पचली भैरवको जात्राः इतिहासदेखि वर्तमानसम्म



प्रा.आनन्दरत्न शाक्य  ।

लिच्छवि कालको दक्षिण कोलिग्राम हाल यंगाल भेगको प्रसिद्ध जात्रामध्ये पचली भैरवको जात्रा पनि एक हो । यो जात्रा हरेक वर्षको आश्विन शुक्ल पञ्चमीका दिनमा टेकुबाट मचली, मतुलाच्छी, इनाखा, ब्रह्मटोल, लगन, ज्यावहाल, जैशीदेवल, चिकंमुगल, मरुटोल हुँदै हनुमानढोका दरबार पुर्‍याई त्यहाँ विधिपूर्वक पूजाका साथै राँगो बलि दिने चलन अद्यावधि चल्दैछ ।त्यहाँबाट फर्काएर गुठियारको घरमा लगिन्छ ।

पचलीभैरवको अर्काे नाम स्वछन्द भैरव पनि हो ।भैरव भनेको महादेवको अर्काे रुपहो भनी राष्ट्रिय अभिलेखालयस्थित स्वछन्द ललित भैरव नामक एक हस्तलिखित ताडपत्रमा पचली भैरवसँग सम्बन्धित ग्रन्थको अन्तिम पृष्ठमा ने.सं. २१६ (वि.सं. १२५२) फाल्गुणमा दक्षिणेश्वर स्वच्छन्द महादेवको प्रतिष्ठा भयो भनी लेखिएको छ । पचली भैरव काठमाडौंको दक्षिणतिर फर्पिङ भेगबाट आएको लच्छित गरेको देखिन्छ । नेपालको इतिहासमा १२–१३ औं शताब्दीतिर शिवदेव र इन्द्रदेवजस्ता लिच्छवि राजाले राज्य गरे तापनि वैश्य ठकुरीहरुको बोल बढेको थियो ।यस कुरालाई गोपाल वंशावलीले पनि पुष्टि गरेको देखिन्छ ।

काठमाडौंमा पुस्तौंदेखि अधिकार जमाएर बसेका यी ठकुरीहरुलाई आफ्नो वशमा पारी यक्षमल्लका माहिलो छोरा रत्न मल्लले काठमाडौंमा शासन गरेका थिए । रत्न मल्लले हराएका वा हटाइएका ठकुरीहरुलाई नेवारी भाषामा ठकू जुजु (ठकुरी राजा) भन्ने गरिन्छ । यही ठकू जुजुहरुले चलाएको पचली भैरवको जात्रा भएकोले हालसम्म पनि यस जात्रामा यिनीहरुको प्रमुख भूमिका रही आएको छ । प्रत्येक वर्षको आश्विन शुक्ल पञ्चमीलाई नेवारी भाषामा ‘पचिमह’ भन्नेचलन छ र नवरात्रिको पाँचौँ दिन पर्ने यस दिन तीर्थको अनुसार टेकू दोभानलाई ‘पञ्चनारी’संज्ञा दिई पीठको रुपमा पचली भैरवलाई र अजिमाको रुपमा मचलीस्थित‘नैं अजिमा’लाई लिने गरिन्छ ।‘नैं अजिमा’ पचली भैरवकीअवैध पत्नी हुन् । नेवारी भाषामा नैं अर्थात् कसाइनी पचली भैरव आःजुको पत्नीलाई अजिमाभनिने भएकोले हो ।

त्यस भेगका बूढापाकाको भनाइअनुसार पचली भैरवले मनुष्यको रुपमा आई दैनिकजसो टेकु क्षेत्रमा पर्ने एक भट्टीमा जाँडरक्सी खाने गरेका रहेछन् । यस क्रममाभट्टीकै साहुनीसँग लसपस भई साहुनी दुई जीउकी भइछन् । यो कुरा थाहा पाएर छरछिमेकमा गाइँगुइँ हल्ला चलेछ ।

