अंग्रेज साम्राज्यलाई घुँडा टेकाउने अहिंसावादी महात्मा गान्धी



मोहनदास करमचन्द गान्धीको जन्म गुजरातको पोरबन्दर शासनकालमा सन् १८६९ अक्टोबर २ मा भएको थियो । एक सम्पन्न परिवारमा जन्मेका गान्धीका पिता करमचन्द पोरबन्दर सत्ताका राजाको दरबारमा दिवान थिए । उनकी आमा एक धार्मिक महिला थिइन् । आफ्ना सन्तानलाई राम्रो शिक्षादीक्षाका लागि मोहनदासका पिताले आफ्ना परिवारलाई पोरबन्दरबाट राजकोट ल्याएका थिए । त्यहीँ मोहनदासलाई अंग्रेजी शिक्षा दिइयो ।
दक्षिण अफ्रिकामा आफ्नो आन्दोलनको सफलतापछि मोहनदास गान्धी एक विजेताका रुपमा स्वदेश फर्के । भारत यात्राका क्रममा गान्धीले देशको गरिबी र जनजीवनलाई नजिकबाट नियाले र उनी अत्यन्तै दुखित हुन पुगे । यसै क्रममा अंग्रेज शासकले लागू गरेको कालो कानुन रोयलट एक्टको विरोधमा गान्धीले आन्दोलन शुरु गरेका थिए । उक्त कानुनले सरकारलाई एक प्रकारको शक्ति प्राप्त भएको थियो, जसअन्तर्गत सरकार कुनै पनि नागरिकलाई चरमपन्थ आशंकामा जेलमा राख्न सक्थ्यो ।

मोहनदास गान्धीको आह्वानमा पूरै देशका हजारौं नागरिक यस कानुनको विरोधमा सडकमा उत्रे । प्रायः सबै शहरमा विरोध प्रदर्शन भएको थियो । यस क्रममा कैयौं शहरमा हिंसा भड्केको थियो । अमृतसरको एक प्रदर्शनमा २० हजार प्रदर्शनकारीको भीडमा जनरल डायरले गोली प्रहार गर्न लगाए, जसमा ४ सयभन्दा बढीको मृत्यु भएको थियो । यस हत्याकाण्डको घटनापछि गान्धीलाई यकिन भयो कि उनले अब भारत आजादीको आन्दोलन शुरु गर्नुपर्छ ।
उनलाई महात्माको उपाधि सबैभन्दा पहिला कसले दियो भन्ने विषयमा फरकफरक मत रहेको छ । पछिल्लोपटक उनलाई महात्माका रुपमा सम्बोधन महान् कवि रवीन्द्रनाथ टैगोरले दिएका थिए ।
आफ्नो बढ्दो लोकप्रियताका कारण गान्धी भारतीय राष्ट्रिय कांग्रेसका प्रमुख अनुहार बनेका थिए । उनी बेलायतबाट भारतको स्वतन्त्रता आन्दोनलका अगुवा बने । बेलायतको उपनिवेशबाट भारत स्वतन्त्र भएपछि एक दिन उनी दिल्लीको विडला हाउसको एक प्रार्थना सभामा गइरहेका थिए, एक हिन्दु कट्टरपन्थी नाथुराम गोड्सेले गान्धी माथि आक्रमण गरेका थिए । उनको शरीरमा तीन गोली प्रहार भएको थियो ।
दिल्लीमा महात्मा गान्धीको अन्तिम यात्रा निस्क्यो जसमा १० लाखभन्दा बढी नागरिक सहभागी भएका थिए । पूरै विश्वमा अहिंसा तथा शान्तिका पुजारी गान्धीको निधनमा शोक मनाएका थिए ।

गान्धीको असर
आधा विश्वमा आफ्नो साम्राज्य फैलाएर बसेको अंग्रेज शासकविरुद्ध मुक्तिको आन्दोलन पक्कै सहज थिएन । यसका लागि ठूलो र सशक्त शक्तिबाट सुसज्जित हुनुपर्ने निश्चित थियो । तर, गान्धीको अहिंसापथको अगाडि सर्वशक्तिमान अंग्रेज शासकको शक्ति निरर्थक हुन पुग्यो ।
गान्धीको अहिंसाले भौतिक हिंसालाई मात्र वर्जित गरेको थिएन । यसले अरुको भावनालाई चोट पु¥याउने जस्ता सबै प्रकारका हिंसालाई नै निषेध गरेको थियो । गान्धीले आफ्नो अहिंसाको सिद्धान्तलाई प्रेमसँग जोडेका थिए । यद्यपि उनको यस अहिंसात्मक आन्दोलनलाई नमान्ने नेताहरु पनि नभएका होइनन् । उनकै एक शिष्य सुवासचन्द्र बोस, भगत सिंहजस्ता नेताहरुले हिंसात्मक बाटो नै अपनाएका थिए ।

स्वतन्त्र भारत आन्दोलनका विरोधीहरु पनि त्यति नै थिए । गान्धीको यस आन्दोलनले भारत पूर्ण स्वतन्त्र नहुने उनीहरुको तर्क थियो । पेवियार, डाक्टर भीम अम्बेडकर जस्ता दिग्गज नेताहरु पनि भारत स्वतन्त्रताका विरोधमा थिए । भारतभित्र व्याप्त पुरातन सामन्ती, जातीय तथा सामाजिक भेदभावलगायत सबै प्रकारका कुरीति र भेदभाव स्वतन्त्र भारतबाट सम्बोधन हुन नसक्ने उनीहरुको तर्क थियो ।

