रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध



कविराज नेपाल, पाल्पा ।

नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै पहिचानसँग जोडिएको ऐतिहासिक र पुरातात्विक सम्पदाको प्रयोगका सम्बन्धमा नेपाल पर्यटन बोर्डले हेरिटेज होटल बनाउन सरकारलार्ई प्रस्ताव गरेपछि स्थानीय सरोकारवालाले बहस अघि बढाउनुका साथै यसको विरोधसमेत गरेका हुन् ।

नेपाल पर्यटन बोर्डले रानीमहलको उपयोग, संरक्षण र पर्यटन विस्तारका लागि हेरिटेज होटल, म्युजियम, कालीगण्डकीमा ¥याफ्टिङ, गण्डकीको किनारमा टेन्ट क्याम्प बनाउन सकिने गरी यसलाई व्यावसायिक ढंगले समेत उपयोग गर्ने गरी सरकारसमक्ष प्रस्ताव गरेको बताइएको छ । पर्यटन बोर्डको यो प्रस्तावसँगै पाल्पाली समुदायले यसको विरोध जनाएका हुन् ।उनीहरुको भनाइमा ऐतिहासिक तथा पुरातात्विक सम्पदामाथि हस्तक्षेप हुन लागेकाले यसको विरोध गर्नु पर्दछ किनकि यो ऐतिहासिक धरोहर हो ।तत्कालीन पाल्पा गांैडाका तैनाथवाला खड्ग शमशेरले पत्नी तेजकुमारीको मृत्युपछि विसं १९५४ मा रानीमहल निर्माण गराएका हुन् । पहिले यो पुरातत्व विभागको अधीनमा रहेकोमा विभागले २०७५ साउनमा रानीमहल व्यवस्थापन र संरक्षणका लागि तानसेन नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

महत्वपूर्ण कलाकृति र भव्यताका साथै इतिहाससँग साक्षात्कारसमेत गर्न सकिने यो सम्पदा यसरी अन्य प्रयोजनका लागि र व्यावसायिक बनाइँदा यसको महत्वमाथि नै प्रश्नचिह्न खडा हुने पाल्पालीको भनाइ छ ।नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल रानीहल सार्वजनिक महत्वको सम्पदा हो कसैको व्यक्तिगत वा पैतृक सम्पत्ति होइन त्यसैले यहाँ होटल बनाउन पाइँदैन भन्नुहुन्छ । उहाँको भनाइमा यो लालदरबार, शंकर होटल वा राजपूतनाको दरबार नभएकाले यसो गर्न उचित नहुने तर्क गर्नुहुन्छ ।त्यसै गरी, स्थानीय बुद्धिजीवी एवं नेपाल रेडक्रस सोसाइटी पाल्पाका अध्यक्ष बुद्धिप्रसाद शर्माले छिटो–छरितो र देखिने संरक्षण र विकासको उपायका रूपमा लिएर होटल बनाउने प्रस्ताव गरिएको हुन सक्ने बताउनुभयो । उहाँले स्मारक र सम्पदाको महत्व उजागर गर्दै होटल बनाउने योजना बन्द गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।पर्यटन व्यवसायसँग सम्बन्धित मनमोहन श्रेष्ठको भनाइमा पनि पुरानो भवन मात्र नभएर ऐतिहासिकता जोडिएको दरबार भएकाले रानीमहलमा होटल बनाउन नहुने तर्क गर्दै लुम्बिनी प्रदेशकै महत्वपूर्ण आइकोन बनेको रानीमहललाई उपयोग गर्ने भन्दै व्यावसायिक प्रयोजनमा होटल राख्न दिन नहुने तर्क गर्नुहुन्छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठ पर्यटकीय गन्तव्य रानीमहललाई केन्द्र बनाएर पाल्पामा होटल खोल्न सकिने तर रानीमहलमै होटल सञ्चालन गर्न नहुने बताउनुहुन्छ ।इतिहासविद् निर्मल श्रेष्ठको भनाइमा ‘रानीमहलमा म्युजियम बनाउन सकिन्छ तर होटल बनाउन सकिन्न ।’यता तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीको भनाइमा पुरातत्व विभागबाट तानसेन नगरपालिकाका स्वामित्वमा रानीमहल आएपछि नगरले रानीमहल संरक्षण र उपयोग सम्बन्धमा विस्तृत परियोजना निर्माण गरी सार्वजनिक निजी साझेदारीअन्तर्गत जाने भनेर निर्णय गरिसकेको बताउनुहुन्छ । उहाँको भनाइमा रानीमहलको पर्यटकीय आकर्षणका लागि विभिन्न योजना बनाउने र परिसरसँगको जोडिएको २ सय रोपनी जग्गामा रानीमहललाई असर नपर्ने गरी न्यु क्लासिकल शैलीका होटलहरु बनाउन सकिने प्रस्ताव गरिएको छ ।

पछिल्लो समय पाल्पामा रहेको नेपालको ताजमहल भनेर चिनिने रानीमहल प्रेमी–प्रेमिकाका लागि अरू बेला पनि गन्तव्य बनेकै छ भने यसको प्रचारप्रचारका कारण आन्तरिक र बाह्य पर्यटकका लागि पनि नयाँ गन्यव्यका रूपमा चिनिँदै आएको सम्पदाका रूपमा विकसित भइरहेको छ ।
अनुपम काष्ठकला र प्राकृतिक सौन्दर्यको रसास्वादन गर्नेका लागि अनौठों लाग्ने नेपालको ताजमहललाई केही समय सरकारले घोषणा गरेका देशका उत्कृष्ट सय गन्तव्यमा समेत पारेको थियो भने नेपाल सरकारले यसको फोटो समेटेर हुलाक टिकट पनि प्रकाशित गरिसकेकोे छ । पछिल्ला दिनमा विभिन्न सेवा सुविधाले गर्दा पनि आन्तरिक र बाह्य पर्यटकको गन्तव्यस्थल बन्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्