त्यसपछिसबैको सल्लाहअनुसार ती व्यक्ति को–कहाँका हुन् भन्ने पत्ता लगाउन कोशिश गरिएछ ।सफल नभएपछि एक दिनबेलुका अबेर गरी आउने र बिहान नहुँदै जाने ती व्यक्तिको पछि–पछि लाग्दै गर्दा बीचबाटोमै व्यथा लागेर छोरा जन्मिन पुगे । बच्चा जन्मे पनि कुनै वास्ता नगरी पछि–पछि दगुरेको हुँदा जन्मेको बच्चाले आफ्नी आमाको व्यवहार देखेर मुसुक्क हाँसेको हुँदा त्यस बच्चा याने गणेशलाई मुसुकाः गणेद्यो अर्थात् मुस्कुराएको गणेश भन्ने गरिन्छ । जुन गणेशलाई रुद्रविनायक पनि भन्ने गरिन्छ ।

पेट बोकाउने व्यक्तिलाई पछ्याउँदै जाँदा ती व्यक्तिभाग्दाभाग्दै समाऊलान् भन्ने डरले एक नालीमा मान्द्रोले छोपेर लुके । तर तिनको पछाडिको केही भाग देखिएपछि समातिए । (घोडेजात्राको एक दिनअगाडि पर्ने पाहाँ चःह्रेमा पनि विरुपाक्षको त्रासबाट बच्न महादेव नालीमा लुकेका थिए । नेवारहरुले नाली सफा गर्न लाग्दा भेटिएका महादेवलाई लुकुमहाद्यो अर्थात् लुकेका महादेव भनी पूजागर्ने चलन छ ।)पक्रिएका पेट बोकाउने व्यक्ति पछि महादेवको रुप भन्ने जानकारी दिई त्यहाँबाट फर्पिङतिर लागेछन् । आफू जानुअगाडि आफ्नो सम्झनास्वरुप एक प्रकारको घाँस वा फूल छोडेर गएछन् । जुन नाली वा ढलमा उम्रेको हुँदा त्यस फूललाई नेवारी भाषामा ‘धले स्वाँ’ अर्थात् नालीको फूल भन्ने गरिन्छ । हालसम्म पनि पचली भैरवको जात्रामा त्यो धले स्वाँले सिँगार्ने गरिन्छ । उक्त पूmल अरु समयमा देखापर्दैन र कुनै ठाउँमा प्रयोगमा पनि ल्याइँदैन ।

महादेव लुकेको बेला जुन भाग देखिएको हो, सानो ढुंगाजस्तो देखिने सो भागलाई हालसम्म पनि जात्राको समयमा रुद्री गर्ने गरिन्छ । ठकुरीहरुले चलाएको जात्रा भएकोले पचली भैरवको जात्रागर्न चाहिने फूल रोप्न छुट्टै जग्गाको व्यवस्था पनि ठकुरीहरुले नै त्यस बेलादेखि गरिराखेको देखिन्छ।महादेवलेभैरवको रुपमा आएर जाँडरक्सी खाने भएकोले पचली भैरवलाई एक घ्याम्पोमा जाँडरक्सीले भरेर देवताको मूर्ति अंकित घ्याम्पो जात्रा गर्ने चलन छ । वि.सं. १६३५–१६७७का राजा शिवसिं मल्लले पचली भैरवको माटोको घ्याम्पोको सट्टामा पितलको घ्याम्पोमा मूर्ति बनाइदिएको कुरा इतिहासमा उल्लेख छ । त्यस्तै १७५७–१७७९का राजा अमर मल्लले जीर्ण भएको घ्याम्पो फेरेको कुरा इतिहासले देखाएको छ ।

प्रत्येक वर्षको आश्विन शुक्ल प्रतिपदादेखि यस जात्राको गतिविधि शुरु हुन्छ । प्रतिपदाको दिन गुठियारको घरमा राखिएको मूर्तिसहितको घ्याम्पो ल्याई कोहिति टोलको डोँचो अर्थात् अलि अग्लो ठाउँस्थित चित्रकारहरुको घरको छिँडीमा राखिन्छ । पहिला–पहिला पचली भैरवको मूर्तिसहितको घ्याम्पो ढोकाबाट नलगी भित्ता फोरेर लग्ने चलन थियो । आजकाल ढोकाबाटनै लगिन्छ । चौथीको दिन सिँगार गरी भीमसेनस्थानस्थित ठकू जुजुको घरमा राखिन्छ र सोही दिन राति पूजा सिध्याएर टेकूस्थित पीठमा पुर्‍याइन्छ । सो दिन पञ्चमी परेकोले त्यस दिनलाई‘पचिमह्र’ भन्ने गरिन्छर दिनभरि भक्तजनहरुको घुइँचो लागेको हुन्छ । सो दिनको रातिदेखि ज्यापूका बच्चाहरुलाई वःलाः राख्ने गरिन्छ ।

