विश्वकै उत्पीडनमा परेकाहरुको आवाज मार्टिन लुथर किंग



अमेरिकाका एक पादरी, अभियन्ता तथा आन्दोलनकारी अफ्रिकी अमेरिकी नागरिक डाक्टर मार्टिन लुथर किङ जुनियर नागरिक अधिकारीको संघर्षका प्रमुख नेता थिए । उनलाई अमेरिकाका गान्धी पनि भनिन्छ । उनको प्रयत्न र अभियानले अमेरिकामा नागरिक अधिकार क्षेत्रमा प्रगति भएको हो । त्यसैले उनलाई आज मानवअधिकारका प्रतीकका रुपमा हेरिन्छ । दुईवटा चर्चले उनलाई सन्तका रुपमा मान्यता पनि प्रदान गरेको छ ।
मार्टिन लुथरको जन्म सन् १९२९ मा अमेरिकाको अटलान्टामा भएको थियो । डाक्टर किङले अमेरिकामा निग्रो समुदायप्रति हुने गरेका भेदभावविरुद्ध सफल अहिंसात्मक आन्दोलन थालेका थिए । सन् १९५५ मा उनको जीवनको निर्णायक मोड थियो । यसै वर्ष कोरेटासँग उनको विवाह भयो ।

उनलाई एकपटक अमेरिकाको दक्षिणी प्रान्त अल्बामाको मोन्टगोमरी शहरको डक्सटर एवेन्यु बापटिस्ट चर्चमा प्रवचनका लागि बोलाइएको थियो । सोही बर्ष मोन्टगोमरीको सार्वजनिक बसमा काला–गोराको भेदविरुद्ध एक महिला रोज पाक्र्सले गिरफ्तारी दिएकी थिइन् । त्यसपछि मार्टिन लुथरले प्रसिद्ध बस आन्दोलन चलाएका थिए ।

पूरै ३ सय ८१ दिनसम्म चलेको उक्त सत्याग्रही आन्दोलनपछि अमेरिकामा बसमा काला–गोरा यात्रीका लागि अलगअलग सिट राख्ने प्रावधान समाप्त भएको थियो । त्यसपछि उनले धार्मिक नेताहरुको मद्दतबाट समान नागरिक कानुन आन्दोलन अमेरिकाको उत्तरी भागमा पनि फैलाए । उनलाई सन् १९६४ मा विश्वशान्तिका लागि सबैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो ।

कैयौं अमेरिकी विश्वविद्यालयले उनलाई मानार्थ उपाधिहरु दिए । धार्मिक तथा सामाजिक संस्थाहरुले उनलाई मेडल प्रदान गरे । टाइम पत्रिकाले उनलाई सन् १९६३ को म्यान अफ द इयर चयन गरेको थियो । उनी महात्मा गान्धीको अहिंस्रक आन्दोलनबाट अत्यन्तै प्रभावित थिए । गान्धीकै आदर्शमा अगाडि बढ्दै मार्टिन लुथर किङले अमेरिकामा धेरै सफल आन्दोलन चलाए, जसलाई अकिकांश गोराहरुको पनि समर्थन प्राप्त थियो ।

मार्टिन लुथरले अखबारमा कैयौं लेख लेखे । स्ट्राइड टुवार्ड फ्रिडम (१९५८) र ह्वाइ वी क्यान नट वेट (१९६४) उनले लेखेका दुई पुस्तक हुन् । सन् १९५७ मा उनले साउथ क्रिस्चियन लिडरसिप कन्फ्रेन्सको स्थापना गरे ।
डाक्टर मार्टिन लुथरको एक लोकप्रिय वाणी थियो– ‘हामी त्यो होइनौं, जुन हामी हुन पथ्र्यो र हामी त्यो होइनौं, जुन हामी हुन गइरहेका छौं, तर ईश्वरलाई धन्यवाद छ कि हामी त्यो पनि होइनौं, जुन हामी हौं ।’
सन १९६८ अप्रिल ४ मा गोली हानी उनको हत्या गरियो ।

