साहसिक पर्यटनको साथ हिमाल र उपत्यकाको दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा



पुष्कर बुढाथोकी, भक्तपुर।

पछिल्लो समय भक्तपुरको पाइलट बाबा, घ्याम्पेडाँंडा ,रानीकोट क्षेत्र पर्यटकको आकर्षणको केन्द्र बनेका छन् । सुर्यविनायक नगरपालिका–७ मा अबस्थित यी क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य पर्यटक आउने जाने क्रम बढेको छ ।

यसै क्षेत्रमा पर्यटकलाई उपत्यकाको रमणीय दृश्यावलोकन गर्दै जीपलाईनको मज्जा दिलाउन घ्याम्पेडाँंडामा अत्याधुनिक जीपलाइन निर्माण भएको छ । ‘योयो जीपलाइन’ नेपाल केमेलियन प्रा.लि. अन्तर्गत निर्माण र सञ्चालन भएको हो । प्रा.लि.का सञ्चालक विज्ञान राईले जीपलाइनको निर्माण लागत रु २६ करोड रहेको बताउनुभयो ।

जीपलाइन अन्तर्गत १ हजार २ सय मिटरको जीपलाइन, ४ सय ५० मिटरको सर्ट जिपलाइन, स्काई साइक्लिङ, क्यानोपी साइक्लिङ, स्विइङ, ट्रि–हाउस भ्यू, होमस्टे, होटल र रेष्टुरेन्ट सेवा सञ्चालन ल्याउने गरी तयारी गरिएको सञ्चालक राईको भनाई छ ।

जीपलाइन सेवा अघिल्लो वर्षको बैशाखदेखि नै सञ्चालनमा लक्ष्य लिइएको थियो । तर, कोरोनाभाइरस महामारीसँगै सरकारले घोषणा गरेको लकडाउनपछि सेवा सञ्चालनमा ढिलाइ भएको हो । त्यसो त पछिल्लोपटक निषेधाज्ञा जारी हुनुुभन्दा अगाडि करिब ३ महिना जीपलाइन सञ्चालनमा आएको थियो ।

योयो जीपलाइनका अपरेसन म्यानेजर जीभकृष्ण ताम्राकारले सांलनका लागि सबै प्रकारले तयारी अवस्थामा रहकोे र सरकारले सेवा सञ्चालनको अनुमति दिनेबित्तिकै सबै प्रकारका सेवा सञ्चालन सुरु गरिने बताउनुभयो ।

साहसिक पर्यटनको अनुभव लिन सकिने र १/२ घण्टादेखि १/२ दिनसम्मको बसाइँका लागि समेत जीपलाइनले सेवा दिनसक्ने अवस्था रहेको उहाँको भनाइ छ । जीपलाइन बाहेक रात बिताउन चाहनेलाई आफ्नै होमस्टे, दिनमा रमाउन चाहनेलाई डे–पिकनिकदेखि होटल रेष्टुरेन्टसम्मका सेवा समेत एकै ठाउँबाट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

अहिले कम्पनीले आफ्नै परिसरमा करिब ६० जना क्षमताको होटल निर्माण गर्दैछ । त्यस्तै होमस्टे सेवा पनि सञ्चालनको अन्तिम चरणमा रहेको अपरेसन म्यानेजर ताम्राकारको भनाई छ । कम्पनीले हाल १४ जना प्राविधिकसहित ४० जना कर्मचारीबाट सेवा सञ्चालन गर्ने तयारी गरेको छ ।

२ हजार किलोग्राम लोडलाई सहजै धान्नसक्ने जीपलाइनको क्षमता छ। जीपलाइन चढ्न चाहनेलाई सुरक्षाबारे सुरुमै काउन्सिलिङ गर्ने भएकोले अनावश्यक रुपमा आत्तिने र डराउने समस्या समेत कम हुने कम्पनीको दाबी छ ।

जीपलाइनका टेक्निकल इन्चार्ज दिनेश रायमाझीका अनुसार क्लाइन्ट डराउने वा अन्य कारणले समस्या भयो भने पनि तुरुन्त रेस्क्यु गर्ने ब्यबस्था रहेको बताउनुभयो ।कम्पनीले कानूनी व्यवस्था र सम्भावित दुर्घटनाको क्षति न्यूनीकरणका लागि अजोड इन्स्योरेन्ससँग सहकार्य गरेर प्रत्येक सेवाग्राहीको १० लाख रुपैयाँ बराबरको बीमा समेत कम्पनीले गरेको बताउनुभयो ।

हाल १२०० मिटरको जीपलाइनका लागि सिंगलको ३ हजार रुपैयाँ, जोडीका लागि ३ हजार ५ सय रुपैयाँ र सुपरम्यानका लागि ३ हजार ५ सय रुपैयाँ शुुल्क तोकिएको छ । ४५० मिटरको सर्ट जिपलाइनका लागि सिंगलको १ हजार ५ सय रुपैयाँ, जोडीका लागि २ हजार ५ सय रुपैयाँ र सुपरम्यानका लागि २ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको कम्पनीका एकाउन्ट म्यानेजर दीपेन्द्र प्रजापतिले जानकारी दिनुभयो ।