पञ्चमीको बिहान एक बोकालाई भुइँमा नराखी हात–हातमै काट्ने तथा त्यसको एक थोपा रगत पनि भुइँमा नपर्ने गरी १०८ टुक्रा गरी बलि दिइन्छ ।बेलुकी अबेर गरी ठकू जुजु, पुरोहित, जोशी, आचार्य तथा गुठियारहरुको जमातद्वारा बाजागाजासहित पचली भैरवलाई उठाएर हनुमानढोका दरबारतर्फ लगिन्छ । यस कार्यलाई नै पचली भैरव जात्रा भनिन्छ । जात्राको पछि–पछि उनकी अवैध पत्नी नैं अजिमाको प्रतिनिधि ‘सुरापात्र’र उनका पुत्र गणेशसमेत लगेको हुन्छ । हनुमानढोका पुगेपछि राँगोको बलि दिई भव्य पूजा गरिन्छ । यो कार्यक्रम नसकुन्जेलसम्म गुठियारका नाइके पानी पनि नखाई दिनभरि भोकै बस्नुपर्ने चलन छ । हुनुमानढोकाबाट फर्किंदा कष्ठमण्डपअगाडि भुतिसःमा अजिमा र पुत्रद्वारा आफ्नो अधिकार लिने निहुँमा पञ्चरंगी काँचो धागो ‘पसूका’ले बाटो छेक्ने गरिन्छ, जसलाई‘पसूका पेनेगुु’ भन्ने चलन छ ।त्यसपछि पचली भैरवलाई गुठियारको घरमा भित्र्याइन्छ ।

हाल नैं अजिमाको समर्थनमा जुरुसस्वरुप कोहितिमा पचली भैरव राखिएको समयमा जैशीदेवलदेखि कोहिति टोभरि कसाइनीहरु रातो सारी लाएर उभिएका हुन्छन् । त्यस लाइनमा नगरपालिकाका उपमेयर हरिप्रभा खड्गीलाई पनि देख्न सकिन्छ । पूर्वराजा ज्ञानेन्द्र शाहबाट ०७३/०७४ सालतिर पचली भैरवको नयाँ मूर्ति फेरिएको थियो । यसरी राजा रत्न मल्लले काठमाडौंका वैष्यठकुरी ठकू जुजुहरुले सञ्चालन गरेको पचली भैरवको जात्रासँग हनुमानढोकाको गहिरो सम्बन्ध देखिन्छ ।

पचली भैरव र उनका अष्टमात्रिका गणसहित प्रचीन नाच काठमाडौं शहरमा निश्चित समयमा नचाइन्छ भन्ने कुरा मोहनविनोद शर्माको वंशावलीमा उल्लेख छ । सो वंशावलीअनुसार सो नाच नचाइने प्रथा राजा अमर मल्लले वि.संं. १५८६–१६१७मा चलाएका थिए ।

इतिहासअनुसार ‘गठु प्याखँ’ भन्ने यस नाच आठ वर्षमा एकचोटि यंगाल इलाकाबाट र चार वर्षमा एकचोटि यम्बु इलाकाबाट अभ्यास गरिन्छ । यंगालबाट गर्दा मरु सत्तलअगाडि र यंबुबाट शुरु गर्दा मखनटोलमा राति गद्दिनसीन श्री ५ स्वयंआई आफ्नो खड्ग देवताको खड्गसित साट्ने चलन छ । यसलाई खड्गसिद्दि भन्ने गरिन्छ, जसले गर्दा राजाको शक्ति बढ्छ भन्ने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्