विद्युत् पोलका कारण आगलागीको जोखिम बढ्यो



विमल विष्ट,डोटी ।

पुरानो क्षेत्रीय सदरमुकामसमेत रहेको जिल्लाको सबैभन्दा पुरानो बजार पिपल्लामा बिस्तार गरिएका विद्युत्का पोल मर्मत नगरिएका कारण आगलागीको जोखिम बढेको छ । बजारमा विद्युत् विस्तारका लागि गाडिएका पोलहरू पुराना भएका तथा मर्मत र व्यवस्थित नगरिएका कारण जोखिम बढेको हो ।वर्षौं पहिले गाडीएका पोलहरू खिया लागेर केही आधा भाँचिएका छन् भने केही पोल ढल्ने अवस्थामा रहँदासमेत सम्बन्धित निकायले मर्मत सम्भारका लागि पहल नचालेका कारण आगलागीको जोखिम बढेको स्थानीयवासीको गुनासो छ ।

बजारबासीले पुराना तथा खिया लागेर ढल्ने अवस्थाका पोलहरू मर्मत सम्भार गर्न तथा नयाँ पोल राख्न विद्युत् कार्यालयलाई आग्रह गर्दा पनि कुनै वास्ता नगरेको दिपायल पिपल्लाका स्थानीयवासी मोहनबहादुर पातलीले आरोप लगाउनुभयो ।दैनिकको हावाहुरी र वर्षात्का कारण बजारको चारैतिर विद्युत् लाइन दिइएको पोल ढल्ने अवस्थामा पुगेका छन् । यहाँको दिपायल सिलगढी नगरपालिका–४ स्थित पिपल्ला बजारमा पोल गाढेको ठाउँबाट नाली बनाइएका कारण विद्युत् पोल ढल्ने अवस्थामा पुगेका छन् । बजारका व्यापारीहरूले पटक–पटक विद्युत् कार्यालयलाई जानकारी गराउँदा पनि पोल मर्मतका लागि कार्यालयको कुनै प्रक्रिया अगाडि नबढाएको व्यापारी दिव्यराज पाठकले बताउनुभयो ।उहाँले भन्नुभयो– ‘विद्युत् पोल गाडिएका ठाउँबाट नै नाली खनिएको छ, पोलहरू सामान्य हावाहुरी चल्दा पनि ढल्ने अवस्थामा छन्, ठाउँसारीका लागि आग्रह गर्दा कर्मचारीले टेर्दैनन्, आगलागी भए जिम्मेवार को हुने ?

विद्युत् कार्यालय र त्यहाँका कर्मचारीले पोल गाडिएका ठाउँबाट नाली निर्माण गर्दा पोल ढल्ने खतरा बढेको जानकारी पाए पनि सार्नका लागि कुनै पहल नचालेका कारण आगलागी हुने खतरा बढेको हो ।यहाँका बजारमा पोल ढलेको खण्डमा बजारमा तार खसेर पूरै आगलागी हुने सम्भावना रहेको अर्का स्थानीय मानबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पोल ढल्नेबित्तिकै बजारमा आगलागी हुने अवस्था छ, कतिबेला पोल ढल्छ र आगलागी हुन्छ भन्ने चिन्ताले सताएको छ ।’ यति मात्र नभई विद्युत् विस्तार गरिएका पोलहरूमा नेपाल टेलिकमका ल्यान्डलाइन तथा एफटीटीएच सेवाका तारहरूसमेत ग्राहकलाई वितरण गरिएका छन् । नेपाल विद्युत् प्राधिकरणसँग भएको सम्झौताअनुसार आफूहरूले विद्युत् पोलबाट सेवा वितरण गरेको नेपाल टेलिकम दिपायल राजपुरले जनाएको छ ।उता विद्युत् कार्यालय दिपायल पिपल्ला केन्द्रका सहायक प्रमुख विश्वनाथ शाहले अव्यवस्थित पोल सार्न तथा पुराना काम नलाग्ने ढल्ने अवस्थाका पोल मर्मतका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘बजारभरि विस्तार गरिएका पोल हामीले चाहेर मात्रै ठाउँसारी गर्नसक्ने अवस्था छैन, मर्मत र ठाउँ सार्नका लागि क्षेत्रीय निकायमा खबर भएको छ, अनुमति आए चाँडै सार्छौं ।

पुराना खिया लागेका तथा नाली निर्माण गर्दा ढल्ने अवस्थामा रहेका पोलहरू जुनसुकै बेला पनि ढल्न सक्ने भन्दै स्थानीय व्यापारीमा त्रास फैलिएको छ । हावाहुरी आउँदा विद्युत््को पोल ढल्छ कि भन्ने चिन्ता लागिरहने बताउँनुहुँदै अर्का व्यापारी रामबहादुर बमले भन्नुभयो– ‘हामी त आफ्नो व्यापारको काममा व्यस्त हुन्छौं, कति बेला पोल ढलेर दुर्घटना गराउने हो थाहा छैन, दुर्घटना भए जिम्मेवार को हुने, ढल्ने अवस्थाका पोल तत्काल हटाउन जरुरी छ ।यति मात्र नभई विद्युत््का पोलहरू सुधार नहुँदा सामान्य लाखको हावाहुरी चल्नेबित्तिकै विद्युत्् लाइन काटिने गरेको छ । अघोषित रूपमा बत्ती आउने जाने गरेका कारण कतिपय विद्युत्ीय सामग्रीहरू बिग्रिने गरेको व्यवसायीहरूको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्