महामारीका बीच अदालतले शुरु गर्‍यो थुनुवाहरुको मुद्दा सुनुवाई



मोतीराम तिमल्सिना, काभ्रे ।

कोभिड-१९ को महामारीका कारण नियमित सेवा सञ्चालन हुन नसके पछि जिल्ला अदालत काभ्रेपलाञ्चोकले असार १ गते देखि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै कारागार कार्यालयमा रहेका थुनुवाहरुको मुद्दा भर्चुअल विधि मार्फत सुनुवाई गर्न शुरु गरेको छ ।
भर्चुअल विधिबाट गर्ने मुद्दाहरुको साप्ताहिक पेशी अदालतले प्रकाशन गरिसकेको श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले जानकारी दिनु भयो । अदालतबाट श्रब्यदृश्य संवाद मार्फत मुद्दाको सुनुवाई गर्न सकिने गरी २०७८ जेठ १३ देखि लागु भएको निर्देशिकाका आधारमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले यस अघि नै यो विधि प्रयोग गरिसकेको थियो ।

तर मंगलबारबाट भने थुनुवा मुद्दाको पनि भर्चुअल विधिबाट सुनुवाई शुरु भएको छ । यसले लामो समयसम्म मुद्दाको फैसला नभई थुनुवाको रुपमा रहेका ब्यक्तिहरुको टुङ्गो लाग्ने छ । अदालतको जेठ २८ गते बसेको पूर्ण बैठकले थुनुवा मात्रै प्रतिवादी भएका मुद्दा र सुधारगृहमा रहेका बालबालिका पक्ष भएका मुद्दा एक दिनमा बढीमा दुईवटासम्म सुनुवाई गर्ने निर्णय गरेको थियो । त्यस्ता मुद्दाको सुनुवाईमा सहभागी कानून ब्यवसायी, थुनुवा तथा बालबालिका श्रब्यदृश्य संवादको माध्उमबाट सुनुवाईमा सहभागी गराउने अदालतको निर्णय छ ।

‘थुनछेक बहसमा सहभागी हुने कानून ब्यवसायीहरु अदालतको पूर्वनिर्णय अनुसार श्रब्यदृश्य संवादकै मध्यमबाट सहभागि हुने निर्णय भएको छ’–श्रेस्तेदार गोविन्दप्रसाद घिमिरेले भन्नुभयो–‘मिलापत्र गर्ने प्रयोजनका लागि दर्ता गर्न ल्याएको सम्वन्धविच्छेद मुद्दामा विपक्षीको नामको म्याद बादीले तामेल गराउने गरी आएका फिराद र त्यस्ता मुद्दाको प्रतिउत्तरपत्र ल्याउँदा अनिवार्य रुपमा स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन गरी पक्षहरु र निजका कानून ब्यवसायीहरु मात्र उपस्थित हुने ब्यवस्था गरेका छौं ।’ पक्षहरुले मिलापत्र गर्न संयुक्त निवेदन दिएमा एक दिनमा बढीमा दुई वटासम्म मात्रै निवेदन दर्ता गर्ने अदालतले निर्णय गरेको छ ।

मुद्दा फिर्ता गर्न पक्षले निवेदन दिएमा दिनमा २ वटा निवेदन उपर कारवाही गर्ने, कुनै विदेशी ब्यक्ति संलग्न भई दर्ताद्धारा विवाह गर्ने गरी निवेदन ल्याएमा भिसा समाप्त हुने अवस्था देखिए त्यस्तो निवेदन दर्ता गरी कारवाही गर्ने, कुनै ब्यक्ति विदेश जानु पर्ने भई अधिकृत वारेसनामा दिनुपर्ने भएमा हवाई टिकट र भिसाको प्रमाण सहित निवेदन दिएमा एक दिनमा एकवटा निवेदन दर्ता गरी कारवाही गर्ने, अन्य सेवाहरु पूर्ववत रुपमा सञ्चालन गर्ने निर्णय गरेको शाखा अधिकृत तथा सूचना अधिकारी देवराज भट्टराईले जानकारी दिनु भयो ।

सोहि निर्णय अनुसार अदालतले साप्ताहिक पेशी सार्वजनिक गरिसकेको छ । पेशी अनुसार जिल्लामा कार्यरत प्रमुख जिल्ला न्यायाधिश सुर्यप्रसाद पराजुली, जिल्ला न्यायाधिश भिस्मराज प्रसाई र जिल्ला न्यायाधिश महेन्द्रराज काफ्ेलेले थुनुवा मुद्दाको भर्चुअल विधीबाट सुनुवाई गर्नु हुनेछ । कोभिड १९ का महामारीमा जिल्ला अदालतले नागरिकहरुलाई न्याय दिन निरन्तर विभिन्न माध्यमबाट सेवा प्रभाव गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्