खोकना प्रदर्शनको स्थलगत रिपोर्टिङ

प्रहरी फर्के, प्रदर्शनकारीले धान रोपे, कोही तोडफोडमा उत्रिए, केही निर्माण सामाग्री बागमतीमा बगाए



लगातार जसो दु्रतमार्गको बिरुद्धमा उत्रिने प्रदर्शनकारी र प्रहरीको फौजको गतिबिधि हेर्दा समाधानको बाटो भुलेको देखिन्थ्यो । आजको दृश्यले भने केही निकासको बाटो समातेको हो कि जस्तो भान भयो । प्रदर्शनकारी नफर्केसम्म दिनभर जसो बसिरहने सुरक्षाकर्मी आज भने खुडोल ओर्लिएको १५ मिनेट पनि नबसी फौज फिर्ता भयो ।

सुरेश तामाङ, ललितपुर ।
गौरबको आयोजनाको रुपमा रहेको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फाष्टट्र्याक) को धमाधम काम भईरहेको छ । पुल, सुरुङ निर्माणको काम बाहेक अधिकांश स्थानमा सडकको निर्माणको प्रगति उत्साह जनक नै देखिन्छ ।

महालेखापरीक्षकको कार्यालयले हालै सार्वजनिक सन्ताउन्नौँ वार्षिक प्रतिवेदनलाई बिस्वास गर्ने हो भने दु्रत मार्गको कामको प्रगति उत्साहित नै देखिन्छ । ‘सडकको कुल लम्बाई ७६ दशमलब २ किलोमिटर मध्ये पुल र सुरुङको लम्बाई घटाउँदा बाँकी रहने ५५ दशमलब ५० किमिमध्ये २५ दशमलब ४४ किमिको सबग्रेड फर्मेसन लेभलसम्मको निर्माण सतप्रतिशत, १० दशलमब ९२ किमि सडकको निर्माण ८० प्रतिशतभन्दा माथि तथा १६ दशमलब ९ किमिको सडक ५० देखि ८० प्रतिशत प्रगति भएको उल्लेख छ ।’, प्रतिवेदनमा उल्लेख छ ।

तर दु्रतमार्गको जेरो किलोमिटर अर्थात सुरुको प्रस्थान बिन्दु पर्ने ललितपुरको खोकना, बुंगमति र फर्सिडोल खण्डमा भने काम भएको देखिँदैन । स्थानीयको अवरोधकै कारण यहाँको काम अघि बढ्न सकेको छैन । सिकाली, कुदेश जस्ता पुरातात्विक क्षेत्र द्रुतमार्गभित्र पर्ने भएपछि निर्माणको जिम्मा पाएको नेपाली सेनाले पनि पछिल्लो डिजाईनमा हेरफेर गरेको जनाएको छ ।

उचित मुआब्जा नपाएको भन्दै दु्रतमार्गको विरोधमा उत्रिएका खोकना, बुंगमतिका स्थानीयले खोकनामै बन्न लागिएका अन्य योजनाहरु स्मार्ट सिटी, रेल मार्ग, १३३ केभीको बिद्युतीय प्रशारण लाईन, बागमती कोरिडोरको एक साथ विरोध गर्दै आएका छन् । दु्रतमार्गको वातावरणीय प्रभाव मुल्यांकनको सार्वजनिक सुनुवाईदेखि खोकनालाई दु्रतमार्ग चाहिँदैन भन्दै आएका स्थानीयले अझै विरोध गर्न पनि छोडेका छैनन् ।

‘सम्पदा र नेवा सँस्कृति मासिने गरी विस्तार हुन लागिएको फाष्टट्रयाकलगायत अन्य योजना खोकनालाई स्विकार्य छैन । हामी राज्य शान्ति पूर्ण आन्दोलन गर्छौँ । राज्यले सुन्नु पर्छ ।’, शनिबार विरोध सभालाई सम्बोधनका क्रममा खोकना जनसरोकार समितिका संयोजक नेपाल डंगोलले बताए ।

