नासाको अन्तरिक्ष यान ओसिरिस रेक्स छुद्र ग्रह बेनुलाई छुन सफल



वासिङ्टन, (एजेन्सी) ।

अमेरिकी स्पेस एजेन्सी नासाको अन्तरिक्ष यानले अन्तरिक्षमा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। नासाको ओसिरिस रेक्स अन्तरिक्ष यानले ठूलो भवन आकारको छुद्र ग्रहमध्येको एक बेनुलाई सफलतापूर्वक छोएको हो। छुद्र ग्रहलाई छुने क्रममा यानले केही चट्टानको केही नमुना संकलन गरेको थियो।

कुनै छुद्र ग्रहको चट्टान नमुना लिनेमा अमेरिका जापानपछिको दोस्रो देश बनेको छ। छोएर अलग्गिने क्रममा यानले बेनुबाट कति मात्रामा नमुना प्राप्त गर्न सकेको छ भन्ने बारेमा अर्को हप्ता मात्र थाहा हुने बताइएको छ। यसकै आधारमा अर्को टचडाउनको आवश्यक हुन्छ वा हुँदैन भन्ने निर्णय लिइने नासाले जनाएको छ।

युनिभर्सिटी अफ एरिजोनाकी प्रमुख वैज्ञानिक डांटे लारन्टाले यस सफलतामा खुसी व्यक्त गर्दै यो मिसन पूरा भयो भन्नेमा आफूलाई विश्वास गर्न गाह्रो भएको बताइकी छन्। अन्तरिक्ष यानले सबै काम पूरा गरेको बताइएको छ। ओसिरिस रेक्सले बेनुलाई टचडाउन गरेको पुष्टि २० करोड माइल दूरीबाट दिएको र त्यसपछि यसमा आबद्ध मिसन टोली खुसीले उफ्रेका थिए। ओसिरिस रेक्स उक्त नमुनासँगै सन् २०२३ मा पृथ्वीमा फर्कनेछ।

ओसिरिस रेक्सलाई शुरूमै ग्राउन्ड कन्ट्रोल कमान्ड दिइएको थियो। त्यसपछि, करिब साढे चार घण्टामा यान आफ्नो कक्षबाट बेनुको सतहमा पुगेको हो। यानलाई रोकिरहन ५ सय १० मिटर बेनुमा पर्याप्त गुरुत्वाकर्षण छैन। त्यसैले, यान पूरै अवतरण नभई ३ दशमलव ४ मिटरको रोबोटिक आर्मलाई सतहसम्म पु¥याएर कम्तीमा ६० ग्राम नमुना संकलन गर्ने प्रयास गरेको थियो।

ओसिरिस रेक्सले दुई वर्षदेखि बेनुको परिक्रममा गरिरहेको थियो र उक्त अन्तरिक्ष चट्टानको चाललाई निगरानी गर्दै आइरहेको पनि थियो। यान छुद्र ग्रहको नाइटिंगेल नामक क्रेटरमा स्पाइरल यात्रा गर्दै पुग्यो र जहाँ यानलाई अवतरणका लागि ८ मिटर चौडाइको एक क्षेत्र थियो। नाइटिंगेल क्रेटर पनि नमुनाका लागि महŒवपूर्ण थियो। त्यहाँ रहेको मसिनो धूलोको कण, कंकिड पत्थर छन् जुन धेरै समयदेखि वरपरको पर्यावरणको सम्पर्कमा नआएको हुन सक्ने बताइएको छ।

वैज्ञानिकलाई कम्तीमा ६० ग्राम नमुना आवश्यक छ। यदि, योपटक यति धूलो प्राप्त नभएमा अक्टोबर ३० मा अब के गर्ने भन्ने विषयमा निर्णय हुनेछ। अर्को प्रयास भनेको व्याकअप साइट अस्प्रेमा सन् २०२१ जनवरीमा मात्र गर्न सकिने बताइएको छ।

यस अभियानबाट ल्याइएको नमुनाको मद्दतले वैज्ञानिक सौर्यमण्डलको शुरुआतका बारेमा अध्ययन गर्नेछन्। पृथ्वीमा जीवन कसरी शुरू भयो, त्यसको रहस्य पनि यो नमुनाले खोल्ने आशा गरिएको छ। कैयौं अनुसन्धानकर्ता पृथ्वीसँग छुद्र ग्रहको ठोक्काइकै कारण जीवन उत्पन्न भएको मान्छन्। नासाका अधिकारी छुद्र ग्रहलाई टाइम क्याप्सुल बताउँछन्।

प्रतिक्रिया दिनुहोस्