यद्यपि गान्धीको अहिंसात्मक आन्दोलनप्रति देशव्यापी आएको लहरमा अंग्रेज शासक नतमस्तक हुन बाध्य भएको थियो । साना र ठूला सबै प्रकारका अधिकारका लागि समेत हिंसा अनिवार्य ठानिएको विश्व इतिहासमा गान्धीको अहिंसा एक अद्भुत उदाहरण बन्यो । यद्यपि पाकिस्तान र भारत अलग अलग स्वतन्त्र हुने क्रममा भएका साम्प्रदायिक हिंसामा भने लाखौंले ज्यान गुमाउनुपरेको थियो ।

धोती, चस्मा र लठ्ठीको सामान्य परिचायक बनेका गान्धीले आफ्नो नीतिमा कुनै पनि परिस्थितिमा कसैसँग सम्झौता गरेनन् । आफ्नो लोकप्रियतासँग उनले नागरिकलाई तीतो सत्य बताउने काम पनि जारी राखे । यसले उनी अलोकप्रिय हुने खतरा त्यतिकै थियो । सत्य र अहिंसाको महानता बताउने प्रयासमा उनले आफ्नो सम्पूर्ण जीवन नै लगाए । तर उनका यी दुवै प्रयोग व्यापक स्तरमा असफल देखिए पनि यसले कैयौंको जीवनमा नयाँ दिशा प्रदान गरेको छ ।

गान्धीलाई मृत्युसँग कहिल्यै डर भएन, न त उनीमा सत्ताको लालसा थियो । भारतका लागि मात्र होइन विश्वभरिका मानिसलाई उनले घृणा गर्न सिकाएनन् । प्रेम र संघर्ष गर्न र बिनानिराश भई संघर्ष गर्न सिकाए ।

हत्याको प्रयास र हत्या
सन् १९४८ जनवरी ३० मा गान्धीको गोली हानी हत्या भयो । भारतका राष्ट्रपिताको सम्मान पाइसकेका गान्धीलाई मार्ने हिन्दु राष्ट्रवादी नाथुराम गोड्से थिए । मर्नुभन्दा अगाडि गान्धी नयाँ छिमेकी राष्ट्र पाकिस्तानको भ्रमणको तयारीमा लागेका थिए । राष्ट्रिय स्वयंसेवक संघ आरएसएसलगायत हिन्दु राष्ट्रवादी अंग्रेज शासनबाट स्वतन्त्र हुने कुराको विरोधी थिए ।

पाकिस्तान अलग स्वतन्त्र हुने क्रममा भारतमा भएका मुसलमान र पाकिस्तानमा भएका हिन्दुहरुको व्यवस्थापनमा भएको अत्यधिक हिंसाले भारतमा ठूलो असन्तुष्टि फैलिएको थियो । पाकिस्तान अलग स्वतन्त्र राष्ट्र हुने कुरालाई लिएर पनि धेरैजसो भारतीय नेताहरुको ठूलो विरोध थियो । यसैमा चरम असन्तुष्ट पक्षमध्येका गोड्सेले भर्खर स्वतन्त्रता हासिल गरेको भारतका राष्ट्रपिताको हत्या गरेको मानिन्छ ।

यसअघि पनि गान्धीको जीवनमा ६ पटक उनको हत्याको प्रयास भएको उल्लेख छ । सन् १९४४ मा आगा खाँ प्लासेसबाट रिहाइपछि गान्धी पन्चगनीमा गएर बसेका थिए । त्यहाँ उनको विरुद्ध केहीले प्रदर्शन गरेका थिए । यसबीच आफ्नो कुरा सम्झाउन पुगेका गान्धीलाई एक व्यक्ति छुरा लिएर कुदेर आएका थिए । तर उनलाई बीचैमा समातिएको थियो ।

त्यसै गरी सन् १९४६ मा रेल यात्राका क्रममा चम्पारनमा गान्धीको हत्या प्रयास भएको थियो । उक्त घटनामा रेलमार्ग नै उखेलिएको थियो र उनी चढेको रेल पल्टेको थियो । तर गान्धी उक्त घटनामा बच्न सफल भएका थिए । सन् १९४८ मा दुईपटक हमला भएको थियो । पहिलो घटनामा मदनलाल नामक एक व्यक्तिले बम विस्फोट गराउन खोजेको तर विस्फोट भएन र उनी पक्राउमा परेका थिए ।

जिन्नाको सन्देश
गान्धीको मृत्युमा सम्पूर्ण विश्व नै शोकमग्न थियो र चारैतिरबाट उनको निधनप्रति शोक व्यक्त गरिएको थियो । उनको मृत्यु भारतका लागि मात्र नभएर सम्पूर्ण मानवताका लागि नोक्सान भएको सन्देश आइरहेको थियो ।
सबैभन्दा भावुक सन्देश पाकिस्तानका मियां इफ्तिखारुद्दिनका तर्फबाट आएको थियो– ‘विगतका महिनामा हामीमध्ये जस–जसले निर्दोष पुरुष, महिला र बच्चाहरुमाथि आफ्ना हात उठाए या ती कार्यको समर्थन गरे, उनीहरु गान्धीको मृत्युका हिस्सेदार हुन् ।’ पाकिस्तानका कायदे आजम मोहम्मद अली जिन्नाले आफनो संदेशमा भने– ‘उनी हिन्दु समुदायका महानतम व्यक्तिहरुमध्येका एक थिए ।’

जब जिन्नाका एक साथीले उनलाई गान्धीको योगदान एक समुदायभन्दा धेरै माथि उठेको कुरा सम्झाउन प्रयास गरेका थिए । जिन्ना आफ्नो कुरामा अडिग रहे र भने– ‘द्याट इज ह्वाट ही वज अ ग्रेट हिन्दु ।’

प्रतिक्रिया दिनुहोस्