स्काई साइक्लिङका लागि एकतर्फी १ हजार ५ सय र दुईतर्फी २ हजार रुपैयाँ, क्यानोपी साइक्लिङका लागि एकतर्फी १ हजार ८ सय र दुुईतर्फी २ हजार ५ सय रुपैयाँ शुुल्क निर्धारण गरिएको छ । स्विइङको शुल्क भने ४ हजार रुपैयाँ तोकिएको छ । भिडियो खिच्नेको हकमा थप ५ सय रुपैयाँ शुल्क निर्धारण गरिएको प्रजापतिको भनाइ छ ।

योयो जीपलाइनले सेवा सञ्चालन लगत्तै २० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । समूहमा आउनेका हकमा ४० प्रतिशतसम्म छुट दिन सकिने जनाइएको छ ।

एक दिनमा ६ सय भन्दा बढीलाई सेवा दिनसक्ने क्षमता रहेको छ । जीपलाइनका लागि सस्तोटिकट, रोजबेरी होम्स लगायतसँग सहकार्यमा बुकिङको व्यवस्था समेत गरिएको छ । २०७६ मंसिरमा जीपलाईनको शिलान्यास गरिएको थियो ।तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरि जीप लाईनको निर्माण गरिएको हो ।

कोभिड संक्रमणले यसलाई समेत निर्माणाधिन अबस्थामै प्रभाव पारेको छ । १७४१ फिटको उचाईमा रहेको उक्त स्थान उपत्यकाकै प्रदुषण कम भएको ठाउँको र १७ वटा मनोरम हिमाली शृङ्खलाहरुको साथमा उपत्यकाका तीनवटै शहर देखिने क्षेत्र हो ।संचालक बिज्ञान राईले उपत्यका मै पहिलो पटक संचालन भएको जिप लाईन आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षण बन्ने बताउनुभयो ।

घ्याम्पेडाँडा रानीकोट गढी हावाघरबाट सुरु हुने जीप लाईन पाईलट बाबा आश्रम पछाडिको नयाँ गाउँसम्म जाने गरि निर्माण भएको हो । रानीकोट गढी हावाघरमा एउटा पोल र पाईलटबाबा आश्रम पछाडि रहेको नयाँगाउँमा अर्को पोल राखेर तारको माध्यमबाट प्राकृतिक सौन्दर्य अवलोकन गर्दै यात्रा गर्ने गरि जीप लाईनको निर्माण गरिएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई विशेष ध्यानमा राखी आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ उक्त आयोजना शुरु गरिएको थियो तर कोभिड संक्रमणले यसलाई समेत निर्माणाधिन अबस्थामै प्रभाव पारेको छ ।

पर्यटकलाई आकर्षण गर्न आयोजना निर्माणसँगै विशेष प्रकारको योजना सार्वजनिक गद जाने समेत लक्ष्य रहेको जनाइएको छ । काठमाडौँबाट १९ किलोमिटरको दुरीमा रहेको छ उक्त पर्यटकीय स्थान ।उक्त स्थानमा नीजि क्षेत्रका लगानीकर्ताले विशेष लगानीको कार्यहरु गरिरहेका छन् भने पर्यटन क्षेत्रको विकासको लागि उक्त स्थानको नजिकै रहेको रानीकोटबाट प्याराग्लाइडिङको सफल परिक्षण सम्पन्न भइसकेको छ । बन्जी जम्पको प्रकृया समेत अघि बढेको छ भने आसपासका क्षेत्रहरुमा इको भिलेज, होम स्टेलगायतका पर्यटकीय क्षेत्रको कार्यहरु अघि बढेका छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री महशे बस्नेतले गुण्डुबाट घ्याम्पेडाँडा रानीकोटसम्मको ४५ मिनेटको पदयात्रामा पाथीभराको ताप्लेजुङ्ग, रसुवाको गोसाईकुण्ड र अन्नपूर्ण बेसक्याम्प गएजस्तै अनुभव हुने गरेको बताउनुभयो ।

पाँच करोडको लागतमा सूर्यविनायकबाट उक्त स्थानसम्म पुग्ने दुई लेनको सडक बनिसकेको उल्लेख गर्दै उहाँले ललितपुरको बालकुमारीबाट १२.५ घ्याम्पेडाँडासम्म पुग्ने छोटो दुरीको रुपमा ४० करोडको लागतमा अर्को सडक निर्माणको प्रकृयामा रहेको जानकारी गराउनुभयो । पाण्डुबजार गुण्डु बस पार्कबाट उक्त स्थानसम्म पुग्ने सडक निर्माणको चरणमा रहेको जानकारी गराउँदै उहाँले सडक सञ्जालले जोडिएको क्षेत्र भएकाले पर्यटकीय तथा लगानीमैत्री वातावरणको रुपमा उक्त स्थानको परिचय फेरिदै गएको उल्लेख गर्नुभयो ।
नीजि व्यवसायीलाई नकरात्मक रुपले चर्चा गर्नु गलत भएको उल्लेख गर्दै नीजि क्षेत्रको लगानी नभई विकास र समृद्धि हासिल गर्न नसकिने उल्लेख गर्दै उहाँले स्थानीय तहले नक्सा पास तथा करमा निश्चित समयसम्म छुट दिनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्