पछिल्लो दिनहरुमा खोकनामा यस्तै विरोधका सभाहरु भईरहेको छ । विरोधको स्वरुप भने दु्रतमार्गको लागि अधिग्रहण गरिएका खेतहरुमा धान रोप्ने त कहिले आफ्ना मागहरु जनप्रतिनिधिले नसुनेको भन्दै तिनीहरुको पुत्ला दहन गर्नेदेखि मसाल जुलुससम्म गरिरहेका छन् ।
राज्यले विभिन्न योजना लाद्दै नेवारलाई विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ । पछिल्लो केही हप्तामा मात्रै खोकना बासीले दु्रतमार्गको प्रस्थान विन्दु खुडोलमा प्रर्दशन गर्दै आएका छन् । गएको असार २० का दिन सोहि स्थानमा प्रदर्शनका क्रममा झडप समेत भएको थियो । जसमा प्रहरीका साथै केही प्रदर्शनकारी घाइते भएका थिए ।

दु्रतमार्गको लागि अधिग्रहण गरेका खाली खेतमा खोकनाबासीले धान राप्ने कार्यक्रममा झडप भएको हो । आज शनिबार पनि खोकना बासीले सोही क्षेत्रको खाली रहेको खेतमा धान रोपेर विरोध गरेका थिए ।  दिनप्रतिदिन खोकनाबासीले आक्रोश पोख्दा यहाँका जनप्रतिनिधि भने कानमा तेल हालेर बसेको झैँ गरी रहेका छन् । प्रदर्शनमा उत्रिएकाहरुले जनप्रतिनिधिप्रति लक्षित गर्दै नाराहरुसमेत लगाए । जनप्रतिनिधि भएर आफूहरुमा माग नसुनेको उनीहरुको आक्रोश देखिन्छ ।

यस अघिको प्रदर्शनका क्रममा झडप भएपछि शनिबार पनि अन्य दिन जस्तै बाक्लो सुरक्षाकर्मी तैनाथ थियो । प्रदर्शनकारी आउनु पूर्व नै खुडोलमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका करीब तीन सयको हारहारीमा फौज तैनाथ थियो । लगातार जसो दु्रतमार्गको बिरुद्धमा उत्रिने प्रदर्शनकारी र प्रहरीको फौजको गतिबिधि हेर्दा समाधानको बाटो भुलेको देखिन्थ्यो । आजको दृश्यले भने केही निकासको बाटो समातेको हो कि जस्तो भान भयो । प्रदर्शनकारी नफर्केसम्म दिनभर जसो बसिरहने सुरक्षाकर्मी आज भने खुडोल ओर्लिएको १५ मिनेट पनि नबसी फौज फिर्ता भयो ।

फौजलाई नेतृत्व गरेका त्यहाँ उपस्थित नेपाल प्रहरीका एक उच्च अधिकारीसँग बुझ्दा उनले माथिको आदेश भएको भन्दै फौज फर्काउन लागिएको बताए । यस अघि अधिग्रहण गरिसकेको जग्गामा धान रोप्न पाउँदैन भन्दै प्रदर्शनकारीलाई रोक्ने प्रयास गरेका थिए । प्रदर्शनकारीले भने धान रोपेरै जान्थे । यो यसअघितिर देखिएको दृश्य हो । तर शनिबार भने प्रहरी फर्केको एक घण्टापछि खोकनाबासी बाजागाज सहित खेतमा झरे । बाँझो खेतमा ट्याक्टर जेते । धान रोपे ।

अघिल्लो प्रदर्शनमा विभिन्न नारा सहित धान रोप्थे तर शनिबारको दृश्यमा त्यस्तो देखिएन । सुरक्षा फौज हुँदा प्रदर्शनकारीको मुहार आका्रेशले भरिएको देखिन्थ्यो भने नहुँदा मुस्कान सहित ढुक्क देखिन्थे । धान रोपेर फर्किने क्रममा केही युवकका समूह भने आक्रोशित देखिए ।

ती समूह दु्रतमार्गको निर्माण सामाग्री राखिएको जस्ताको टहरो भत्काउन तिर लागे । केहीले जस्ता, रड लगायतका निर्माण सामाग्री नजिकैको बागमती नदीमा बगाए । कोहीले शान्तिपूर्ण आन्दोलनमा यस्तो नगर भन्दै ती समूहलाई सम्झाए त्यसपछि रोकिए । केही बेरमै प्रदर्शनकारी बाटो लागे ।

प्रतिक्रिया दिनुहोस्