बजार खुला, निषेधाज्ञा यथावत्



नेपाल समाचारपत्र, बाँके ।

बजार पूर्णरूपमा खुलेको छ । निजी सवारीसाधन चलेका छन् । नेपालगन्ज–कोहलपुर भाडाका सवारीसाधन पनि चलेका छन् ।
कोरोना कहर करिब–करिब सकिएको छ । निर्वाधरूपमा मानिसहरु आ–आफ्ना काममा निस्केका छन् । नेपालगन्जमा पूर्ववत् अवस्थामा फर्किएको छ ।

स्थानीय प्रशासनले भने जोखिम अझै रहेको भन्दै निषेधाज्ञालाई निरन्तरता दिइरहेको छ । सोमबार नै ३१ गतेसम्मलाई निषेधाज्ञालाई निरन्तरता दिएको सूचना जारी गरिएको छ । स्थानीय प्रशासनले पसल खुल्ने अवधि भने बिहान ९ देखि बेलुका ७ बजेसम्म पु¥याएको छ । बिहान ९ देखि बेलुका ७ बजेसम्म पसल खोल्न दिनु भनेको निषेधाज्ञा हटाएजस्तै मान्न सकिन्छ । केही कार्यलाई भने निषेधाज्ञाले रोकेको छ ।

शैक्षिक संस्था, सबै प्रकारको सभा, प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, फन पार्क, पार्टी प्यालेस, क्यासिनो, दोहोरी, जिम खाना, लामो दुरीको सवारी साधन, अत्यावश्यकबाहेक जिल्ला प्रवेशमा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको बताउनुभयो । उहाँले कोरोनाको संक्रमण दर क्रमशः घट्दै गए पनि अझै जोखिम नै रहेको बताउनुभयो ।

नेपालगन्जमा बैशाख ९ र जिल्लाभर वैशाख १३ गतेदेखि निषेधाज्ञा लगाइएको छ । पसल व्यवसाय सञ्चालनको अवधि भने बढाउदै लगिएको छ ।

नेपालगन्जमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुने क्रम रोकिएको छैन । आइतबार राति र सोमबार दिउँसो गरेर दुई जनाको भेरी अस्पतालमा मृत्यु भएको छ । बाजुराको बुढिनन्दा नगरपालिका–७ का ६२ वर्षीय पुरुषको भेरीमा मृत्यु भएको हो । असार १७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । बर्दिया गुलरिया नगरपालिका–४ का ५९ वर्षीया महिलाको भेरीमा मृत्यु भएको छ । असार २० गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको सोमबार दिउँसो २।३० बजे मृत्यु भयो ।
सोमबार जिल्लामा ३१ जना कोरोना संक्रमित थपिएका छन् । तीनवटा ल्याबमा १ सय ६९ जनाको परीक्षण गर्दा ३१ जनामा कोरोना देखिएको हो । तीमध्येमा ९ जना बाँकेका रहेका छन् ।

भेरी अस्पतालमा १ सय ७ जनाको परीक्षण गर्दा २४ जना, कोहलपुर मेडिकल कलेजमा ३१ जनामा ३ र बागेश्वरी ल्याबमा ३१ जनाको जाँच गर्दा ४ जनालाई कोरोना पुष्टि भएको हो । जिल्लामा ६७ जना सक्रिय संक्रमित रहेका छन् । अस्पतालहरुमा १५ जना सिकिस्त, ३१ जना मध्यम र ५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोरोनाका लागि छुट्याइएको यहाँका अस्पतालका ८४ प्रतिशत बेड खाली भएका छन् । फाटफुट कोरोना देखापरिरहेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु भइरहेको छ । जिल्लाको संक्रमण भने घटेको छ । यस्तो निषेधाज्ञा लगाइरहनु उचित नभएको व्यवसायीहरुले बताइरहेका छन् । स्थानीय प्रशासनले भने एकैपटक निषेधाज्ञा नहटाएर पसल खोल्ने समय बढाउदै लगेको छ ।

प्रतिक्रिया दिनुहोस्