कमजोर भौगोलिक तथा भौगर्भिक अवस्था र कालीगण्डकी जलविद्युत परियोजनाको बाँधका कारण हरेक वर्षझैं यो पटक पनि सेतीवेणीमा डुबानको खतरा छ ।

यो क्षेत्र प्रत्येक बर्ष असारदेखि असोजसम्म डुबानको चपेटामा पर्दै आएको सर्वविदितै छ । सरसरर्ती हेर्दा डुबान प्राकृतिक विपत्ति देखिए पनि यसको कारक तत्व मानवनिर्मित संरचना नै हुन् । यस विषयमा संघ, प्रदेश र स्थानीय तहसमेत जानकार छन् । बाढीपहिरो जोखिमको पूर्वतयारी, उद्धार तथा राहत वितरणका लागि ठोस योजना र समन्वय हुन नसक्दा हरेक वर्ष नागरिकले ठूलो सास्ती खेप्नु परिरहेको छ । हरेक बर्ष सेतीवेणी क्षेत्रको भूभाग डुबानमा परेपछि मात्र सरकारदेखि जनतासम्म जाग्ने गरेका तीतो सत्य हाम्रा सामु छर्लंग छ । डुबान र कटान समस्या दलहरूको चुनावी नारामै सीमित छ । जब ती चुनाव जितेर सरकार हाँक्न थाल्छन्, तब यसलाई बोध गर्न सक्दैनन् । हरेक वर्ष यस क्षेत्रका जनताले यो चुनौती सामना गरिरहनुको पछाडिको एउटा कारण यो पनि हो ।

प्रतिक्रिया दिनुहोस्