आफ्नो बाल्यकालको स्मरण गर्दै उनले भनेका थिए– प्रत्येक अभिभावले कुनै न कुनै बेला आफ्नो बच्चालाई जीवनको तथ्य बुझाउनुपर्ने समस्याको सामना गर्नुपर्ने हुन्छ । त्यसै गरी हरेक निग्रो अभिभावकलाई आफ्नो सन्तानलाई रंगभे सम्बन्धी तथ्य बताउनुपर्ने हुन्छ । मेरी आमाले मलाई काखमा राखेर बुझाउन थालेकी थिइन्, कसरी हाम्रो देशमा युगौं पहिला दास परम्परा चलेको थियो फेरि गृहयुद्धपछि कसरी त्यसको अन्त्य भयो । मेरी आमाले मलाई यो पनि बताएकी छन् कि दक्षिणमा रंगभेदका आधारमा सबै काम हुन्छ । स्कुल, होटल, थिएटर, बस्ती आदि सबै स्थान रंगका आधारमा अलगअलग बनेका छन् । पानीका धारामा कुन गोरा कुन कालाका लागि हो साइन बोर्डमा सूचना राखिएको हुन्थ्यो ।

यो भेदभाव कुनै स्वाभाविक विधान होइन, बल्कि मनुष्यकृत सामाजिक नियम हुन् । त्यसपछि उनले ती शब्दहरु भनिन्, जुन करिब सबै निग्रोले आफूमाथि भइरहेको अन्याय थाहा पाएपछि सुन्नुपर्ने हुन्छ, अरु जस्तै तिमी पनि त्यति नै असल हो ।

मार्टिन लुथर केही त्यस्ता नेताहरुको पंक्तिमा पर्छन् जसले आफ्नो बलबुतामा पूरै देशको दिशा र अवस्था परिवर्तन गरे । उनलाई अमेरिकामा निग्रोलाई उनीहरुको मौलिक अधिकार दिलाउनका लागि मात्र नभएर विश्वभरि नै उत्पीडनमा परेका समुदायको अधिकारका लागि हुने आन्दोलनका प्रतीकका रुपमा स्मरण गरिन्छ । महात्मा गान्धीले देखाएको अहिंसा तथा सत्यको मार्गमा हिँडेका मार्टिन लुथर किङले सन् १९६३ अगस्ट २८ मा एक ऐतिहासिक भाषण दिएका थिए, आई हेव अ ड्रिम ।

वासिंगटनको क्यापिटल हिल बाहिर भएको उक्त भाषण रोक्न तात्कालीन राष्ट्रपति जोन एफ केनेडी सरकारले धेरै प्रयास गरेको थियो र मार्टिन लुथरलाई त्यसअघि नै गिरफ्तार गर्न खोजिएको थियो । तर, उक्त भाषण सुन्नका लागि ओर्लेको अथाह मानव सागरका कारण केनेडीको योजनामा पानी फेरिदियो । भाषणले उत्तेजना फैलाउन सक्ने र हिंसा फैलिन सक्ने त्रास केनेडीलाई थियो तर मार्टिन लुथरको उक्त भाषणको प्रशंसक उनी आफैं भएका थिए ।

उक्त भाषणपछि केनेडीले मार्टिन लुथरसँग पहिलोपटक भेट्दा अभिवादन सँगै उनकै भाषणको अंश आई हेव अ ड्रिम दोहो¥याएका थिए ।

भाषणमा उनले भनेका थिए– आजको यो अवसरमा म तपाईंहरुको माझ हुन पाउँदा अत्यन्तै खुसी छु, जुन यो देशको इतिहासमा स्वतन्त्रताका लागि गरिएका सबैभन्दा ठूलो प्रदर्शनका रुपमा चिनिनेछ ।

सय वर्ष अघि, एक महान् अमेरिकी, जसको प्रतीकात्मक छायामा हामी सबै उभिएका छौंले एक मुक्ति उद्घोषणामा हस्ताक्षेर गरेका थिए । यो महत्वपूर्ण निर्णयले अन्याय सहेर बसेका लाखौं गुलाम निग्रोको मनमा आशाको एक किरण जोगेको थियो । यो खुसी उनीहरुका लागि लामो समयसम्म अन्धकारमा कैद भएर बसेपछि दिनको उज्यालोमा निस्कनु समान थियो ।

भाषणमा मार्टिनले अहिले कठिनाइको सामना गर्नुपरिरहेको भए पनि आफ्नो एक सपना भएको र जसको जरा अमेरिकी सपनामा निहित भएको बताएका थिए । उनले देशको विभिन्न स्थानको नाम लिँदै ती ठाउँबाट स्वतन्त्रताको आवाज उठ्न दिनुपर्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्