मानव सभ्यतामा विज्ञान



नवराज ज्ञवाली ।

एक्काइसौं शताब्दीका आधुनिक मानव । समुद्रको गहिराइबाट अन्तरिक्षसम्मको यात्रा । विज्ञान र प्रविधिको नवीनतम प्रयोगमा साँघुरिँदै गएको संसार आज मात्र भ्रमजस्तो लाग्दै छ । मानवले मानव जातिलाई नै सिध्याउने खेलमा लागेका कतिपय शक्तिराष्ट्रहरु आज हातहतियार तथा आधुनिक अस्त्रको होडबाजीमा ‘न्युक्लियर विपन्स’ बाट ‘बायोलोजिकल विपन्स’ सम्म बनाउन पछि परेनन् ।

शक्तिराष्ट्र बन्ने होडमा कति घोषित त कति अघोषित युद्धहरु गर्न पछि परेनन् । मानवताको अलिकति पनि मानवीय पक्षलाई ध्यान नदिई प्रकृति र प्राकृतिक नियममाथि धावा बोलिरहेको आजको मानव जाति फेरि आफ्नो अस्तित्व बचाइराख्नका लागि डार्विनको ‘स्ट्रगल फर एक्जिस्टेन्स’को सिद्धान्तलाई सिद्धान्ततः प्रयोग गर्नुपर्ने अवस्थामा आइपुगेको आभास हुँदै गएको छ ।

प्रकृतिमाथि मानव समुदाय मात्र छैन । यहाँ मानव जातिको अस्तित्व आउनुपूर्व नै कैयौँ सूक्ष्म एककोषीय जीवहरुको साथै अन्य ठूला–साना जीवहरुको अस्तित्व रहेको थियो । जब मानव जातिको उत्पत्ति भयो तब कतिपय जीवजन्तुको अस्तित्व बिस्तारै संकटतिर उन्मुख हुन थाल्यो भने कतिपय जीवजन्तुहरु आफूलाई समयअनुकूल परिवर्तन गर्दै आफ्नो अस्तित्वलाई जोगाइरहेका छन् । यसै बीचमा मानव जातिले प्रकृति र प्राकृतिक जीवहरुमाथि धावा बोल्न थाल्यो । अन्य जीवहरुको अस्तित्वलाई बिर्सन थाल्यो । इभोलुसनको सिद्धान्त यहाँ केवल मानव जातिमा मात्र हुन्छ भन्ने कुरामा सीमित राख्न खोजियो । मानव अस्तित्वको लडाइँ केवल मानवको जातजाति, वर्ग, धर्म, रंगबीचमा मात्र खोज्न थाल्दा बेला–बेलामा अन्य प्राकृतिक जैविक अदृश्य शक्तिसँग लड्नुपर्छ भन्ने कुरालाई ध्यान दिन नसकेको कुरा आज कोरोना भाइरस अर्थात् कोभिड–१९ ले पुष्टि गरिदिएको छ ।

कोभिड–१९ मात्र होइन, यहाँ कैयौँ यस्ता सूक्ष्म जैविक जीवहरु छन्, जो आफ्नो अस्तित्वको लागि यस प्रकृतिमा आउँदै छन् अनि प्रकृतिको मालिक केवल आफूलाई मात्र ठान्ने मानव जातिलाई चुनौती दिँदै छन्, जुन वर्तमान अवस्थामा हामी भोगिरहेका छौं भने भविष्यमा यो भन्दा ठूला चुनौती भोग्नुपर्ने देखिन्छ । आज विश्वको सम्पूर्ण शक्तिकेन्द्र एक पक्षमा उभिएको छ । मानव जातिले आजसम्म सिकेको आफ्नो ज्ञान, सीप, बुद्धि, विवेकले भेटेको र देखेको सम्पूर्ण अस्त्र प्रयोग गर्दै छ । भनौं, एक किसिमको विश्वयुद्ध चल्दै छ । अचम्म त्यही युद्धको अर्को पक्ष भौतिकरुपमा अदृश्य भई मानव सभ्यतालाई ठूलो चुनौती दिई आफू विजयी उद्घोष गरिरहेको छ । विश्व एक सेकेन्डमा ध्वस्त पार्न सक्छौं भन्ने हामी आज आधुनिक अस्त्र हुँदाहुँदै पनि विनाअस्त्रका लडाकू बनी लडाइँमा होमिनुपर्ने अवस्था आएको छ ।

तथापि, विज्ञान गतिशील छ । विज्ञानले सबैको अस्तित्व स्वीकार गर्नुपर्दछ भने विज्ञानले नै मानव जातिको रक्षा गर्नुपर्दछ्र । आशा गरौं, छिट्टै वर्तमान मानव जातिको लागि विज्ञान वरदान बनी प्रकृति, प्राकृतिक जीव र मानव जातिबीचको सबन्धलाई नयाँ आयाम दिनेछ अनि मानव जाति नै यस प्रकृतिको सर्वोच्च प्राणी हो भन्ने कुराको प्रमाणित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्