महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन



काठमाडौं, (नेस)

महिलामाथि हुने धेरैजसो हिंसा घरपरिवार, आफन्त र समाजका मानिसबाट नै हुने गरेको र महिलाको स्वतन्त्र नागरिकका रुपमा बाँच्न पाउने अधिकार हनन भएको ओरेक नेपालले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।माघ महिनामा ओरेकले आफ्नो कार्यालयमा अभिलेखीकरण गरेका तथा विभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त तथ्यांकका आधारमा १ सय ३७ वटा लैंगिक विभेदमा आधारित हिंसाको तथ्यांक संकलन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

ओरेकले अभिलेखीकरण गरेको तथ्यांकलाई विश्लेषण गर्दा माघ महिनामा ५५ वटा घरेलु हिंसाको तथ्यांक संकलन भएको छ । यसै गरी २५ वटा बलात्कारको तथ्यांक संकलन भएको छ जसमध्ये २२ वटा बलात्कार र ३ वटा सामूहिक बलात्कारको घटना भएको पाइएको छ ।त्यसैगरी २१ वटा सामाजिक हिंसाको घटना, ११ वटा हत्याको घटना संकलन भएका छन् । त्यस्तै ८ वटा यौन दुव्र्यवहारको घटना, ५ वटा मानव बेचबिखनका घटना ५ वटा आत्महत्याको घटना, ४ वटा बलात्कारको प्रयास, २ वटा दुई किशेरी बेपत्ता भएको घटना र एउटा हत्याको प्रयास भएको तथ्यांक अभिलेखीकरण भएको छ ।उमेरको आधारमा विश्लेषण गर्दा माघ महिनामा मात्रै सबैभन्दा धेरै ४० जना २६ देखि ३५ वर्ष उमेर समूहका महिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ ।

त्यसपश्चात् हिंसामा पर्ने सबैभन्दा बढी ३९ जना १७ देखि २५ वर्ष उमेर समूहका महिलाहरु रहेका छन् । ३१ जना १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरीहरु, १४ जना ३६ देखि ४५ वर्ष उमेर समूहका महिलाहरु, ७ जना ४६ देखि ५५ उमेर समूहका प्रभावित रहेका छन् । त्यसै गरी ४ जना उमेर समूह थाहा नभएका महिलाहरु रहेका छन् भने २ जना ५६ वर्षभन्दा माथि उमेर समूहका महिलाहरु रहेका छन् ।प्रभावित र आरोपितको सम्बन्धलाई विश्लेषण गर्दा सबैभन्दा बढी ५० वटा हिंसा श्रीमान्बाट भएको छ भने ३७ वटा हिंसाको घटना छिमेकीबाट भएको छ, २३ वटा परिवारका सदस्यबाट भएको छ, १५ वटा अपरिचित व्यक्तिबाट, ६ वटा हिंसा प्रेमीबाट, ३ वटा सेवा प्रदायकबाट, २ वटा साथीबाट र १ वटा हिंसा अविवाहित तर सँगै बसेका पुरुषबाट भएको पाइएको छ ।

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै २६ देखि ३५ वर्ष उमेर समूहका ३८ जना युवाहरु रहेका छन् । यसै गरी ३२ जना १७ देखि २५ वर्ष उमेर समूहका युवाहरु छन् । त्यस्तै ३१ जना ३६ देखि ४५ वर्ष उमेर समूहका युवाहरु रहेका छन् भने १९ जना उमेर समूह थाहा नभएका पुरुषहरु, १२ जना ४६ देखि ५५ वर्ष उमेर समूहका पुरुषहरु, ५ जना ५६ वर्षभन्दा माथिका पुरुषहरु र १ जना १६ वर्षभन्दा मुनिका युवा हिंसामा संलग्न भएको तथ्यांक पाइएको छ ।

यसरी यो महिनाको घटनाको विश्लेषण गर्दा समग्र तथ्यांकको ३६ प्रतिशत श्रीमान्बाट र १७ प्रतिशत परिवारको सदस्यहरुबाट हिंसाका घटना भएको पाइएको छ । घरपरिवार जहाँ महिलाले सबैभन्दा बढी सुरक्षा पाउनुपर्ने हो त्यस ठाउँ नै सबैभन्दा बढी असुरक्षित देखिएको छ । यो अवस्थाले अहिलेसम्म महिला र पुरुषलाई हेर्ने विभेदकारी दृष्टिकोण रहेको स्पष्ट देख्न सकिन्छ । त्यसैले महिला हिंसा अन्त्यका लागि समाज र परिवारभित्र रहेको महिला र पुरुषबीचको असमान शक्ति सम्बन्धलाई परिवर्तन गर्नु अनिवार्य रहेको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बिहीबार सार्वजनिक गर्नुभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्