एनएसजेएफ एकेडेमीको शुरुआत



नेपाल समाचारपत्र, काठमान्डौं  ।

नेपाल खेलकुद पत्रकार मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक शुरुआत गरेको छ ।बुधबार विशेष समारोहको आयोजना गरेर मञ्चले एनएसजेएफ एकेडेमीको औपचारिक उद्घाटन गरेको हो । मञ्चले खेलकुद पत्रकारलाई तालिम, अनुसन्धान र मेन्टरसिपको प्रशिक्षण दिने उद्देश्यका साथ एकेडेमीको औपचारिक शुरुआत गरिएको जनाएको छ । काठमाडौंका मूलधारका सञ्चार–माध्यममा काम गर्ने खेलकुद पत्रकारको साझा संस्था मञ्चले पत्रकारको व्यावसायिक क्षमताको अभिवृद्धि एकेडेमीमार्फत सञ्चालन गर्ने परियोजना सार्वजनिक गरेको हो ।

तालिम, अनुसन्धान र खेलको अभिलेखलाई एकेडेमीमार्फत काम गर्ने मञ्चको योजना छ ।एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुवेदीले खेल पत्रकारको व्यावसायिक वृद्धि विकासका लागि एकेडेमी फलदायी हुने बताए । उनले एकेडेमी मुख्य तीन विषय तालिम, अनुसन्धान र मेन्टरसिपमा केन्द्रित हुने धारणा राखे । ‘सरकार र खेलकुदका सरोकारवाला निकायको सहयोग बिना एकेडेमीको काम अघि बढाउन कठिन छ । एकेडेमीले खेलकुद क्षेत्रको विकासका लागि महŒवपूर्ण भूमिका खेल्नेछ ।’ उनले भने ।युवा तथा खेलकुदमन्त्री दावा तामाङले एकेडेमीमार्फत गुणात्मक जनशक्ति विकास हुने विश्वास व्यक्त गरे । उनले सरकारको तर्फबाट गर्न सकिने साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले खेललाई विकास गर्न खेल पत्रकारको दक्षता समेत अभिवृद्धि गर्नुपर्ने बताए । ‘धेरै खेलको रिपोर्टिङ भएको छैन । समाचारमा खेलको विस्तृत विश्लेषण हुँदैन । अब एकेडेमीले समग्रतामा सिङ्गो खेलकुदलाई मद्दत गर्दछ । राम्रो भूमिका खेल्दछ । यसले खेलकुदलाई परिवर्तन गर्नेछ । ओलम्पिक कमिटी सहकार्य गर्न तयार छ ।’ उनले भने ।राखेप सदस्य सचिव रमेशकुमार सिलवालले खेलकुदको विधामा पत्रकारलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे । खेल पत्रकारले मात्र खेलकुदको समाचार बुझ्ने उल्लेख गर्दै सदस्य सचिव सिलवालले खेलकुदका संघले पत्रकारलाई प्राविधिक कुरा बुझाउन जरुरी रहेको बताए ।

नेपाल ओलम्पिक कमिटिका पूर्व अध्यक्ष ध्रुवबहादुर प्रधानले अन्य एकेडेमी भन्दा एनएसजेएफले यसको महŒवलाई राम्रोसँग बुझाउन सक्ने धारणा राखे । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपाल खेलकुद पत्रकार मञ्चसँग सहकार्य गर्दै खेल पत्रकारिताको विकासमा आफूहरू सहयोग गर्न तयार रहेको बताए ।एनएसजेएफका महासचिव प्रज्वल ओलीले खेलकुद विकासमा खेल पत्रकारको दक्षता अभिवृद्धिको विषयले भूमिका खेल्ने धारणा राखे । कार्यक्रममा एनएसजेएफ एकेडेमीका संयोजक निरञ्जन अधिकारले एकेडेमीको औचित्य र आवश्यकता प्रष्ट पारेका थिए ।खेलकुद क्षेत्रको सम्मानका लागि हरेक वर्ष स्पोर्टस अवार्ड आयोजना गर्दै आएको मञ्चले खेलकुद पत्रकारको क्षमता वृद्धि विकासका लागि एकेडेमी सञ्चालनमा ल्याएको हो । मञ्चले काठमाडौं र देशभरि गर्दै आएको प्रशिक्षण तथा अनुसन्धानका कार्यक्रमलाई एकेडेमीअन्तर्गत राखेर सञ्चालन गर्ने योजना सार्वजनीक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्