गाउँमै नदी बग्दा हुकुमबासी बने सुकुम्बासी

लक्ष्मणपुर बाँध र भारतीय तटबन्धको असर



कुमार श्रेष्ठ, बाँके ।

चार सय घरधुरी भएको ठाउँमा खानेपानीका लागि गाउँमा कुवा खनियो । अहिले त्यो चार सय घर भएको गाउँमा राप्ती नदी बग्छ । घरहरू अन्यत्र सारियो, ती घरका मानिसलाई खुवाउन खनिएको कुवा अहिले पनि नदी किनारमै छ ।

यो बाँकेको नरैनापुर गाउँपालिका–५, भगवानपुरको कथा हो । स्थानीय कैलाशप्रसाद तिवारी भन्नुहुन्छ, ‘२०७१ सालमा राप्ती नदीले धार परिवर्तन गरेपछि गाउँको उठिबास लाग्यो । गाउँमा अहिले राप्ती नदी बग्छ ।’ दुर्गाप्रसाद श्रीवास्तव, तैयव पठान खाँको घरछेउमै रहेको कुवा अहिले नदी किनारमा परेको छ । श्रीवास्तव र पठानको घरको त्यहाँ नामोनिसान छैन ।

कैलाशको १७ कठ्ठा जमिनमा अहिले नदी बग्छ । पहिला नदी तीन किलोमिटर टाढा थियो । २०७१ सालमा ठूलो बाढी आउँदा नदी गाउँतिर आइपुग्यो । नदीले धार परिवर्तन गर्नुमा भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधको कारणले हो भन्नुहुन्छ श्रीवास्तव । भारतले सन् १९८५ देखि शुरू गरेर १९९० मा राप्ती नदीमा एकतर्फीरूपमा लक्ष्मणपुर बाँध र सन् २००० मा कलकलवा तटबन्ध निर्माण गरेको छ । त्यसका अलावा केही वर्षयता दशगजामै सटाएर सडकजस्तो बाँध बनाएको छ । जसले राप्ती नदी तथा स्थानीय खोलाहरूको पानीको बहावलाई रोकिदिँदा बाँकेका आधा दर्जन गाउँहरू वर्षेनी डुबानमा पर्दै आएको छ ।

श्रीवास्तवसँग अहिले डेढ बिगाह जमिन छ । गाउँमा नदी नपस्दा श्रीवास्तवले वर्षेनी दश क्विन्टल धान, गहुँ बेच्नुहुन्थ्यो । अहिले बेच्नु त परा जाओस् खाना नै ठिक्क हुने गरेको श्रीवास्तव बताउनुहुन्छ । ‘पहिला धान, गहुँ बेच्थें । अहिले खाना ठिक्क हुन्छ’, श्रीवास्तवले भन्नुभयो– ‘खेत नदी बने पनि राजस्व भने तिरिरहेको छु ।’

‘पहिलो रमाइलो गाउँ थियो । भारतले राप्ती नदीमा लक्ष्मणपुर बाँध र तटबन्ध बनाइदिएपछि गाउँ नै नदी बन्यो । हाम्रो गाउँ नै तहसनहस भयो । मान्छेको उठीबास लाग्यो । डेढ सय बढी घर स्थानीय गणपति सामुदायिक वनमा बसेका छन्’ –श्रीवास्तव सम्झिनुहुन्छ ।

दुर्गाप्रसाद श्रीवास्तवको दश विगाह, मीनराज तिवारी, नन्दकिशोर तिवारी, मुर्तजा खाँको दुई/दुई बिगाह, तैयव पठान खाँको एक बिगाह जमिन खोलामा परेको छ । तैयव र मुर्तजा हुकुम्मबासीबाट सुकुम्बासी भएका छन् । दुर्गाप्रसाद श्रीवास्तवले नदीले हजार बिगाह जमिन कटान गरेको बताउनुभयो ।

लक्ष्मणपुर बाँधले गर्दा धेरै क्षति पुगेपछि सन् २००३ मा भारतले राप्ती नदीको दुवै किनारमा २८ किलोमिटर पक्की तटबन्ध बनाइदिने आश्वासन दिएको थियो । त्यो आश्वासन अहिलेसम्म पूरा गरेको छैन । भारतले लक्ष्मणपुर बाँध बनाएपछि बाँकेका ६ हजार बढी मानिस विस्थापित भइसकेको बाढीपीडितको सवालमा काम गरेको फियान नेपालको तथ्यांक छ ।

भारतले तटबन्ध बनाउन आलटाल गरेपछि सरकारले जनताको तटबन्ध कार्यालयमार्फत १७.५ किलोमिटरमा तटबन्ध गरेको छ । यो विस्तारकै क्रममा रहेको छ । दिन त अहिले पनि भारतले राप्ती नदीको बायाँ २२.१५ र दायाँ २३.२५ किलोमिटर तटबन्ध बनाइदिने आश्वासन दिइरहेको छ । यो पछिल्लो कामका लागि टेन्डर प्रक्रिया शुरू हुन थालेको जनताको तटबन्धका इन्जिनियर महेशराज श्रेष्ठले बताउनुभयो । यसका लागि भारतले नौ अर्ब दिने बताएको छ ।

विगतको वर्षजस्तै यो वर्ष पनि बर्खामा बाढीको खतरा रहेको छ । भगवानपुरका स्थानीय बासिन्दा पक्की तटबन्ध छिटोभन्दा छिटो बनेमा बचेको गाउँ जोखिने बताउँछन् । ‘वर्षेनी नदीले कटान गरिरहेको छ । छिटोभन्दा छिटो तटबन्ध बनाइएन भने हाम्रो मात्रै होइन, तटीय क्षेत्रका धेरै गाउँको नामो निसान रहँदैन’ –दुर्गाप्रसाद श्रीवास्तवले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्